News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जा जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १३ हजार ५५१ सवारीसाधन कारबाही गरी एक करोड १५ लाख ३० हजार राजस्व संकलन गरेको छ ।
- कारबाहीमा परेका सवारीसाधन र संकलित राजस्व गत वर्षको तुलनामा घटेको छ भने दुर्घटनामा ९ जनाको मृत्यु र ४७ जना घाइते भएका छन् ।
- प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले ट्राफिक कारबाहीको मुख्य उद्देश्य राजस्व संकलन नभई सडक दुर्घटना न्यूनीकरण र अनुशासन कायम गर्नु रहेको बताएका छन् ।
४ साउन, स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर विभिन्न प्रकारका १३ हजार ५५१ सवारीसाधन कारबाहीमा परेका छन् । ती कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
सबैभन्दा धेरै ४ हजार ६१४ मोटरसाइकल चालक कारबाहीमा परेका छन् । त्यसपछि कार तथा जिप ३ हजार ३२६, ट्रक र टिपर २ हजार २५५, बस १ हजार ५४०, ट्याक्टर ९१२ र अन्य ९४२ सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।
आर्थिक वर्षको तथ्यांक हेर्दा जेठ महिनामा सबैभन्दा धेरै कारबाही गरिएको छ । जेठ महिनामा मात्रै १ हजार ५०२ सवारीसाधनका चालक कारबाहीमा परेका छन् । त्यसबाट १२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
तथ्यांकले ट्राफिक कारबाहीसँगै राजस्व संकलनमा पनि घट्दो प्रवृत्ति देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा १९ हजार २८९ सवारीसाधनका चालक कारबाहीमा परेका थिए भने त्यसबाट १ करोड ४१ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ हजार ६१० सवारीसाधनका चालकमाथि कारबाही हुँदा १ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व उठेको थियो ।
यस वर्ष भने कारबाहीमा परेका सवारीसाधन चालकको संख्या र त्यसबाट उठेको राजस्व दुवै घटेका छन् । यही कारण पछिल्ला तीन आर्थिक वर्षको तुलना गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यस वर्ष केही हदसम्म कम राजस्व संकलन गरेको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जेनजी आन्दोलन र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही समय नियमित ट्राफिक कारबाही प्रभावित भएकाले त्यसको असर कारबाही र राजस्व संकलनको तथ्यांकमा पनि देखिएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर नियमित चेकजाँच, सवारी सचेतना तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई निरन्तरता दिइएको छ ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर २० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ९ जनाको मृत्यु, २४ जना गम्भीर घाइते र २३ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल, जीप तथा बस संलग्न रहेको विवरणमा उल्लेख छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक शाहीले ट्राफिक कारबाहीको उद्देश्य राजस्व उठाउनु नभई दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्नु रहेको बताए ।
‘हामीले सवारी कारबाहीलाई राजस्व संकलनको माध्यमका रूपमा होइन, सडक सुरक्षाको उपायका रूपमा लिएका छौं,’ शाहीले भने, ‘ट्राफिक नियम पालना गराउने, चालकलाई जिम्मेवार बनाउने र दुर्घटना कम गर्ने उद्देश्यले नियमित चेकजाँचलाई प्रभावकारी बनाएका छौं । पछिल्लो समय ट्राफिक सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अघि बढाएका छौं ।’
उनका अनुसार अत्यधिक गति, ओभरलोड, कागजात नबोक्ने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउने तथा हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष निगरानी गरिएको छ । विद्यालय, चालक, यातायात व्यवसायी र स्थानीय तहसँग समन्वय गरेर ट्राफिक सचेतना अभियानलाई समेत निरन्तरता दिइएको उनले बताए ।
शाहीले ट्राफिक नियमको पालना गर्न सके दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घट्ने भन्दै सबै चालक र यात्रुलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गरे । उनले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले नियम पालना नै सुरक्षित यात्राको आधार भएको उल्लेख गरे ।
प्रतिक्रिया 4