+
विश्वकप फुटबल फाइनल :

१६ वर्षअघिको त्यो रात, फेरि त्यही खुसीको प्रतीक्षामा स्पेनमा रहेका नेपाली

२०८३ साउन  ३ गते १०:१२ २०८३ साउन ३ गते १०:१२

सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप फुटबल उपाधि जित्दा स्पेनी समर्थकसँगै खुसी साटेका नेपालीहरूले अहिले पनि त्यो रात बिर्सिएका छैनन् । १६ वर्षपछि अर्को फाइनलअघि नेपालीहरु फेरि त्यही उत्सव फर्किओस् भन्ने कामना गरिरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेन र अर्जेन्टिनाबीच आज हुने विश्वकप फाइनलका लागि स्पेनमा बसोबास गर्ने नेपालीहरू उत्साहित हुँदै आफ्नो दोस्रो घर मानिएको राष्ट्रको जितको प्रतीक्षा गरिरहेका छन् ।
  • सन् २०१० को विश्वकप फाइनलको ऐतिहासिक क्षण सम्झँदै स्पेनमा रहेका नेपाली व्यवसायी तथा समर्थकहरू यस पटक पनि स्पेनले उपाधि जित्नेमा विश्वस्त देखिएका छन् ।
  • फाइनल खेलका लागि बार्सिलोना र म्याड्रिडसहित स्पेनका प्रमुख शहरहरूमा विशाल स्क्रिनको व्यवस्था गरिएको छ भने समर्थकहरूले मेस्सी र यामालबीचको रोचक प्रतिस्पर्धाको प्रतीक्षा गरिरहेका छन् ।

३ साउन, बार्सिलोना । सन् २०१० । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको विश्वकप फाइनलमा अतिरिक्त समयमा आन्द्रेस इनिएस्ताले गरेको गोलले स्पेन पहिलो पटक विश्व च्याम्पियन बन्यो । तर त्यो ऐतिहासिक क्षणको खुसी दक्षिण अफ्रिकामा मात्र सीमित रहेन । हजारौं किलोमिटर टाढा स्पेनका सडक, चोक, बार र सार्वजनिक स्थलहरू रातभर जागा थिए । त्यही भीडमा स्पेनमा बस्ने नेपालीहरू पनि थिए, जसले स्पेनी समर्थकसँगै इतिहास बनेको त्यो क्षण मनाएका थिए ।

१६ वर्षपछि इतिहास फेरि त्यस्तै मोडमा आइपुगेको छ । अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित स्टेडियममा आज हुने विश्वकप फाइनलमा स्पेन दोस्रो उपाधिका लागि अर्जेन्टिनासँग भिड्दै छ । त्यतिबेला बारमा काम गर्दै खेल हेर्ने नेपाली अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । कोही बिल्बाओको विजययात्रा सम्झिरहेका छन् भने कोही बार्सिलोनाको प्लाजा एस्पान्यामा हजारौं समर्थकसँग बिताएको रात । कोही अहिले बेल्जियम वा जर्मनीमा भए पनि मन भने स्पेनको जितकै प्रतीक्षामा छ ।

कोस्टा ब्लाङ्कास्थित अल्फास देल पीमा ‘रारा रेस्टुरेन्ट कफी बार’ सञ्चालन गर्दै आएका समाजसेवी, व्यवसायी तथा सगरमाथा आरोही अक्कल बोहोरा २०१० को फाइनल सम्झिँदा अहिले पनि भावुक हुन्छन् । ‘त्यतिबेला म एउटा बारमा काम गर्थें । अतिरिक्त समयमा आन्द्रेस इनिएस्ताले गरेको गोलसँगै स्पेन पहिलो पटक विश्व च्याम्पियन बनेको क्षण आज पनि आँखाअघि झल्झली आउँछ,’ उनले भने ।

१६ वर्षअघि एउटा रेस्टुरेन्टमा काम गर्दै फाइनल हेरेका बोहोरा अहिले आफ्नै रेस्टुरेन्टमा ग्राहकसँगै खेल हेर्ने तयारीमा छन् ।

‘स्पेनले हामी नेपालीलाई दिएको अवसर र अपनत्वका कारण मेरो समर्थन पूर्णरूपमा स्पेनलाई नै छ । यही मायाले मैले सगरमाथाको शिखरमा स्पेनको झण्डासमेत फहराएको थिएँ । मेरो रेस्टुरेन्टमा आउने नर्वे, नेदरल्यान्ड्स र बेल्जियमका धेरै ग्राहकले पनि स्पेनलाई नै समर्थन गरिरहेका छन् । त्यसैले आज अन्य दिनभन्दा धेरै व्यस्त हुने अपेक्षा गरेको छु,’ उनले भने ।

स्पेनको बास्क क्षेत्रको बिल्बाओमा बस्दै आएका तुलसी गुरुङ पनि विश्वकप जितपछिको विजययात्राका प्रत्यक्ष साक्षी हुन् । ‘त्यतिबेला नेपाली समुदाय निकै सानो थियो । अहिले धेरै नेपाली साथीभाइ छन् । स्पेनले जितेपछि विजययात्रामा म पनि सहभागी भएको थिएँ । त्यो खुसी अविस्मरणीय छ,’ उनले भने ।

यसपटक पनि उनी बिल्बाओको सार्वजनिक फ्यान जोनमा पुगेर खेल हेर्ने तयारीमा छन् । ‘मेरो चाहना फेरि स्पेनले नै विश्वकप जितोस् भन्ने हो,’ उनले भने ।

