News Summary
Generated by OK AI. Editorially reviewed.- कोशीसहित तीन प्रदेशको नेतृत्व नेकपा एमालेले पाउने गरी सत्ता गठबन्धनबीच सहमति भएको छ।
- एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विकल्प खोज्ने पक्षमा देखिएका छन्।
- मुख्यमन्त्रीका लागि संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोको नाम चर्चामा रहे पनि पार्टीभित्र कार्कीको पक्षमा पनि बलियो मत रहेको छ।
१० साउन, विराटनगर । नेकपा र नेकपा एमालेले प्रदेश तहमा सत्ता सहकार्यको सहमति गरेका छन् । नेकपा एमाले र नेकपाबीच भएको पछिल्लो सहमति अनुसार कोशीसहित तीन प्रदेशको नेतृत्व एमालेले पाउने टुङ्गो लागेको छ । तर, एमालेको भागमा कोशी परेसँगै भावी मुख्यमन्त्री को बन्ने भन्ने विषयमा पार्टीभित्र नयाँ बहस भइरहेको छ ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली हालका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । त्यसका लागि उनले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई निवासमै बोलाएर छलफल समेत गरेका छन् ।
यस आधारमा कतिपयले कार्कीको सट्टा मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन ओलीले खोजेको अनुमान गरेका छन् । मेन्याङ्बोलाई उनका शुभचिन्तकहरुले अग्रिम बधाई पनि दिइरहेका छन् ।
कोशीमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषय टुंगो लागिसकेको छैन । यदि ओली मेन्याङ्बोको पक्षमा रहे भने पनि उनका लागि पार्टीभित्रको परिस्थिति भने त्यति सहज देखिएको छैन । एमालेका केन्द्रीय सचिव समेत रहेका हिक्मतकुमार कार्कीको पक्षमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितका पदाधिकारीहरु रहेको स्रोतले बतायो ।
कोशी प्रदेशमा नेकपाले नेतृत्वमा दाबी गर्दा शंकर पोखरेल र विष्णु पौडेलले कोशी र लुम्बिनी कुनै हालतमा नछाड्ने बताएका थिए । ओलीले पनि गृह प्रदेश र सिट संख्या भएका कारण कोशी छाड्न मानेनन् । ‘हिजो कांग्रेससँगको गठबन्धन टुट्नुको एउटा मुख्य कारण कोशी प्रदेश नै थियो, अध्यक्षले मुख्यमन्त्री फेर्न खोज्दा कांग्रेसले नमान्दा यो परिस्थिति आयो,’ एमाले स्रोतले भन्यो, ‘पार्टीको सिनियर नेता सचिवलाई छाडेर अर्को पात्र खोज्नु न्यायोचित हुँदैन भन्ने बहुमतको बुझाइ छ ।’
कार्की कुनै समय अध्यक्ष ओलीको विश्वास पात्र थिए । तर पछिल्लो समय भने सम्बन्ध चिसिएको उनीहरु निकट स्रोत बताउँछ । ‘प्रतिनिधिसभा निर्वाचनपछि ओली कार्कीसँग असन्तुष्ट रहँदै आएका छन्,’ एक नेता भन्छन्, ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको बहसमा पनि कार्कीले ओलीको लाइनभन्दा फरक मत राख्ने गरेको बुझाइ छ ।’
कुनै समय ओलीका अत्यन्तै विश्वासपात्र मानिने कार्की पछिल्लो समय पार्टीको नीतिगत बहसहरूमा फरक कित्तामा उभिन थालेपछि ओलीले उनलाई त्यति नरुचाएको स्रोत बताउँछ । ‘तर पार्टीको केन्द्रीय सचिव जस्तो जिम्मेवारीमा रहेको व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई अघि सार्नु त्यति सजिलो छैन,’ एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘१–२ दिनभित्र यो विषय टुङ्गो लाग्छ ।’
संसदीय दल के भन्छ ?
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेत भने हालसम्म दलभित्र नेतृत्वको विषयमा औपचारिक छलफल नभएको दाबी गर्छन् ।
‘केन्द्रमा सहमति भएको खबर आएको छ, तर प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पार्टी र संसदीय दलमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘बाहिर विभिन्न हल्ला चले पनि पार्टीले औपचारिक निर्णय नगरेसम्म केही भन्न सकिन्न ।’
ओलीले मुख्यमन्त्रीका रूपमा अघि सार्न खोजेका तिलकुमार मेन्याङ्बो कोशी प्रदेश एमाले संसदीय दलका उपनेता हुन् । उनी बरीयतामा कार्कीपछिको दोस्रो स्थानमा छन् ।
ताप्लेजुङ १ (१) बाट निर्वाचित मेन्याङ्बो यसअघि हिक्मतकुमार कार्कीकै नेतृत्वको पहिलो सरकारमा खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री बनिसकेका छन् । उनी २०५६ सालमै ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अनुभवी नेता हुन् ।
२०७४ को प्रदेश निर्वाचनपछि कोशी प्रदेशमा हालसम्म ९ पटक सरकार गठन भइसकेको छ । यदि मेन्याङ्बो वा अन्य पात्र मुख्यमन्त्री बने भने प्रदेशको १० औँ मुख्यमन्त्री हुनेछन् । कोशीमा हालसम्म शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, उद्धव थापा, केदार कार्की र हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रतिक्रिया 4