+
+
Shares

सेयर बजारका सरोकारवालासँग प्रधानमन्त्रीको एक घण्टा, लगानीकर्तालाई सुधारको आश्वासन

बजारमा समस्याका विषयमा धितोपत्र बोर्ड र नेप्सेका अधिकारीसँग समाधान कसरी गर्न सकिन्छ भन्नेसम्मको प्रश्न प्रधानमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई राखेको लगानीकर्ता अम्बिका प्रसाद पौडेल बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्रीले सोमबार पुँजीबजारका सरोकारवालासँग छलफल गर्दै लगानीको निर्णय गर्दा बाहिरको हल्लामा विश्वास नगर्न र धैर्य गर्न लगानीकर्तालाई सुझाव दिनुभयो ।
  • सरकार निजी क्षेत्रप्रति नकारात्मक नरहेको बताउँदै प्रधानमन्त्रीले पुँजीबजारको विकासका लागि सरकार प्रतिबद्ध रहेको र बजारले रोजगारी तथा राजस्वमा योगदान दिनुपर्ने उल्लेख गर्नुभयो ।
  • लगानीकर्ताहरूले पुँजीबजार सुधारका लागि कर नीति, मार्जिन लेन्डिङ र प्रविधिमैत्री कारोबारलगायत विभिन्न बुँदागत सुझावहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् ।

४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सोमबार पुँजीबजारमा सरोकारवाला पक्षहरूका कुरा सुनेका छन् । लगानीकर्ताको मनोबल कमजोर हुनुको कारण खोजेका प्रधानमन्त्रीले करिब एक घण्टा सुनेर बाहिरको हल्लामा विश्वास गरेर लगानीको निर्णय नगर्न सुझाउँदै फिर्ता पठाएका हुन् ।

प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बोलाएर धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर, संस्थागत लगानी तथा व्यक्तिगत लगानीकर्तासँग छलफल गरेका हुन् । शाह प्रधानमन्त्री बनेदेखि धितोपत्र बजार निरन्तर घट्दो गति देखिएको थियो । पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्ज परिसूचक पनि २९८२ सम्म पुगेको थियो । पछिल्लो समयमा घटेर २५०० को हाराहारीमा झरेको थियो ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि बजारले सकारात्मक गति लिएको छ । सोमबार पनि नेप्से सूचक ४१ अंकले बढेको छ ।

सरोकारवालासँग प्रधानमन्त्रीले सरकार निजी क्षेत्रप्रति नकारात्मक नरहेको बताएको सहभागीको भनाइ छ । सेयर बजारको विकास तथा विस्तारका लागि सरकारले निरन्तर छलफल गरेको हुनाले लगानीकर्ताले मनोबल कमजोर बनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्रीले आश्वासन दिएको उनीहरूले बताए ।

त्यसैगरी सेयर बजारप्रति सरकार सचेत रहेको समेत प्रधानमन्त्रीले बताएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार प्रधानमन्त्रीले पुँजीबजारले पनि रोजगारी सृजना गर्ने र राजश्वमा योगदान दिनेगरी काम गर्नुपर्ने बताएका थिए ।

छलफलमा लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेको हुँदा माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्‍टता हटाई, घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने, राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगायतका सुझाव दिएका छन् ।

नेप्सेको पुनर्संरचना गरी प्रविधियुक्त बनाउने र उच्च दक्ष जनशक्ति आउने वातावरण बनाउने तथा धितोपत्र बोर्डले हालको १० कित्ते नीतिको पुनरावलोकन गर्न उनीहरूले सुझाएका थिए ।

प्रधानमन्त्रीसँग धितोपत्र बजारमा समस्याहरूमा बुँदागत रुपमा छलफल भएको नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ढकालले भने, ‘निजी क्षेत्रप्रतिको सरकार नकारात्मक होइन, क्यापिटल मार्केट पुँजी परिचालनको ठूलो माध्यम हो भन्ने बुझाइमा दुई मत छैन ।’

के समस्याले बिग्रिएको भनेर प्रधानमन्त्रीले छलफल बोलाएको ढकालले बताए । सेयर बजारमा समस्या उपर समाधान निकाल्ने गरीे छलफल भएको उनको भनाइ छ ।

नेपालको पुँजीबजारको इतिहासमा लगानीकर्ता, नियामक, प्रधानमन्त्री बसेर एकै ठाउँमा बसेर पहिलोपटक छलफल भएको लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताए । प्रधानमन्त्री कार्यालय पुँजीबजारको विकास र विस्तारप्रति सचेत रहेको स्पष्ट हुने पौडेलको भनाइ छ । पौडेलका अनुसार लगानीकर्ताका विषयहरूमा धितोपत्र बोर्ड तथा नेप्से नेतृत्वले प्रधानमन्त्री समक्ष स्वीकार गरेको पौडेलले बताए ।

‘प्रधानमन्त्रीले पुँजीबजार भर्चुअल रुपमा मात्रै पुँजीबजार नभई रोजगारी सृजना गर्ने तथा राजस्वमा समेत योगदान गर्नु पर्ने बताउनु भयो,’ पौडेलले भने, ‘पुँजीबजारको विकास र विस्तारमा सरकारले निरन्तर छलफल गरिराखेको समेत प्रधानमन्त्रीले बताउनु भयो ।’