हाल जर्मनीमा गर्मी बिदा मनाइरहेका यज्ञनारायण पौडेलले २०१० को फाइनल बार्सिलोनाको प्लाजा एस्पान्यामा हजारौं समर्थकसँग ठूलो पर्दामा हेरेको सम्झिए । ‘त्यो रातको उत्साह र खुसी आज पनि बिर्सन सकिँदैन । अहिले जर्मनीमा भए पनि परिवारसँगै फाइनल हेर्नेछु,’ उनले भने ।

१६ वर्षअघि बार्सिलोनामा सार्वजनिक स्क्रिनमै फाइनल हेरेका गोपाल रेग्मी अहिले बेल्जियममा बसोबास गर्छन् । दूरी बढिए पनि उनको समर्थन भने स्पेनकै पक्षमा छ । ‘२०१० मा स्पेनले विश्वकप जितेपछि देखिएको उत्सव मेरो जीवनकै अविस्मरणीय क्षणमध्ये एक हो । यसपटक पनि स्पेनले त्यही खुसी दोहोर्याउने विश्वास छ,’ उनले भने ।

यता रामकृष्ण पुडासैनीले २०१० को फाइनल म्याड्रिडको सिबेलेसस्थित हुन्डाई फ्यान पार्कमा हेरेको अनुभव अझै विशेष सम्झनाका रूपमा सँगालेका छन् । ‘खेलपछि उपहारस्वरूप पाएको एउटा झोला आज पनि मसँग छ । त्यो झोला लिएर मैले १५ वटा देशका २५ भन्दा बढी सहर घुमेको छु । बिग्रिए पनि सिलाएर फेरि प्रयोग गर्छु । त्यो मेरो लागि भाग्यमानी सम्झना बनेको छ,’ उनले भने ।

त्यतिबेला चर्चित टेलिभिजन प्रस्तोता किको मातामोरोससँगै बसेर खेल हेर्ने अवसर पाएको स्मरण गर्दै उनले यसपटक भने नेपालमा परिवारसँग बसेर फाइनल हेर्ने बताए । ‘जहाँ भए पनि मेरो समर्थन स्पेनकै लागि हुनेछ,’ उनले भने ।

पूरा स्पेन फुटबलमय

नेपालीहरू मात्र होइन, अहिले पूरा स्पेन नै विश्वकप फाइनलको प्रतीक्षामा छ । बार्सिलोना, म्याड्रिड, भ्यालेन्सिया, सेभिया र मालागालगायत प्रमुख सहरमा सार्वजनिक रूपमा खेल हेर्न विशाल स्क्रिन जडान गरिएको छ । क्याटालोनियाका दर्जनौं नगरपालिकाले पार्क र सार्वजनिक चोकमा फाइनलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका छन् ।

अपेक्षाभन्दा धेरै समर्थक उपस्थित हुने अनुमान गर्दै बार्सिलोना महानगरपालिकाले सुरुमा लेस कोर्ट्समा राख्ने योजना बनाएको विशाल स्क्रिन अन्तिम समयमा प्लाटाफोर्मा मरिना डेल फोरुममा सारेको छ । ल’हस्पितालेत, बादालोना, तारागोना, रेउस, सालाउ, गाभा, कोर्नेया, तेरासा र साबादेललगायत नगरपालिकाले पनि सार्वजनिक रूपमा खेल हेर्ने व्यवस्था गरेका छन् ।

स्पेन फाइनलमा पुगेपछि म्याड्रिडका सडक मध्यरातसम्म रातो–पहेँलो झण्डा, गीत–संगीत, गाडीका हर्न र ‘एस्पान्या’का नाराले गुञ्जिएका थिए । समर्थकहरूको मुख्य जमघटस्थल प्लाजा सेलेक्सियोन आइतबार फेरि हजारौं समर्थकले भरिने अपेक्षा गरिएको छ ।

रेस्टुरेन्ट र बारहरूमा पनि फाइनलको उत्साह स्पष्ट देखिन्छ । धेरै ठाउँमा केही दिनअघिदेखि नै टेबल बुकिङ बढेको छ । व्यवसायीहरूका अनुसार फाइनलको रात सामान्य आइतबारभन्दा निकै व्यस्त हुनेछ ।

दुई पुस्ताबीचको प्रतिस्पर्धा

यसपटकको फाइनललाई दुई पुस्ताबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । एकातिर ३९ वर्षीय लियोनल मेस्सी लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा छन् भने अर्कोतर्फ १९ वर्षीय लामिन यामाल स्पेनलाई दोस्रो विश्व उपाधि दिलाउने अभियानको नेतृत्व गरिरहेका छन् ।

मेस्सीले आफ्नो स्वर्णिम क्लब करिअर बार्सिलोनामा बिताए भने यामाल पनि बार्सिलोनाकै ‘ला मासिया’ एकेडेमीका उत्पादन हुन् । त्यसैले स्पेन–अर्जेन्टिनाको फाइनललाई धेरैले एउटा खेलभन्दा बढी दुई पुस्ता, दुई फुटबल संस्कृति र दुई युगबीचको प्रतिस्पर्धाका रूपमा हेरिरहेका छन् ।

१६ वर्षअघि इनिएस्ताको गोलपछि स्पेनका सडक रातभर जागा थिए । आइतबार रात ती सडक फेरि त्यही इतिहास दोहोरिने आशामा छन् । स्पेनमा बस्ने नेपालीका लागि पनि यो केवल विश्वकप फाइनल होइन, आफूले दोस्रो घर मानेको देशको खुसीसँग जोडिएको अर्को विशेष रात बनेको छ ।

 

फिफा विश्वकप २०२६ फुटबल स्पेन
लेखक
वसन्त रानाभाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय