३१ असोज काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण बन्दै गएको दाबी गरेका छन् । आफ्नो सरकारले स्वदेशी तथा विदेशी लगाीकर्तालाई आकर्षण गरेको कोइरालाको दाबी छ ।
‘पछिल्लो समयमा नेपालमा ठूलो मात्रामा वैदेशिक लगानी भित्रिरहेको छ, सरकारले लगानीको वातावरण बनाएकै कारण यो सम्भव भएको हो’ गरिबी निवारण कोषले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले भने ।
मुलुकको आर्थिक सम्मृद्धिका लागि शान्ति र स्थीर लोकतन्त्र अत्यावश्यक भएको प्रधानमन्त्री कोइरालाले बताए । ‘धेरै वर्षदेखि हामी मुलुकको विकासमा लाग्यौं तर दुर्भाग्य हामीले जहिल्यै संघर्षमै बिताउनु पर्यो’ कोइरालाले भने -स्रोत र साधनको धनी भएपनि उपयोग गर्न नपाएकाले जहिल्यै गरिब हुनुपर्यो ।
अहिले आफूहरु ठूलो इमानदारीका साथ शान्ति, लोकतन्त्र र स्थायित्वका लागि लागि पररेको उनले बताए । नेपालमा जलविद्युत, पर्यटन र कृषि अत्यधिक सम्भावना रहेको कोइरालाको भनाई थियो ।
विकासका लागि शान्ति र संविधान अनिवार्य छ’ उनले भने ।
रोजगारीका लागि लाखौं नेपाली युवाहरु खाडीमा जानुपर्ने अवस्था दुखद भएको प्रधानमन्त्रीले बताए । उनीहरुले दुख गरेर पठाएको रेमिटान्सले अर्थतन्त्रलाई टेवा मिलेपनि राष्ट्रले त्यसमा गर्व गर्न नसक्ने उनले बताए ।
‘मुलुकभित्र ठूलो लगाी भित्राएर ठूल्ठूला उद्योग सञ्चालन गर्ने हो भने मुलुकको कायापलट हुन्छ, उहाँहरु स्वदेश फर्किनु हुन्छ’ कोइरालाले भने हामी त्यो वातावरण बनाइरहेका छौं ।
दातृ निकायहरु नेपाललाई सहयोग गर्न तयार रहेको प्रधानमन्त्रीले बताए । तर, त्यसका लागि वातावरण बनाउने जिम्मा नेपाली राजनीतिक दलहरुको भएको उनको भनाई थियो ।
छिमेकी देश चीन र भारतमा पनि विदेशी सहयोग र लगानीका कारण आर्थिक विकास भएको उनले चर्चा गरे ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले गरिवि निवारणमा उल्लेख्य योगदान पुर्याउने ३ जना पत्रकारलाई प्रतिव्यक्ति ४० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरे ।
गरिवी निवारण कोषले हरेक वर्ष पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । २०७१ सालको पुरस्कार कान्तिपुर दैनिकका राजु चौधरी, जलेश्वर साप्ताहिकका नगेन्द्रकुमार कर्ण र रेडियो सुदुर आवाजकी पत्रकार निर्मलाकुमारी ठकुरारीले पाएका छन् ।