५ साउन, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ । स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा मुद्रासहितको तामाको करुवा फेला परेको हो ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यो पुरातात्विक वस्तु स्थानीय, जनप्रतिनिधि र कपिलवस्तु संग्रहालयको टोलीले संकलन गरेको थियो । भेटिएको तामाको करुवासहितका मुद्रा कपिलवस्तु संग्रहालयमा लगेर राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टले ती पुरातात्विक वस्तु आवश्यक अध्ययनका लागि संग्रहालयलाई हस्तन्तरण गरिएको बताए ।
कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले ती वस्तु करिब १२/१३ औं शताब्दितिरको हुनसक्ने बताइन् ।
‘भेटिएको पुरातात्विक वस्तु करिब १२ औं/१३ औं शताब्दि(मध्यकाल)को हुनसक्ने अनुमान छ,’ उनले भनिन् । उनका अनुसार करुवाबाट तामाको मुद्रा निकाल्ने क्रम जारी छ । करुवाभित्र अरबी लिपिमा लेखिएका दुई हजार ३१४ वटा तामाका सिक्का रहेको उनले बताइन् । करुवा करिब २३ सेन्टिमिटर अग्लो रहेको छ ।



प्रतिक्रिया 4