+
+
Shares

‘महायुग’ को आख्यान-लीला : कुरुप यथार्थको विनिर्माण

दोस्रो भागमा पुगेपछि इतिहास र वर्तमानको दूरी मेटिन्छ । पुस्तौँदेखि दमनमा परेका चारै पुस्ताका स्त्रीहरूको चेतना यस पराकाल्पनिक धरातलमा भेटिन्छ ।

कृष्ण धराबासी कृष्ण धराबासी
२०८३ साउन ५ गते १०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीमा आभासको उपन्यास महायुग नेपाली समाजको यथार्थवादी चित्रण र पराकाल्पनिक शैलीको संयोजनमा लेखिएको एउटा विशिष्ट कृति हो ।
  • उपन्यासको पूर्वार्धले महिला तथा बालबालिकामाथि हुने हिंसा र राजनीतिक द्वन्द्वको कुरुप पाटोलाई कठोर सामाजिक धरातलमा उभिएर प्रस्तुत गरेको छ ।

सीमा आभास मूलतः कविका रूपमा स्थापित नाम हो । कवितामा जस्तो सघनता, विद्रोही चेत र विम्बात्मक प्रखरता हुन्छ, त्यसको विस्तारित रूप आख्यानमा प्रकट हुँदा कस्तो रूप लिन्छ भन्ने कौतूहलको एउटा बलियो उत्तर हो— ‘महायुग’ ।

सीमा ‘टापुका स्वरहरू’ कथासङ्ग्रहबाट पहिलोपल्ट आख्यानमा उदाएकी हुन् २०६६ सालमै । निकै वर्षपछि प्रकाशित यो उपन्यास नेपाली आख्यान परम्परामा एउटा विशिष्ट र भिन्न स्वाद बोकेर आएको छ । परम्परागत वृत्तचित्र जस्तो सीधा र सपाट आख्यान लेखनको ढर्रालाई भत्काउँदै यो उपन्यासले यथार्थ र पराकल्पना, इतिहास र वर्तमान, अनि लौकिक र अलौकिकको सीमानालाई निकै चलाखीपूर्वक मिसाएको छ ।

कुनै पनि उत्कृष्ट आख्यानले स्थापित यथार्थलाई जस्ताको तस्तै देखाउने मात्र होइन, त्यसलाई विनिर्मित गरेर नयाँ सत्यको खोजी गर्नुपर्छ । ‘महायुग’ ले ठ्याक्कै यही बाटो रोजेको छ । यस उपन्यासलाई गहिरिएर हेर्दा यसमा एउटै मात्र कथा रेखा छैन, दुईवटा भिन्न तर वैचारिक रूपले अन्तरसम्बन्धित कथाहरू समानान्तर रूपमा कुदेका छन्, जसले नेपाली समाजको कुरुप वर्तमानबाट सुरु गरेर स्त्री-चेतनाको आदिम र अनन्त सामर्थ्यको खोजी गर्छ ।

उपन्यासको पहिलो खण्ड वा पूर्वार्ध पूर्ण रूपमा हाम्रो परिचित कठोर सामाजिक धरातलमा उभिएको छ । यो भागले देश, काल र परिस्थितिको त्यो ऐना देखाउँछ, जुन ऐना हेर्न आम मानिस डराउँछन् । पूर्वार्धको कथाको मुख्य केन्द्र महिला र बालबालिकाले भोग्नुपरेको बहुआयामिक हिंसा हो ।

यहाँ महिला हुनुको पीडा मात्र छैन, बरु महिलालाई राज्य र समाज दुवैले कसरी दोस्रो दर्जाको नागरिक र उपभोगको वस्तु मात्र बनाइराखेको छ भन्ने तितो यथार्थ छ । निर्दोष बालबालिकाहरू पारिवारिक विखण्डन, सामाजिक असुरक्षा र पहिचानविहीनताको चक्रव्यूहमा कसरी फस्छन् भन्ने कुरालाई यसमा कारुणिक र आक्रोशपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ । यो केवल एउटा पात्रको कथा होइन, यो हाम्रो समाजको त्यो मौन अँध्यारो पाटो हो, जहाँ दैनिक हजारौँ ‘नीलाञ्जनाहरू’ आफ्नो अस्तित्व गुमाइरहेका छन् ।

