News Summary
Generated by OK AI. Editorially reviewed.- रेनकोट ओढेर स्कुल गइरहेका तीन बालिकाहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
- १७ सेकेन्डको उक्त भिडियोले दुई दिनमा २ करोड २० लाख भन्दा बढी भ्युज पाएको छ।
- ती बालिकाहरू एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन्।
७ साउन, काठमाडौं । पानी परिरहेको मौसममा रेनकोट ओढेर उकालो हिँडिरहेका तीन जना बच्चाहरुको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेको भिडियोमा देखिन्छ ।
भिडियोमा ‘हलो साथी हो, ओ ! छाता ओढेका साथीहरु’ भनेर उनीहरुलाई बोलाएको सुनिन्छ । तर त्यसलाई बेवास्ता गर्दै ती बच्चाहरु आफ्नै सुरले उकालो उक्लिरहन्छन् ।
त्यही बिचमा एकजना व्यक्ति मोटरसाइकल लिएर ओरालो झरेको देखिन्छ । भिडियो खिच्ने व्यक्तिले ती मोटरसाइकल चालकलाई ‘काँ जाँदैछौ ?’ भनेर सोधेको पनि सुनिन्छ । भिडियो यत्तिकैमा सकिन्छ ।
१७ सेकेन्डको यो भिडियोलाई लाखौं व्यक्तिले मन पराएको पाइएको छ ।
फेसबुकमा दुई दिनअघि पोष्ट भएको सो भिडियोमा आज बिहान १० बजेसम्मको समयमा २२ मिलियन भ्युज छ । ९ हजार १०० भन्दा बढी कमेन्ट र ४ हजार ६ सय भन्दा धेरै शेयर भएको छ । यस्तै ७ लाख ५० हजार भन्दा बढीले रियाक्ट गरेका छन् ।
कहाँको हो भिडियो ? कसले खिच्यो ?
यो भिडियो रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ सुर्पाल भन्ने ठाउँको हो । र, यो भिडियो खिचेका थिए स्थानीय लोकेन्द्र पुनले । उनले फेसबुकमा भने आफ्नो नाम ‘लोकेन पुन’ लेखेका छन् ।

उनले सुर्पालको टंक सुपारी स्मृति प्रतिक्षालयबाट सो भिडियो खिचेका थिए । भिडियो खिचिएको स्थान सुर्पाल बजार, होलेरी हुँदै घोराही र मसिना हुँदै प्युठानको स्वर्गद्वारी जाने बाटोमा पर्दछ ।
माइत आएकी दिदीलाई घोराही पठाउनका लागि प्रतिक्षालयमा बस कुरेर बसिरहेका बेला उनले सो भिडियो खिचेका थिए ।
‘मेरी दिदीको घर घोराही हो, उहाँलाई पठाउन बस चढ्ने ठाउँसम्म आएको थिएँ । पानी परिरहेकाले हामी प्रतिक्षालयमा बसिरहेका थियौं । त्यही बेला प्लास्टिक ओढेर तीन जना बच्चा आइरहेको देखेँ । झरीको बेला मायालु बच्चाहरु स्कुल गइरहेको देखेर भिडियो खिचेर फेसबुकमा हालेको धेरैले मन पराइदिनुभयो,’ पुनले भने ।
ती बच्चाहरु को हुन् ?
भिडियोमा कमेन्ट गर्ने धेरैजसोले ती बच्चाहरुलाई ‘क्युट’ भन्दै आफ्नो बाल्यकालको याद आएको उल्लेख गरेका छन् । कतिपयले ‘कोई मिलगया’ हिन्दी फिल्मको ‘जादू’ पात्र जस्तो देखिएको भनेर पनि टिप्पणी गरेका छन् ।
कतिपयले भने ती बच्चाहरुको अनुहार हेर्ने इच्छा व्यक्त गर्दै उनीहरुसँग कुराकानी गर्न सुझाव दिएका छन् । त्यसैले पुनले पनि आज बिहान मात्रै उनीहरुको अनुहार देखिने गरी नयाँ भिडियो पोष्ट गरेका छन् ।
ती तिनैजना बालिकाहरु हुन् । रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ सुर्पालका उनीहरु सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन् । उनीहरुमध्ये दुई जना एकै घरका हुन् भने एकजना छिमेकी हुन् । उनीहरु सधैं सँगसँगै स्कुल आउजाउ गर्दछन् ।

सामाजिक सन्जाल प्रयोगकर्ताको माग अनुसार बच्चाहरुको अनुहार समेत देखिने गरी आज नयाँ भिडियो खिचेर पोष्ट गरेको उनले बताए ।
‘बच्चाहरुको अनुहार पनि देखिने गरी भिडियो खिच्न त्यही प्रतीक्षालयनेर आज कुरेर बसेँ,’ पुनले अनलाइनखबरसँग भने, ‘उनीहरु आइपुगेपछि कुरा गर्न खोजेको थिएँ तर कसैले पनि बोल्न मानेनन् । अँस्तीको भिडियोमा जस्तै आज पनि उनीहरु आफ्नै सुरले स्कुलतिर लागे ।’
उनको पहिलो भिडियोलाई धेरैले डाउनलोड गरेर आफ्नो फेसबुक र टिकटकमा पोष्ट गरेका छन् । कतिपयले त्यसलाई एआई रुप समेत दिएका छन् ।
भिडियो धेरैले मन पराइदिएकोमा उनी खुसी नै छन् तर कतिपयले क्रेडिट समेत नदिई आफैंले खिचेजसरी पोष्ट गरेकोमा भने दु:ख लागेको उनी बताउँछन् । ‘एउटा पेजले त उल्टै मलाई नै ब्लक गरिदियो,’ उनी भन्छन्, ‘मेरो फेसबुक पेज मोनिटाइज्ड भएको भए त्यसबाट केही पैसा आउँथ्यो र ती बच्चालाई केही सहयोग गर्न पाउँथेँ । तर मेरो भिडियोबाट अरुले पैसा कमाइरहेका छन् ।’
प्रतिक्रिया 4