News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरोकारवाला निकायहरूसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
- छलफलमा सहभागी प्रतिनिधिहरूले लगानीकर्ताको मनोबल उकास्न, कर व्यवस्थामा सुधार गर्न र स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
- समस्या समाधानका लागि नयाँ समिति गठन गर्नुभन्दा सम्बन्धित निकायहरूबाटै तत्काल काम अगाडि बढाउने आश्वासन प्रधानमन्त्री शाहले दिएको सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो ।
४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थीत बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका हुन् ।
पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको छलफलका क्रममा आफूहरूले लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेको हुँदा माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई, घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने, राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगाएतका सुझाव दिएको रेग्मीले बताए ।
त्यस्तै छलफलमा सहभागीहरुले स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउने र उच्च दक्ष जनशक्ति आउने वातावरण बनाउने समेत सुझाव दिएका छन् भने धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन/सुधार गरी योग्य संस्थागत लगानीकता मार्फत बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने व्यवस्था गर्न समेत सुझाएका छन् ।
छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल लगाएतका निकायका पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4