‘महायुग’ ले देशले भोगेको राजनीतिक संक्रमण र सशस्त्र द्वन्द्वको बाछिटालाई पनि गम्भीरतापूर्वक समेटेको छ । राजनीति कसरी आदर्शबाट च्युत भएर शक्तिको कुरुप खेल बन्यो र त्यस खेलमा कसरी भुइँमान्छेहरू, विशेष गरी महिला र सीमान्तकृत वर्गहरू पिसिए भन्ने कुरा पहिलो खण्डले प्रस्ट पार्छ । द्वन्द्व सकिए पनि त्यसले समाजको मनोविज्ञानमा छोडेका गहिरा खतहरू, राजनीतिक दलहरूको ढोंगीपन र व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको पीडादायी समसामयिकता यस खण्डको मुख्य वैचारिक मेरुदण्ड हो ।

सीमा आभासको ‘महायुग’ उपन्यासले नेपाली साहित्यमा एउटा नयाँ शिल्प (जादुई यथार्थवाद र पराकल्पना) भित्र्याउने आँट गरेता पनि साहित्यिक, संरचनात्मक र वैचारिक दृष्टिकोणले यसका केही कमजोर वा सीमाका पक्षहरू रहेका छन् ।

पहिलो भाग पढिरहँदा पाठक एउटा गहिरो छटपटी र निराशामा पुग्छ । यहाँको यथार्थ यति क्रुर छ, यसभित्र न्याय र मुक्तिको कुनै सम्भावना देखिँदैन। जब उपन्यासको पूर्वार्धले सिर्जना गरेको यथार्थको बन्धन कसिलो हुन्छ । त्यहाँबाट उम्कने कुनै लौकिक बाटो बाँकी रहँदैन । तब उपन्यासले एउटा चामत्कारिक फड्को मार्नुपर्छ । कथा एकाएक भौतिक संसारको नियमलाई भत्काउँदै पराकाल्पनिक र जादुई यथार्थवादी संसारमा प्रवेश गर्छ ।

“यथार्थ जहाँ संकुचित र असफल हुन्छ, पराकल्पनाले त्यहाँबाट सत्यको वृहत्तर आकाश निर्माण गर्छ ।”

उत्तरार्धमा समय सीधा रेखामा बग्दैन । भूगोलका सिमानाहरू पनि मेटिन्छन् । पात्रहरू लौकिक बन्धनबाट मुक्त भएर अवचेतन र अलौकिक आयाममा पुग्छन् । यो पराकाल्पनिक संसार कुनै काल्पनिक भाग्ने बाटो होइन । यो त समाजले सधैँ दबाएर राखेको महिलाहरूको भित्री चेतनाको त्यो विराट रूप हो । यहाँ स्त्रीहरू असमर्थ वा पीडित छैनन्; उनीहरू सृष्टिको आदिम ऊर्जा र संहारको महाशक्तिका रूपमा प्रकट हुन्छन् ।

उपन्यासको यो यात्रा निकै सांकेतिक र रहस्यमयी छ । पूर्वार्धकी पीडित र मौन ‘नीलाञ्जना’ उत्तरार्धमा पुग्दा ‘यक्षिणी’ को विम्बमा रूपान्तरित हुन्छ । पूर्वीय मिथकमा यक्षिणीलाई रहस्यमय शक्ति, धन र प्रकृतिकी देवी मानिन्छ । उपन्यासले यस मिथकलाई विनिर्मित गर्दै स्त्रीभित्रको अदम्य, विद्रोही र सार्वभौम सामर्थ्यको रूपमा प्रस्तुत गरेको छ । यो खण्डमा स्थापित गरिएको ‘स्त्रीतन्त्र’ पुरुषप्रधान समाजले बनाएका सारा सामाजिक, धार्मिक र कानुनी नियमहरूलाई चुनौती दिने र आफ्नै नियम स्थापना गर्ने एउटा अलौकिक घोषणापत्र बन्न पुग्छ ।

‘महायुग’ को अर्को महत्वपूर्ण पक्ष यसमा उनिएको चार पुस्ताका स्त्रीहरूको कथामाला हो । उपन्यासकारले इतिहासदेखि वर्तमानसम्म महिलाहरूले भोगेका पीडा र उनीहरूभित्र विकसित हुँदै गएको चेतनालाई पुस्तान्तरणको रूपमा देखाएको छ ।

-पहिलो पुस्ता (मौनता र सहस्र पीडा)

-दोस्रो पुस्ता (छटपटी र मधुरो प्रतिवाद)

-तेस्रो पुस्ता (सचेत विद्रोह र खोजी)

-चौथो पुस्ता (पराकाल्पनिक शक्ति र ‘महायुग’ को घोषणा)

