News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुममा झाँक्री संस्कृति परम्परागत रूपमा जीवित रहँदै आएको छ ।
- साउनको पहिलो मंगलबार लाग्ने झाँक्री मेलालाई स्थानीय समुदायले आफ्नो सांस्कृतिक पहिचानको उत्सवका रूपमा मनाएका छन् ।
- यहाँ महिला र पुरुष दुवै झाँक्री सक्रिय छन् र पुस्तान्तरणमार्फत यो आध्यात्मिक अभ्यासलाई निरन्तरता दिइएको छ ।
५ साउन, रुकुमपूर्व । हिमाली गाउँ लुगुमको बीचको चौरमा मानिसहरू जम्मा हुन्छन् । केहीबेरमै ढ्याङ्ग्रोको गुञ्जनले सिंगो गाउँ तरंगित हुन्छ । धूपको सुगन्ध हावामा फैलिन्छ । चराका प्वाँखले सजिएका मुकुट, काँसका घण्टी, परम्परागत गहना र रंगीन पोसाकमा सजिएका झाँक्रीहरू एकपछि अर्को गर्दै चौरमा उत्रिन्छन् । आधुनिक समयसँगै धेरै ठाउँबाट हराउँदै गएको झाँक्री संस्कृति रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुममा भने आज पनि उस्तै जीवित छ ।
तर झाँक्री, तन्त्रमन्त्र र झारफुकलाई आधुनिक चिकित्सा विज्ञानले पुष्टि गरेको छैन ।
त्यसैले यहाँ झाँक्री परम्परा उपचारको माध्यमभन्दा पनि समुदायको सांस्कृतिक पहिचानसँग गाँसिएको अभ्यासका रूपमा जोगिएको देखिन्छ । हरेक वर्ष साउनको पहिलो मंगलबार यहाँ लाग्ने झाँक्री मेला पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको एउटा जीवनपद्धतिको उत्सव हो ।
स्थानीय समुदायका लागि यो मेला आफ्ना पुर्खाको परम्परा सम्झने, आपसी सम्बन्ध सुदृढ गर्ने र सांस्कृतिक निरन्तरतालाई जीवन्त राख्ने अवसर हो ।
झाँक्री मेलाको दिन गाउँका बासिन्दामात्र होइन, आफन्त र विभिन्न जिल्लाबाट आएका आगन्तुकले पनि लुगुम भरिभराउ हुन्छ । ढ्याङ्ग्रोको तालमा झाँक्रीहरू सामूहिक रूपमा नाच्छन् । उनीहरूको लयसँगै गाउँको वातावरण पनि बदलिन्छ । स्थानीयका लागि यो मनोरञ्जनभन्दा बढी पुर्खाको ज्ञान, विश्वास र पहिचानलाई सम्झने दिन हो ।
लुगुममा अहिले पनि चार दर्जनभन्दा बढी झाँक्री सक्रिय छन् । यहाँको अर्को विशेषता भनेको पुरुषसँगै महिलाले पनि समान रूपमा झाँक्रीको भूमिका निर्वाह गर्नु हो । परिवारभित्रै गुरुबाट चेलामा सर्ने मन्त्र, विधि र अभ्यास आज पनि पुस्तान्तरण भइरहेको छ ।
स्थानीय विश्वासअनुसार झाँक्रीहरू बिरामीको झारफुक गर्ने व्यक्तिमात्र होइनन् । उनीहरू गाउँको आध्यात्मिक जीवन, सामाजिक विश्वास र सांस्कृतिक सम्पदाका संरक्षक हुन् । मेलामा गुरु–चेलाको भेट हुन्छ । अग्रजले अनुजलाई मन्त्र र विधि सिकाउँछन् । झाँक्रीहरूले एकअर्काको आध्यात्मिक अभ्यासको समीक्षा गर्नुका साथै गाउँको शुभ–अशुभ अवस्थाबारे धार्मिक विधि पनि सम्पन्न गर्छन् ।

मेलाको सबैभन्दा रोचक दृश्य भने सिस्नो खेल हो । झाँक्रीका चुम्मी, भान्जा, गाउँका युवायुवती र अन्य सहभागीहरू एकअर्कालाई सिस्नोले हिर्काउँदै रमाइलो गर्छन् । बाहिरबाट हेर्दा असहज लाग्ने यो अभ्यास स्थानीय समुदायका लागि भने शुद्धीकरणको सांस्कृतिक अनुष्ठान हो । उनीहरूको विश्वासमा यसले शरीरका अशुद्ध तत्व हटाउँछ, रोगव्याधिबाट जोगाउँछ र नकारात्मक शक्तिलाई टाढा राख्छ ।
झाँक्रीहरूको पहिरन आफैंमा एउटा सांस्कृतिक दस्तावेज हो । टाउकोमा चराका प्वाँखले सजिएको मुकुट, घाँटीभरि झुन्डिएका काँसका घण्टी, शरीरभरि परम्परागत गहना र हातमा ढ्याङ्ग्रो बोकेर उनीहरू सामूहिक रूपमा नाच्दा लुगुमको चौर खुला सांस्कृतिक संग्रहालयझैँ देखिन्छ । हरेक अनुहार, हरेक पोसाक र हरेक तालले पुस्तौंदेखिको परम्पराको कथा सुनाइरहेको हुन्छ ।
विज्ञान र प्रविधिको तीव्र विकाससँगै विश्वभर धेरै मौलिक संस्कृतिहरू हराउने जोखिममा छन् । तर लुगुमले आफ्नो पहिचानलाई पुस्तौंदेखि जोगाउँदै आएको छ ।
अझ उत्साहजनक पक्ष त के छ भने युवा पुस्ता पनि यही परम्परामा सहभागी हुँदै आफ्ना अग्रजबाट सिकिरहेको छ । यही निरन्तरताले लुगुमको झाँक्री सभ्यतालाई केवल विगतको सम्झना होइन, वर्तमानमा बाँचिरहेको जीवित सम्पदाका रूपमा स्थापित गरेको छ ।
ढ्याङ्ग्रोको अन्तिम तालसँगै मेला सकिन्छ । चौर खाली हुन थाल्छ । तर लुगुमका पहाडमा गुञ्जिएको त्यो लय भने अर्को साउनको पहिलो मंगलबारसम्म पनि गाउँको स्मृतिमा जीवित रहन्छ ।


प्रतिक्रिया 4