+
+
Shares

विश्व आदिवासी दिवस खुलामञ्चमा मनाउने तयारी

यो पटकको विश्व आदिवासी दिवस नेपालले मात्र हर्ने नभई विश्वलाई एउटा सन्देश दिने किसिमले तयारी गरिरहेका उपाध्यक्ष तथा प्रचार तथा प्रसार समितिका संयोजक अमृतबहादुर सुनुवारले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आदिवासी जनजाति महासंघले आगामी २४ साउनमा काठमाडौंको खुलामञ्चमा ३२औँ विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ।
  • महासंघका अध्यक्ष निमा ह्योल्मो लामाले कार्यक्रममा ३५ हजार सहभागी गराई आदिवासीको अधिकार र पहिचानलाई सशक्त रूपमा उठाउने जानकारी दिएका छन्।
  • दिवसलाई उत्सव मात्र नभई मौलिक संस्कृति, परम्परागत खाना र आदिवासी जनजातिका अधिकारको आवाज बुलन्द गर्ने अभियानका रूपमा मनाइने महासंघले जनाएको छ।

१० साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी २४ साउनमा काठमाडौंको खुलामञ्चमा मनाउने तयारी तीव्र बनाएको छ ।

महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियानका रूपमा मनाउन लागेको जनाएको छ ।

नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाले खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त आन्दोलनका रूपमा स्थापित गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रमले नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनेछ ।

यो पटकको विश्व आदिवासी दिवस नेपालले मात्र हर्ने नभई विश्वलाई एउटा सन्देश दिने किसिमले तयारी गरिरहेका उपाध्यक्ष तथा प्रचार तथा प्रसार समितिका संयोजक अमृतबहादुर सुनुवारले बताए ।

उनका अनुसार यस पटक आदिवासी दिवस साँस्कृतिक र खानाका परिकारहरूको महोत्सवको रूपमा आयोजना हुने छ।

महासंघका महासचिव विमल सारु मगरले यस वर्ष दिवसलाई नयाँ शैलीमा आयोजना गर्न खुलामञ्च रोजिएको बताए ।

काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै उनले कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यका साथ व्यापक तयारी भइरहेको जानकारी दिए ।

महासंघका अनुसार तयारीलाई प्रभावकारी बनाउन २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समितिहरू, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूहहरू कार्यक्रमको तयारीमा सक्रिय रूपमा जुटेका छन् ।

यस वर्षको विश्व आदिवासी दिवस नेपालका ५६ भन्दा बढी आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैली एकै स्थानमा अवलोकन गर्न सकिने विशेष अवसर बन्नेछ ।

कार्यक्रममा विभिन्न समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री, मौलिक हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री, मौलिक बाजागाजा तथा जीवनशैली झल्काउने प्रदर्शनी गरिनेछ ।

साथै विभिन्न जातीय समुदायका कलाकारहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति मार्फत नेपालको आदिवासी विविधतालाई जीवन्त रूपमा प्रस्तुत गर्नेछन् ।

विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिका मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय र संविधानप्रदत्त अधिकार सम्बन्धी विषयलाई विशेष रूपमा उठाइने नेफिनले जनाएको छ ।

नेपालमा ५९ मान्यता प्राप्त आदिवासी जनजाति समुदाय रहेका छन् । प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, इतिहास, परम्परा, ज्ञान प्रणाली, चाडपर्व, रीतिरिवाज र मौलिक जीवनशैली रहेको छ । यी सम्पदाको संरक्षण र भावी पुस्तामा हस्तान्तरण गर्न विश्व आदिवासी दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?