बजारमा समस्याका विषयमा धितोपत्र बोर्ड र नेप्सेका अधिकारीसँग समाधान कसरी गर्न सकिन्छ भन्नेसम्मको प्रश्न प्रधानमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई राखेको उनले बताए ।

पुँजीबजारको विकासको लागि इन्ट्रा, अरु प्रडक्टहरू ल्याउने, संस्थागत सुशासन कायम गर्ने, मोनिटरिङ गर्ने कामको तयारीमा रहेको धितोपत्र बोर्डको अध्यक्षले बताएका थिए ।

लगानीकर्ताले अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकले गरिदनु पर्ने काममा सूची नै बुझाएका थिए । लगानीकर्ताले धितोपत्र बोर्डले प्राथमिक निष्कासनको प्रणालीमा सुधार गर्नु पर्ने औंल्याएका थिए ।

योग्य सस्थागत लगानीकर्तालाई कुल निष्कासनको ४० प्रतिशत र ६ महिनाको ‘लकईन’ अवधिसहित प्राथमिक निष्कासनको लागि बुक बिल्डिङ्ग प्रणाली लागू गर्नुपर्ने सुझाए । दोस्रोबजारमा माग आपूर्तीको सन्तुलन कायम गरी उचित मूल्यनिर्धारण गर्ने प्रणाली सुधार गर्न आवश्यक रहेको लmगानीकर्ताले औंल्याएका थिए । धितोपत्र बोर्डको संस्थागत सुसाशन निर्देशिका, ऋणदिने बैक वित्तिय संस्था वा अन्य नियमले रोकेको भन्दा बाहेक कर्मचारी, स्थानीयबासी, सामूहिक लगानी कोष, पीईभीसी तथा अन्य साना संस्थापक शेयरधनीले धारण गरेको शेयरहरूको कम्तीमा २० प्रतिशत सूचीकृत भएकै दिनमा बिक्री गर्न पाउने व्यवस्था गर्न लगानीकर्ताले माग गरेका थिए ।

कम्पनी सूचीकृत भएको दिन सो कम्पनीको कारोबार मूल्यमा सर्किट ब्रेकरको नियम लागुनहुने ब्यवस्था र खातामा नभएको सेयर बिक्री गर्न पाउने व्यवस्था गर्न समेत लगानीकर्ताले प्रधानमन्त्री समक्ष अनुरोध गरेका थिए । दोस्रोबजारमा तरलता बढाउन ‘ईन्ट्रा–डे कारोबार’ सुचारु गर्नुपर्ने समेत लगानीकर्ताले माग गरेका छन् । अक्सन मार्केट, धितोपत्र ऋण सापटी र कारोबार भएको सेक्यूरीटीज्को खुद राफसाफ प्रणाली प्रणालीको विकास गर्नु समेत लगानीकर्ताले आग्रह गरेका छन् ।

बैंक तथा वित्तिय संस्थाले धितोपत्र दलाल व्यवसायीलाई होलसेल प्रकृतीको ओभर ड्राफ्ट वा चालुपुँजी कर्जा दिन सक्ने नियमकिय ब्यवस्था गर्न लगानीकर्ताको अनुरोध छ । बैक वित्तिय संस्थाले धितोपत्रमा लागनी गरेपछि कम्तीमा ६ महिना बिक्री गर्न नपाउने ब्यवस्था खारेज गर्नु पर्ने र सेयर धितोको कर्जा पनि कुल कर्जाको न्यूनतम ५ प्रतिशत दिन पाउने व्यवस्था गर्ने लगानीकर्ताले सुझाएका छन् ।

धितोपत्र निसर्ग गर्दा घाटा समायोजन नगरी लाभमा मात्र कर तिर्ने बिद्ययमान ब्यवस्थामा आ.ब. २०८३/०८४ बजेटले पुँजीगत लाभकरको दर वृद्धि गरिएकोले नकारात्मक सन्देश गएको लगानीकर्ताको ठहर छ ।

बजार पुँजीकरण, सूचक एवं राजश्व सबै न्यून हुने अवस्था सृजना भएकाले लाभकर गणना बिधि परिमार्जन गरी नाफाघाटा समायोजन पछि खुद लाभ भएमा मात्र उल्लेखित दरको पुँजीगत लाभकार लिने व्यवस्था गर्ने समेत लगानीकर्ताको माग छ ।

पुँजीबजारमा संस्थागत लगानीकर्ताको न्यून सहभागिताले गर्दा बजारको उतारचढाव अत्याधिक हुने गरेको लगानीकर्ताको बुझाइ छ ।

तसर्थ दिर्घकालीन कोष संचालकहरू संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू, बैंक तथा वित्तिय संस्थालाई संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सहजिकरण एवं प्रोत्साहन गर्नको लागि कोष रकमको कम्तीमा ५ प्रतिशत लगानी गर्ने नीति अबलम्बन गर्नु पर्ने समेत लगानीकर्ताले सुझाएका छन् ।

नेपाल स्टक एक्सचेञ्जलाई रणनीतिक साझेदारसहित निजीकरणको गर्न समेत लगानीकर्ताले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?