चेतनाको यो निरन्तरताले देखाउँछ, आजको स्त्री-विद्रोह वा आत्मजागृति कुनै एउटा कालखण्ड वा व्यक्तिको लहड होइन । यो त पुस्तौँदेखि सञ्चित हुँदै आएको मौनताको विस्फोट हो । पुराना पुस्ताका स्त्रीहरूले विवशताका कारण व्यक्त गर्न नसकेको उनीहरूको अधुरो सङ्कल्प नयाँ पुस्तामा सरेर आउँछ र त्यसले महायुगको रूप लिन्छ । यो पक्षले उपन्यासलाई गहिरो ऐतिहासिक र दार्शनिक गरिमा प्रदान गरेको छ ।

यस उपन्यासको बनोट परम्परागत नेपाली समालोचनात्मक कसीमा मात्रै अटाउने खालको छैन । यसलाई बुझ्न लीला-चेत वा विनिर्माणकारी दृष्टि आवश्यक पर्छ । लेखकले संसारलाई स्थिर र सत्य मानेका छैनन् । यसलाई एउटा परिवर्तनशील खेलका रूपमा प्रस्तुत गरेका छन् ।

विशेष गरी दोस्रो भागमा पुगेपछि महिला पात्रहरूलाई सामान्य मानिस भन्दा माथि उठाएर ‘महाशक्ति’ वा ‘देवी’ को रूपमा अति-आदर्शीकरण भएका छन् ।

-उपन्यासभरि सपना र विपना, भ्रम र यथार्थ यसरी मिसिएका छन्, पाठक कुन सत्य हो र कुन कल्पना हो भनेर अलमलिन्छ । तर, यही अलमल्याइभित्र नै उपन्यासको वास्तविक मर्म लुकेको छ । समाजले जसलाई ‘सत्य’ भन्छ, त्यो वास्तवमा भ्रम हुन सक्छ; र जसलाई ‘भ्रम’ वा ‘सपना’ भनिन्छ, त्यो स्त्रीको वास्तविक मुक्ति-सत्य हुन सक्छ ।

-उपन्यासमा प्रकृति जड छैन, त्यो सजीव छ र स्त्री-ऊर्जासँग संवाद गर्छ । ब्रह्माण्डका तत्त्वहरू पात्रहरूको भावदशा अनुसार परिवर्तन हुन्छन्, जसले उपन्यासलाई एउटा रहस्यमयी र आध्यात्मिक उचाइ दिन्छ।

-कवितात्मक भाषा, दार्शनिक संवाद र तीव्र संवेगात्मक उतारचढाव यस उपन्यासका भाषायिक विशेषता हुन् । उपन्यासमा शब्दहरूको यस्तो जादुमयी जाल बुनिएको छ, जसले पराकल्पना पनि विश्वसनीय र वैचारिक रूपमा ग्रहणयोग्य बन्न पुग्छ ।

सामान्यतया नेपाली आख्यानमा कि त पूर्ण यथार्थवादी सामाजिक उपन्यास लेखिए, कि त पूर्ण स्वैरकाल्पनिक वा ऐतिहासिक । तर, सीमा आभासले ‘महायुग’ मा यी दुवै प्रवृत्तिको सुन्दर र सन्तुलित फ्युजन गरेको छ ।

उपन्यासको पूर्वार्धले समाजको कुरुपता देखाएर पाठकमा आक्रोश र न्यायको भोक जगाउँछ । उत्तरार्धको पराकाल्पनिक संसारले स्त्री-सामर्थ्यको पहिचान गराउँदै त्यस भोकलाई तृप्त पार्ने काम गर्छ । ‘महायुग’ एउटा उपन्यास मात्र होइन, इतिहासको मौनता विरुद्ध वर्तमानको हुङ्कार पनि हो । र भविष्यको एउटा सुन्दर, न्यायपूर्ण पराकाल्पनिक गन्तव्यको खोजी हो ।

उपन्यासको दोस्रो भाग नै यस कृतिको त्यो विशिष्ट मोड हो । पहिलो भागको कठोर सामाजिक यथार्थ, घरेलु हिंसा, र राजनीतिक विकृतिबाट छटपटाएका पात्र र पाठकका लागि दोस्रो भाग एउटा ‘चेतनाको महाविस्फोट’ र ‘मुक्तिको नयाँ आकाश’ का रूपमा देखापर्छ ।

दोस्रो भागको स्वरूप, प्रवृत्ति र दार्शनिक गहिराइलाई यसरी चर्चा गर्न सकिन्छ:

