News Summary
Generated by OK AI. Editorially reviewed.- किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी युवती राधिका गोतामे र वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माबीच आर्थिक कारोबार भएको पाइएको छ ।
- डा. शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई रकम पठाएको स्क्रिनसट फेला परेको र पीडित किशोरीले डा. शर्माविरुद्ध ललितपुर प्रहरीमा जाहेरीसमेत दिएकी छिन् ।
- हाल डा. शर्मा विदेशमा रहेको खुलेको छ भने जिल्ला प्रहरी परिसर ललितपुरले घटनाको प्रमाण जुटाएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
१० साउन, काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्मा र पक्राउ परेकी युवती राधिका गोतामेबीच आर्थिक कारोबार भेटिएको छ ।
ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफमा कार्यरत डा. शर्माले १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी युवती राधिका गोतामेसँग आर्थिक कारोबार गरेको भेटिएको हो ।
डिम्ब तस्करीमा बिचौलियाको काम गरेको आरोपमा लमजुङ घर भइ ललितपुर बस्दै आएकी २१ वर्षीया राधिका गोतामे अहिले प्रहरी हिरासत छिन् ।
जावलाखेलस्थित प्रहरी हिरासतमा रहेकी गोतामेको मोबाइलमा डा. शर्माले पठाएको रकमको स्क्रिनसट फेला परेको छ ।
गत २१ डिसेम्बर २०२५ मा डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । यसको भोलिपल्ट पनि शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । दुवै रकम मोबाइल बैंकिङ मार्फत डा. शर्माले तामेलाई पठाएकी थिइन् ।
यो घटनाबाट अहिले मात्रै नभएर यसअघि पनि गोतामेले डिम्ब तस्करी गर्न डा. शर्माकोमा युवती पठाउने त्यस वापतले उनले रकम बुझ्ने गरेको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार यो प्रकरणमा पनि डा. शर्माले गोतामलेलाई ५० हजार पठाएकी थिइन् । तर पीडित युवतीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएकी थिइन् ।
आर्थिक प्रलोभन देखाएर किशोरीको डिम्ब झिक्ने प्रकरणमा डा. शर्माको प्रत्यक्ष संलग्नता रहेको भन्दै पीडित १७ वर्षीया किशोरीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी नै दिएकी छिन् ।
तर शर्मा भने अहिलेसम्म पक्राउ परेकी छैनन् । प्रहरी स्रोतका अनुसार उनी अहिले फिलिपिन्स पुगेकी छिन् ।
पीडित परिवारले अनलाइनखबरलाई बताएअनुसार राधिका गोतामे पक्राउ गर्दा डा. शर्मा भने बी एन्ड बी अस्पतालमै थिइन् । ‘हामी आफैंले राधिका गोतामेलाई बी एन्ड बी अस्पतालबाटै पक्राउ गरेका हौं । त्यतिबेला डा. शर्मा त्यही थिइन् । त्यसपछि उनी फरार भएको भन्ने सुन्यौं’ पीडित किशोरीकी आमाले अनलाइनखबरसँग भनिन् ।
पीडित किशोरीलाई सुरुमा साथीले नै डिम्ब झिक्दा केही हुँदैन भन्दै फकाएकी थिइन् । ‘मैले पनि दुई/तीन पटक दिइसके । यो महिना–महिना दिनमा आफैं खेर जाने चिज हो । केही पनि हुँदैन । पैसा पनि आउँछ’ भन्दै साथीले फकाएको पीडित किशोरीको भनाई छ ।
पैसा आउने र केही पनि नहुने बताएर प्रलोभन देखाएपछि किशोरी तयार भएकी थिइन् । त्यसपछि ती किशोरीलाई अहिले पक्राउ परेकी राधिका गोतामेको सम्पर्कमा पुर्याइएको थियो । उनै गोतामेले डा. नुनत शर्माकोमा पुर्याएर डिम्ब निकालेका थिए ।
‘सुरुमा एउटा इन्जेक्सन लगाइयो । त्यसको करिब हप्ता/१० दिनपछि डिम्ब निकालियो’ पीडित किशोरीको भनाइ छ । गत १४ असारमा ती किशोरीबाट डा. नुतन शर्माले डिम्ब झिकेको बताइएको छ । पीडितले डा. नुतनकै यो सबै काम गरेको बताएकी छिन् ।
त्यसपछि भने ती किशोरीको शरीरमा समस्या आएपछि उनले सबै कुरा परिवारलाई बताइन् । किशोरीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरेर उपचार गरियो । अनि मात्रै यो विषय प्रहरीकोमा पुगेको हो ।
