News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल, चीन र एफएओको त्रिपक्षीय साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना ४ साउनमा औपचारिक रूपमा सुरु भएको छ।
- चीन सरकारको सहयोगमा सञ्चालित यो परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि विकास र खाद्य सुरक्षा सुदृढ बनाउने लक्ष्य लिएको छ।
- काभ्रेपलाञ्चोक र इलाममा लागू हुने यस परियोजनाले डिजिटल प्रविधिमार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना तथा बजार सम्बन्धी जानकारी उपलब्ध गराउने छ।
४ साउन, काठमाडौं । नेपाल, चीन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को त्रिपक्षीय साझेदारीमा ‘नेपालमा कृषि खाद्य प्रणाली सुदृढीकरण’ (स्ट्रेन्थेनिङ एग्रिफुड सिस्टम्स इन नेपाल) परियोजना औपचारिक रूपमा सुरु भएको छ ।
आगामी २४ महिनासम्म चल्ने यस परियोजनाले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि प्रणाली विकास, ग्रामीण जीविकोपार्जनमा सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य लिएको छ ।
चीन सरकारको ‘विश्व विकास तथा दक्षिण–दक्षिण सहयोग कोष’ (ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फन्ड) को आर्थिक सहयोगमा सञ्चालित यस परियोजनाले स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्नेछ ।
यसका साथै, जलवायु अनुकूल (स्मार्ट) कृषि, पोषण सुधार, डिजिटल नवप्रवर्तन र समावेशी ग्रामीण विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउने जनाइएको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीको उपस्थिति भएको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ र एफएओका नेपाल प्रतिनिधि केन शिमिजुको उपस्थिति थियो ।
त्यस्तै एफएओ (पीएसटी) की निर्देशिका हुआ याङ लगायत नेपाल सरकारका उच्च अधिकारी, संघीय, प्रदेश र स्थानीय तहका प्रतिनिधि, किसान संगठनका अगुवा तथा विभिन्न सरोकारवाला सहभागीता थिए ।
कार्यक्रमा मन्त्री चौधरीले यस परियोजनाले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । चिनियाँ राजदूत झाङले नेपालको कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहने प्रतिबद्धता जनाइन् ।
यसैगरी एफएओकी निर्देशिक हुआ याङले यो परियोजना एसिया तथा अन्य क्षेत्रका लागि ‘दक्षिण–दक्षिण सहयोग’ को एउटा सफल नमुना बन्ने विश्वास व्यक्त गरिन् ।
काभ्रेपलाञ्चोक र इलाम जिल्लामा कार्यान्वयन हुने यस परियोजना अन्तर्गत ‘डिजिटल कृषि विस्तार सेवा’ मार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार अवस्थाबारे जानकारी उपलब्ध गराइने छ ।
यस कार्यक्रमले विशेषगरी महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउनुका साथै स्थानीय संस्थाको जलवायु अनुकूलन क्षमता थप सुदृढ पार्ने बताइएको छ ।
यस सहकार्यले अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा नेपालको कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा ठोस टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4