News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा लगायतका क्षेत्रमा सामूहिक श्रम र आत्मीयताको प्रतीक मानिने बेठी परम्परा तथा असारे भाका आधुनिक प्रविधि र वैदेशिक रोजगारीको प्रभावले हराउँदै गएका छन् ।
- कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले पुरानो सांस्कृतिक स्वरूप फर्काउन कठिन भए तापनि परम्परा संरक्षणका प्रयासहरू निरन्तर भइरहेको उल्लेख गरे ।
- साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले असारे भाका र बेठी हाम्रो सांस्कृतिक सम्पत्ति भएको भन्दै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए ।
३२ असार, धनकुटा । कुनै बेला असार लाग्नासाथ गाउँका खेतहरू केवल धानका बिरुवाले मात्र होइन, असारे भाका र सामूहिक श्रमको उत्साहले पनि हराभरा हुन्थे । हिलोमा उभिएका रोपाहारको लहर, बाउसेको हाँक, नौमती बाजाको ताल र खेतभरि गुञ्जिने असारे गीतले रोपाइँलाई कृषि कर्मभन्दा पनि एउटा उत्सव बनाइदिएको हुन्थ्यो ।
बिहानैदेखि डोकोमा दही, चिउरा, केरा, काक्रा र आँप बोकेर खेत पुग्ने, दिनभर रोपाइँ गर्ने र साँझ सामूहिक भोज खाने परम्परा धेरै गाउँमा सामान्य दृश्य थियो । त्यसलाई ‘बेठी’ भनिन्थ्यो । बेठी अर्थात् आपसी सहयोग, सहकार्य र आत्मीयताको अनुपम उदाहरण ।
तर अहिले ती दृश्यहरू गाउँका खेतबाट हराएर सम्झनामा सीमित हुन थालेका छन् ।
हराउँदै गएको श्रमको उत्सव
धनकुटा नगरपालिका–२ का ताराबहादुर थापा भन्छन्, ‘असारे भाका मनोरञ्जनका लागि मात्रै होइन, श्रमलाई सहज बनाउने सांस्कृतिक अभ्यास थियो ।’
उनका अनुसार बाह्य संस्कृतिको प्रभाव, आधुनिक जीवनशैली र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणले नयाँ पुस्ता यस्ता परम्पराबाट टाढिँदै गएको छ ।
धनकुटा नगरपालिका–२ कै देवीमाया कार्कीलाई अझै पनि खेतमा गुञ्जिने असारे गीत र खोल्साको छङछङ आवाज सम्झना आउँछ । उनका अनुसार गीतमार्फत रोपाहारले आफ्ना दु:ख–सुख, मायाप्रेम र जीवनका अनुभव व्यक्त गर्थे। अहिले ती स्वरहरू गाउँबाट हराउँदै गएका छन् ।
पूर्वी नेपालमा असारे भाकालाई ‘रसिया’ पनि भन्ने गरिन्थ्यो । महालक्ष्मी नगरपालिका–४ का मदन कार्कीका अनुसार अहिले धेरै युवालाई रसिया भन्ने शब्दसमेत अपरिचित बन्दै गएको छ । क्षेत्रअनुसार लय र शब्द फरक भए पनि यसको उद्देश्य एउटै थियो– कडा श्रमलाई उत्सवमा बदल्नु ।
के हो बेठी ? किन हरायो ?
बेठी भनेको गाउँभरिका मानिस मिलेर सामूहिक रूपमा धान रोप्ने परम्परागत प्रणाली हो । एक दिन एउटा परिवारको खेतमा सबै गाउँले जुट्ने, अर्को दिन अर्कोको खेतमा जाने चलन थियो । नौमती बाजा बज्थे, असारे भाका गुञ्जिन्थे र दिनभरको श्रमपछि सामूहिक भोज हुन्थ्यो ।
बेठीमा सहभागीलाई ज्याला दिइँदैनथ्यो । यसको सट्टा माटोको टीका, धानको बीउको फूल, दक्षिणा र आत्मीय सत्कारले सम्मान गरिन्थ्यो । आफ्ना चेलीबेटीलाई समेत माइती बोलाएर रोपाइँ गराउने चलनले यसलाई सामाजिक पर्वको रूप दिएको थियो ।
समयसँगै कृषि प्रणालीमा आएको परिवर्तन, मेसिनको प्रयोग, वैदेशिक रोजगारी, गाउँबाट युवाको पलायन र खेतीप्रतिको घट्दो आकर्षणले बेठी विस्तारै हराउँदै गयो ।
पहिले ज्यालाविना सयौँ मानिस खेतमा जुट्थे । अहिले राम्रो ज्याला दिन्छु भन्दा पनि रोपाहार भेट्न मुस्किल भएको किसानहरू बताउँछन् ।
संरक्षणको पहल
धान खेती भने अझै पनि नेपालको कृषि अर्थतन्त्रको मेरुदण्ड हो । देशभर १५ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कोशी प्रदेशमा मात्रै यस वर्ष असार अन्त्यसम्म करिब ५५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांक छ ।
तर धान रोप्ने क्षेत्र कायम रहे पनि त्यससँग जोडिएको सांस्कृतिक पक्ष भने निरन्तर कमजोर बन्दै गएको देखिन्छ ।
हराउँदै गएको यो परम्परा जोगाउन स्थानीय तह र कृषि निकायले केही प्रयास थालेका छन् ।
कृषि ज्ञान केन्द्र धनकुटा र साँगुरीगढी गाउँपालिकाले यस वर्ष सामूहिक रोपाइँ आयोजना गरे पनि पहिलेजस्तो बेठीको रौनक फर्काउन नसकिएको स्थानीयको भनाइ छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरका अनुसार पुरानो स्वरूप फर्काउन कठिन भए पनि संरक्षणका प्रयास निरन्तर भइरहेका छन् ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई भन्छन्, ‘असारे भाका र बेठी हाम्रो सांस्कृतिक सम्पत्ति हो । बजेट छुट्याएर भए पनि यसको संरक्षणमा लागेका छौँ ।’
उनका अनुसार विद्यालय, स्थानीय तह र सांस्कृतिक संस्थाले नयाँ पुस्तालाई यस्ता परम्परासँग जोड्न सके हराउँदै गएको कृषि संस्कृति पुनर्जीवित हुन सक्छ । संस्कृति जोगाउनु भनेको पहिचान बचाउनु पनि हो
असारे भाका र बेठी केवल धान रोप्ने परम्परा थिएनन् । ती नेपाली समाजको सामूहिक श्रम, सहयोग, आत्मीयता र मौलिक सांस्कृतिक पहिचानका जीवन्त प्रतीक थिए ।
आज खेतमा ट्याक्टर र रोपाइँ मेसिन बढेका छन्, तर असारे गीतका स्वर विस्तारै मौन बन्दै गएका छन् । समयसँगै कृषि प्रविधि बदलिनु स्वाभाविक हो, तर त्यससँगै हाम्रो सांस्कृतिक स्मृति पनि हराउँदै जानु भने चिन्ताको विषय हो ।
गाउँपालिका अध्यक्ष राई भन्छन्– यदि यी परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकिएन भने, भोलिका दिनमा असारे भाका र बेठी केवल इतिहासका पानामा सीमित हुनेछन् । त्यसैले यी परम्पराको संरक्षण गर्नु भनेको विगतको सम्झना बचाउनु मात्र होइन, नेपाली समाजको मौलिक पहिचान भावी पुस्तासम्म पुर्याउनु पनि हो ।
प्रतिक्रिया 4