६ साउन, विराटनगर । सत्ता सहकार्य टुटेको दुई वर्षपछि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश तहमा फेरि सहकार्यका लागि तयार भएका छन् । मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको भेटपछि दुई दल सहकार्य गरेर अघि बढ्न तयार भएका हुन् ।
एमालेसँग सहकार्य हुने भएपछि नेकपाले कोशी प्रदेशको नेतृत्वमा दाबी गरेको छ ।
नेकपा र एमालेबीचको सहकार्यको सहमति पछि बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कोशीमा पनि वाम गठबन्धनको सरकार बनाउने गृहकार्य सुरु भएपछि नेकपाले मुख्यमन्त्रीको अडान राखेको हो ।
नेकपा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नेतृत्वका लागि आफूहरूले बलियो अडान राखेको बताए । एमालेले पटकपटक नेतृत्व गरिसकेकाले सत्ता सहकार्य गर्दा नेकपाले पालो पाउनु पर्ने उनको तर्क छ ।
‘कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले चारवटा बजेट ल्याइसकेको छ । अब नयाँ सहकार्य हुने हो भने नेतृत्व नेकपाले पाउनुपर्छ भन्ने सर्त हामीले नेतृत्वलाई राखेका छौँ,’ आङ्बोले भने,‘अध्यक्ष प्रचण्डले यसमा सकारात्मक जवाफ दिनुभएको छ । बिहीबार एमाले अध्यक्ष ओलीसँग हुने थप छलफलपछि यसको टुङ्गो लाग्नेछ ।’
कांग्रेसलाई पनि सँगै लैजाने प्रयास भए पनि सफल नभएपछि वाम समीकरण नै अघि बढ्ने उनले बताए । ‘संविधानको रक्षाका लागि कांग्रेसलाई पनि सँगै लिएर जाने कुरा भएको रहेछ, तर कांग्रेस तयार नभएपछि अब नेकपा र नेकपा एमालेकै सरकार बन्ने भयो,’ उनले भने,‘सोही सहमति अनुसार बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।’
एमालेभित्रको अन्तर्विरोधले संकटमा हिक्मत
काेशी प्रदेशकाे नेतृत्व एमाले सचिव हिक्मतकुमार कार्कीले गरिररहेका छन् । प्रदेश तहमा एमाले र कांग्रेसबीचको सहकार्य टुट्नुमा कोशी प्रदेशकै नेतृत्वको विषय मुख्य कारण बनेको थियो । आलोपालोको सहमति अनुसार कांग्रेसले नेतृत्व पाउने बेला एमाले अध्यक्ष ओलीले कार्कीलाई हटाएर एमालेकै अर्का नेतालाई मुख्यमन्त्री बनाउनुपर्ने सर्त राखेपछि विवाद बढेको थियो ।
स्रोतका अनुसार ओली वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फेरेर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । तर, एमाले महासचिव शङ्कर पोखरेललगायतका नेताहरू भने कार्कीकै पक्षमा छन् ।
एमालेका एक केन्द्रीय सदस्यका अनुसार, अध्यक्ष ओलीले हिक्मत कार्कीलाई रोक्नकै लागि नेकपालाई नेतृत्व सुम्पिने सम्भावना पनि छ । ‘ तर एमालेको पहिलो प्राथमिकता आफ्नै नेतृत्व हो,’ ती नेताले भने,‘ अध्यक्षज्यू हिक्मत कार्कीको निरन्नरताको पक्षमा चाहिँ हुनुहुन्न ।’
एमाले र नेकपाबीचको नयाँ समीकरण तय भएसँगै कांग्रेसले प्रतिपक्षमा बस्ने तयारी गरेको छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सरकार छाड्न केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । ‘केन्द्रको निर्देशनका कारण मन्त्रीहरूको राजीनामा केही समय रोकिएको हो,’ तामाङले भने, ‘ अब १–२ दिनभित्रै निर्णय होला ।’
प्रतिक्रिया 4