News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा जर्सीमाथि डीएलएस पद्धतिअनुसार ७ रनको जित हासिल गरेको छ।
- वर्षाले प्रभावित खेलमा २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाउँदै २५१ रन बनायो ।
- नेपाली टोली नेदरल्यान्ड्समा हुने लिग २ को त्रिदेशीय शृङ्खला खेल्न जाने छ ।
३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल पनि जितेको छ ।
बुधबार राति वर्षाले प्रभावित खेलमा नेपालले जर्सीमाथि डीएलएस पद्धतिअनुसार ७ रनको जित हासिल गरेको हो । २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
त्यतिबेलाको डीएलएस पार स्कोर २४४ रन रहेकोमा नेपाल ७ रनले अगाडि रहँदै विजयी भएको हो ।
नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए भने कुशल भुर्तेलले ५२ रन बनाए । भीम सार्कीले ३७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ३४ रनमा नटआउट रहे ।
जर्सीका लागि चार्ल्स पर्चार्डले २ विकेट लिए भने जुलियस समरायर र स्कट भान ब्रेडाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाएको थियो ।
जर्सीका लागि प्याट्रिक गजले सर्वाधिक ९५ रन बनाए । ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५० तथा निक ग्रीनवूडले ३२ अनि जोन्टी जेनरले २७ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा जर्सीलाई ८१ रनले पराजित गरेको थियो ।
नेपालले यसपछि नेदरल्यान्ड्समा गएर नामिबिया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खला खेल्नेछ । शृङ्खला जुलाई २१ देखि सुरु हुनेछ ।
प्रतिक्रिया 4