-पहिलो भागमा समाजले महिला र बालबालिकामाथि थुपारेका कुरुप बन्धनहरू देखाइन्छ । जसबाट सामान्य सामाजिक वा कानुनी बाटोबाट मुक्ति सम्भव देखिँदैन । त्यसैले पनि उपन्यासले दोस्रो भागमा भौतिक संसारका सारा नियमहरूलाई भत्काइदिएको छ । कथा संकुचित यथार्थबाट मुक्त भएर पराकाल्पनिक संसारमा प्रवेश गर्छ । यहाँ जादुई यथार्थवादको उच्च प्रयोग छ ।

-यो भागको मुख्य ध्येय नै ‘स्त्रीतन्त्र’को खोजी र स्थापना हो । यहाँ महिलाहरू पुरुषप्रधान समाजले तोकिदिएको ‘पीडित’ वा ‘अवला’ को भूमिकामा रहँदैनन् । उनीहरू आफैं भित्र लुकेर बसेको आदिम, अनन्त ऊर्जालाई जागृत गराउँछन् । स्त्री-शक्ति केवल अधिकार माग्ने रूपमा होइन, सृष्टि र संहार दुवै गर्न सक्ने एउटा सार्वभौम शक्तिका रूपमा प्रकट हुन्छ । यस भागले महिलाको सामर्थ्यलाई सामाजिक दायराबाट उठाएर आध्यात्मिक उचाइ प्रदान गर्छ ।

उपन्यासको पहिलो भागमा समाजको अत्याचार सहेकी, मौन र कतैकतै विद्रोही देखिने ‘नीलाञ्जना’ दोस्रो भागमा पुग्दा पूर्ण रूपमा रूपान्तरित हुन्छिन् । उनको यो रूपान्तरणलाई ‘यक्षिणी’ को विम्बद्वारा प्रस्ट्याइएको छ ।

पूर्वीय दर्शनमा यक्षिणी प्रकृतिको रहस्यमयी र अदम्य शक्ति हो । नीलाञ्जनाको यक्षिणी बन्ने प्रक्रिया वास्तवमा हरेक महिलाभित्र हुने आत्मबोध र पुनर्जागरणको प्रतीक हो । उनी अब कसैको दयामा बाँच्ने पात्र होइनन्, बरु आफ्नै संसारको नियम आफैं बनाउने ‘महाशक्ति’ हुन् ।

दोस्रो भागमा पुगेपछि इतिहास र वर्तमानको दूरी मेटिन्छ । पुस्तौँदेखि दमनमा परेका चारै पुस्ताका स्त्रीहरूको चेतना यस पराकाल्पनिक धरातलमा भेटिन्छ । पुराना पुस्ताका स्त्रीहरूका अधुरा सपना, उनीहरूका मौन आँसु र विद्रोहका झिल्काहरू यस भागमा आएर एकीकृत हुन्छन् । यो खण्डले महिलाहरूको मुक्ति र जागरण कुनै एउटा व्यक्ति वा एउटा कालखण्डको प्रयास मात्र होइन, पुस्तौँदेखि सर्दै आएको चेतनाको एउटा अनन्त श्रृंखला (पुस्तान्तरण) हो भन्छ ।

प्रकृति जड वस्तु होइन, बरु स्त्री-ऊर्जाको एउटा जीवित सहयात्रीका रूपमा प्रस्तुत हुन्छ । प्रकृति र ब्रह्माण्डका तत्त्वहरू पात्रहरूको मानसिक भाव र शक्तिको सञ्चारसँगै बदलिन्छन् । जल, जमिन, आकाश र जङ्गलले स्त्री-अस्तित्वको विद्रोह र न्यायलाई रहस्यमयी ढङ्गले सघाउने काम गर्छन्, जसले आख्यानलाई निकै सुन्दर, काव्यिक र रहस्यमयी बनाउँछ ।

‘महायुग’ को दोस्रो भाग कुनै काल्पनिक वा जादुई लोकको सस्तो कथा मात्र होइन । यो त “यथार्थको धरातलमा पराजित बनाइएका स्त्रीहरूलाई उनीहरूको आन्तरिक र मानसिक संसारमा विजयी बनाउने” एक क्रान्तिकारी साहित्यिक विनिर्माण हो ।

उपन्यासकारले सीधा र सपाट भाषामा भन्न नसकिने स्त्री-आक्रोश र उनीहरूको विराट सामर्थ्यलाई पराकल्पनाको कतिलो माध्यमबाट व्यक्त गर्नुभएको छ । पहिलो भागले समाजको ‘कुरुप निन्द्रा’ बाट ब्युँझाउँछ भने, दोस्रो भागले एउटा नयाँ, न्यायपूर्ण र शक्तिशाली ‘महायुग’ को सूत्रपात गर्छ ।

