News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आउने वा बाहिर जाने नागरिकले पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा भन्सार घोषणाविना नै ल्याउन वा लैजान पाउने व्यवस्था गरिएको छ ।
- नेपाली तथा भारतीय नागरिकले भारु २०० र ५०० दरका नोट प्रतिव्यक्ति २५ हजारसम्मको सीमामा रही ओसारपसार र सटही गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
- सन् २०१६ नोभेम्बर ९ अघिका भारु ५०० र १००० दरका पुराना नोटको कारोबारमाथि प्रतिबन्ध यथावत रहेको राष्ट्र बैंकले पुनः स्पष्ट पारेको छ ।
७ साउन, काठमाडौं । नेपाल आउने र नेपालबाट बाहिर जानेले नगद विदेशी मुद्रा ५ हजार डलसम्म ल्याउन, लैजान पाउने भएका छन् ।
नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धमा विदेशी विनिमय ऐन, २०१९ को दफा ५ तथा दफा १२ का व्यवस्थाहरू र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क. को व्यवस्थाअनुसार ५ हजार डलरसम्म ल्याउन/ लैजान सकिने भएको हो ।
नगद विदेशी मुद्राको सन्दर्भमा नेपाल राष्ट्र बैंकले २०७५/०३/३२ र २०७५/१२/२६ मा सूचना जारी गर्दै सो सीमा तोकेको थियो । आज बिहीबार केन्द्रीय बैंकले पुनः सूचना जारी गर्दै भारतीय र नेपाली नागकिको हकमा पनि भारु २५ हजारसम्म कायम गरेको हो ।
नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत सो बराबर भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने व्यवस्था छ । सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८२/०९/२८ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५०० र १००० दरका नोटको कारोबार गर्न पाउँदैनन् ।
तर, सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
साथै, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4