News Summary
Generated by OK AI. Editorially reviewed.- मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६ मा चयन भएकी छिन् ।
- ललितपुरमा आयोजित कार्यक्रममा उनलाई मिसेस नेपाल युनिभर्सको उपाधि प्रदान गरिएको हो ।
- उनले आगामी अक्टोबरमा हुने मिसेस युनिभर्स २०२६ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
काठमाडौँ । मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ मा चयन भएकी छिन् । तेस्रो चरणको कोलोन क्यान्सरलाई समेत जित्न सफल भएकी उनी नेपालको पहिलो टेलिभिजन (भिजुएल) मोडल हुन् ।
उनले नेपालमा पहिलो पटक निर्माण भएको भिडियो विज्ञापनमा मोडलिङ गरेकी थिईन् । डली २०४० र ५० को दशककी विज्ञापन तथा फेसन मोडल हुन् ।
लन्डन फेसन हाउसद्वारा आइतबार बेलुका ललितपुरको झम्सिखेलमा आयोजित ‘क्राउन सेरोमनी’ समारोहमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी निर्देशक एवम् कार्यक्रम आयोजक मनिषा डंगोल श्रेष्ठले डलीलाई ‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ को क्राउन पहिराइदिएका हुन् ।
अब आगामी अक्टोबरमा हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको तर्फबाट डलीले प्रतिनिधित्व गर्ने छिन् । तीन सन्तानकी आमा डलीले आफूलाई यो उपाधिको लागि श्रीमान निराकर याक्थुम्बा (१९७४ एडी ब्यान्डका गिटारिस्ट), छोराछोरी र सासू आमा इन्दिरा यक्थुम्बाले प्रेरणा दिएको सो समारोहमा बताइन् ।

आफूले ‘मिसेस युनिभर्स २०२६’मा सहभागी भएर यस पटक विश्वका महिला सामु नेपाललाई फरक रूपमा चिनाउने उनले बताइन् । समारोहमा उनले भनिन्, ‘क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकी म प्रकृतिसँग रमाइरहेको बेला पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६ मा चयन हुन पाउँदा हर्षित भएको छु ।’
उनले अघि भनिन्, ‘नेपालका महिलालाई विश्व सामु चिनाउन यो महत्त्वपूर्ण प्लेटफर्म हो भनेर श्रीमानसहित परिवारले भनेपछि मिसेस नेपाल युनिभर्स २०२६ लाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दछु ।’
मिसेस नेपाल युनिभर्सकी निर्देशक एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले समारोहलाई सफल तुल्याउन सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै मिसेस नेपाल युनिभर्सको यात्राबारे पनि कार्यक्रममा प्रकाश पारिन् ।
मनिषाले धेरै संघर्षमा सफलता हासिल गरेकी ‘मिसेस नेपाल युनिभर्स २०२६’ डलीले मिसेस युनिभर्समा नेपालको लागि उपाधि ल्याउने विश्वास व्यक्त गर्दै उनलाई समारोहमा शुभकामना दिइन् ।
प्रतिक्रिया 4