कुनै पनि नवीन र प्रयोगधर्मी आख्यान सतप्रतिशत त्रुटिरहित हुन सक्दैन । सीमा आभासको ‘महायुग’ उपन्यासले नेपाली साहित्यमा एउटा नयाँ शिल्प (जादुई यथार्थवाद र पराकल्पना) भित्र्याउने आँट गरेता पनि साहित्यिक, संरचनात्मक र वैचारिक दृष्टिकोणले यसका केही कमजोर वा सीमाका पक्षहरू रहेका छन् ।

उपन्यासको सबैभन्दा ठूलो चुनौती यसको बनोटमा देखिन्छ । पूर्वार्ध (पहिलो भाग) पूर्ण रूपमा कठोर सामाजिक यथार्थ र राजनीतिक द्वन्द्वमा आधारित छ भने उत्तरार्ध (दोस्रो भाग) एकाएक पराकाल्पनिक संसारमा मोडिएको छ ।

यथार्थवादी धरातलबाट पराकाल्पनिक धरातलमा प्रवेश गर्दा पाठकले महसुस गर्ने ‘सांस्कृतिक र मानसिक फड्को’ यति तीव्र छ, कतिपय ठाउँमा यी दुई भाग दुईवटा फरक-फरक उपन्यास पढे जस्तो भान हुन्छ । दुई विधा बीचको संयोजन अझै अलिकति सुमधुर र प्राकृतिक हुन सक्थ्यो ।

उत्तरार्धमा स्त्री-शक्तिको खोजी गर्ने क्रममा स्वैरकल्पना र रहस्यको मात्रा निकै बढी छ । जब उपन्यास पूर्ण रूपमा अलौकिक वा पराकाल्पनिक संसार (जस्तै यक्षिणी र ब्रह्माण्डीय ऊर्जा) मा केन्द्रित हुन्छ, तब यसले पहिलो भागमा उठाएका भुइँतहका महिला र बालबालिकाका वास्तविक समस्याहरूबाट ध्यान मोडिदिन्छ ।

उपन्यासको दोस्रो भागमा ‘स्त्रीतन्त्र’, ‘पुनर्जागरण’ र ‘ब्रह्माण्डीय चेतना’ का विषयमा लामा-लामा दार्शनिक व्याख्या र स्वगत कथनहरू छन् । यसले गर्दा कतिपय ठाउँमा कुनै दार्शनिक निबन्ध वा विमर्श जस्तो गह्रौँ हुन पुगेको छ, जसले सामान्य पाठकलाई अल्मल्याउन सक्छ । विशेष गरी दोस्रो भागमा पुगेपछि महिला पात्रहरूलाई सामान्य मानिस भन्दा माथि उठाएर ‘महाशक्ति’ वा ‘देवी’ को रूपमा अति-आदर्शीकरण भएका छन् ।

साहित्यमा पात्रहरू जति बढी मानवीय, कमजोर, र गल्ती गर्ने स्वभावका हुन्छन्, पाठकले उनीहरूसँग त्यति नै बढी आत्मीयता महसुस गर्छन् । ‘महायुग’ का पात्रहरू उत्तरार्धमा पुग्दा मानवीय कमजोरीहरू भन्दा माथि उठेर अलौकिक बनिदिँदा उनीहरूको चरित्रको ‘मानवीय संवेग’ कताकता ओझेलमा परेको छ ।

कवि हुनुको प्रभाव उपन्यासकारको भाषा शैलीमा स्पष्ट देखिन्छ । उपन्यासको भाषा अत्यन्तै विम्बात्मक, अलंकारिक र काव्यिक छ । सुरुवातमा यो शैली निकै सुन्दर र आकर्षक लागे पनि ३६० पृष्ठको लामो उपन्यासभरि लगातार यस्तो ओजस्वी र घुमाउरो भाषा आउँदा आख्यानमा हुनुपर्ने सहज बहाव र सरलता कताकता गुम्न पुग्छ ।

यद्यपि, नेपाली आख्यानमा स्थापित पुराना परम्परालाई भत्काउने प्रयासका रूपमा यी कमजोरीहरूलाई यसको प्रयोगधर्मिताको एउटा पाटो मानेर हेर्न सकिन्छ । उपन्यास पठनीय मात्र छैन, नेपाली साहित्यमा कम लेखिने गरेको स्वेरकाल्पनिकतालाई प्रशंसनीय ठङ्गले यहाँ प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?