+
+
Shares

सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्छ : राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले ट्राफिक व्यवस्थापनका लागि नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ।
  • हमालले सडक व्यवस्थापनका लागि पूर्वाधार विकाससँगै प्रविधिको प्रयोग तथा 'पहिला म' भन्दा 'पहिला तपाईं' भन्ने संस्कारको विकास आवश्यक रहेको बताउनुभयो।
  • सडक फराकिलो बनाउनु मात्र समाधान नभएको बताउँदै उहाँले प्रभावकारी व्यवस्थापन र ट्राफिक नियमको पालना नै विन-विन अवस्था भएको उल्लेख गर्नुभयो।

८ साउन, काठमाडौं । अभिनेता राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको औँल्याए ।

समयसँगै सवारी साधनको सङ्ख्या अत्यधिक बढे पनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको भन्दै उनले प्रविधिको प्रयोगमा जोड दिए। नागरिक र ट्राफिक प्रहरीबीचको सहकार्यबाट मात्रै सडक सुचारु हुने उनको भनाइ छ।

‘समयसँगै सवारीसाधनको चाप अत्यधिक बढेको छ। तर त्यसअनुसार सडक तथा अन्य पूर्वाधार निर्माण हुन नसक्दा व्यवस्थापनमा चुनौती देखिएको छ,’ उनले भने, ‘त्यसैले समयसापेक्ष पूर्वाधार विकास र आधुनिक प्रविधिको प्रयोग गर्न सकिए सडक व्यवस्थापन अझ प्रभावकारी बन्ने थियो ।’

हमालले थपे, ‘ट्राफिक व्यवस्थापन सफल बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन। प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्छ।’

सडकमा देखिने अत्यधिक हतारो प्रवृत्तिको चर्चा गर्दै हमालले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको बताए। सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्ने यथार्थलाई बुझेर ‘पहिला म’ नभई ‘पहिला तपाईं’ भन्ने संस्कारको विकास गर्नुपर्ने उनले सुझाए।

‘हामी सडकमा प्रायः सबैलाई हतारमा देख्छौँ। यदि ‘पहिला म’ भन्ने सोचको सट्टा ‘पहिला तपाईं’ भन्ने संस्कार विकास गर्न सक्यौँ भने ट्राफिक व्यवस्थापन धेरै सहज हुनसक्छ,’ उनले भने, ‘यो केवल अर्को व्यक्तिलाई प्राथमिकता दिने कुरा होइन, पालो सबैको आउँछ। सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्छ, तर पालैपालो अघि बढ्दा सडक स्वतः व्यवस्थित हुन्छ।’

सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उनले चुस्त व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भए पनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण उनले प्रस्तुत गरे।

‘सडक व्यवस्थापनका लागि सडक चौडा बनाउनु मात्र समाधान होइन। विश्वका धेरै देशमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्,’ हमालले प्रस्ट्याए, ‘यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो। त्यसैले ट्राफिक व्यवस्थापनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सक्षम र चुस्त व्यवस्थापन नै हो।’

ट्राफिक नियमको पालना गर्नु सबैको हितमा रहेको बताउँदै उनले यसलाई दुवै पक्षको जितका रूपमा व्याख्या गरे। समाजका हरेक तह र तप्काले हातेमालो गरेर मात्र काठमाडौँको ट्राफिक व्यवस्थापनलाई सही दिशा दिन सकिने उनले बताए।

‘सडक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन; यो हामी सबैको साझा दायित्व हो। सबै सरोकारवाला मिलेर नियम पालना गर्दै जिम्मेवार ढंगले सवारी चलाउन सके काठमाडौंसहित देशभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बन्न सक्छ,’ उनले भने, ‘यसबाट ट्राफिक प्रहरी मात्र होइन, सडक प्रयोग गर्ने सबै नागरिक लाभान्वित हुन्छन्। नियमको पालना सबैका लागि विन–विन अवस्था हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?