अहिले एक जना पक्राउ परे पनि फकाउने साथी र डिम्ब झिक्ने डा. नुतन शर्मा पक्राउ नपरेको गुनासो पीडित परिवारको छ । ‘मुख्य दोषी नै डिम्ब झिक्ने डाक्टर हो भने उनी अहिलेसम्म किन पक्राउ पर्दैनन् ?’ पीडित पक्षको प्रश्न छ ।
यता प्रहरीले भने अनुसन्धानको काम भइरहेको र संलग्नहरूलाई पक्राउ गर्ने दाबी गरेको छ । ‘पीडितले बी एन्ड बी मा लगेर डिम्ब झिकियो भन्नु भएको छ । हामी सबै प्रमाणहरू जुटाएर अनुसन्धानको काम गरिरहेका छौं । जसमा संलग्न तथा दोषी देखिने जो भए पनि पक्राउ पर्छन्’ जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र भन्छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा डा. नुतन शर्मा जोडिएको भन्दै प्रहरीले अनुसन्धान पनि अघि बढाएको छ । तर उनी भने अहिले देश बाहिर रहेकोले अनुसन्धानमा समस्या भएको दाबी प्रहरीको छ ।

डा. शर्मालाई यसअघि पनि लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलले चिकित्सकीय इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेको थियो । उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । अदालतले काउन्सिलको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिएको थिएन ।
नि:सन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि अन्य महिलाको डिम्ब प्रयोग गरिन्छ । यसरी संकलन गरिएको डिम्बलाई आईभीएफमार्फत बच्चाको उत्पादन गरिन्छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८२ को असारमा यस्तै डिम्ब तस्करीमा संलग्नहरूलाई पक्राउ गरेको थियो ।
बबरमहलको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्बको तस्करी भएको भन्दै अनुसन्धानको दायरामा तानिएका थिए ।
पीडित किशोरीहरुलाई ८/१० हजार रुपैयाँ दिने र २० लाखसम्म असुलेर डिम्बको बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो ।
अनुसन्धान सकेर सीआईबीले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा. स्वस्ति शर्मा, प्रत्युषा बराल, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहित सात जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।
तर तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले गत ३० असोजमा यो मुद्दा नचल्ने निर्णय गरेकी थिइन् । प्रतिवादी बनाउन सिफारिस गरिएकी प्रत्युषा भण्डारीकी छोरी हुन् भने स्वस्ति पनि पारिवारिक सदस्य हुन् ।
अवैध रूपमा डिम्ब (अन्डादान) बेचबिखन गरेको तथ्य खुलेपछि सरकारले नयाँ मापदण्ड तयार पारेको थियो । सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ जारी गरेको थियो ।
संविधानले सुनिश्चित गरेको प्रजनन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न र बाँझोपना उपचार सेवामा एकरूपता ल्याउन मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार अधिकार प्रयोग गरी मापदण्ड जारी गरेको हो ।
मापदण्डअनुसार अब डिम्बदान प्रक्रिया निश्चित सीमा, गोपनीयता र स्वास्थ्य सुरक्षासहित गर्नुपर्नेछ । डिम्ब दानसम्बन्धी नयाँ मापदण्डअनुसार एक महिलाले जीवनमा ६ पटकभन्दा बढी डिम्बदान गर्न पाइँदैन ।
हरेक दानबीच कम्तीमा तीन महिनाको फरक हुनुपर्नेछ । डोनरको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने र डिम्बदान गर्नुअघि शारीरिक परीक्षण र प्रयोगशाला जाँचमार्फत सरुवा रोग नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
डिम्बदान गर्ने महिलालाई सो प्रक्रियाबाट तत्काल वा भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्य जटिलताबारे जानकारी दिइनुपर्ने र सुसूचित मञ्जुरी अनिवार्य लिनुपर्ने हुन्छ । तर यहाँ भने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर डिम्ब झिकिएको छ ।
प्रतिक्रिया 4