+
+
Shares

दलीय सहमतिमा काम गर्ने प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको प्रतिबद्धता

मंगलबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचन आयोगको गरिमा जोगाउन राजनीतिक दल, नागरिक समाज र सरोकारवालासँग निष्पक्ष तथा तटस्थ भूमिकामा रही सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
  • वाग्लेले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै निर्वाचनलाई मितव्ययी, पारदर्शी र विश्वसनीय बनाउन सूचना प्रविधिको प्रयोग र मतदाता शिक्षालाई विशेष प्राथमिकता दिने बताए ।
  • विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन आवश्यक कानुनी र प्राविधिक पक्षको अध्ययन गर्दै उपयुक्त मतदान प्रणाली विकास गर्ने विषय उनको प्राथमिकतामा छ ।

१२ साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचन आयोगले राजनीतिक दल, नागरिक समाज, मतदाता तथा अन्य सरोकारवालासँग सहकार्य र सहमतिका आधारमा काम गर्नुपर्ने बताएका छन्।

मंगलबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताएका हुन्।

संसदीय सुनुवाइका क्रममा प्रस्तुत गरिएको प्रतिबद्धतापत्रमा वाग्लेले भने, ‘निर्वाचन सम्वन्धी विषयमा सबै राजनीतिक दल, नागरिक समाज, मतदाता, र अन्य सरोकारवालाहरूसँग निष्पक्ष र तटस्थ भूमिकामा रही कार्यसम्पादन गर्नेछु।’

साथै नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैं प्रतिबद्ध रहने उल्लेख गरेका छन्।

उनले निर्वाचनसम्बन्धी विषयमा सबै राजनीतिक दल, नागरिक समाज, मतदाता तथा अन्य सरोकारवालासँग निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आयोगलाई सक्षम, सुदृढ, निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र भरोसायोग्य संस्थाका रूपमा विकास गर्दै निर्वाचन व्यवस्थापनलाई स्वच्छ, पारदर्शी, विश्वसनीय, मितव्ययी र सर्वस्वीकार्य बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताए।

प्रस्तुतिमा उनले निर्वाचन आयोग संवैधानिक निकाय भएकाले यसको गरिमा र स्वतन्त्रतालाई उच्च सम्मान गर्ने उल्लेख गरेका छन् ।

संविधान र कानुनले तोकेको जिम्मेवारी निष्पक्षता, इमानदारी र उत्तरदायित्वका साथ पूरा गर्ने उनको प्रतिबद्धता छ।

निर्वाचन व्यवस्थापनका सन्दर्भमा वाग्लेले राजनीतिक दलहरूसँग संवाद र सहमतिलाई विशेष महत्व दिने बताएका छन्।

निर्वाचन प्रक्रियामा देखिने समस्या समाधान तथा आवश्यक सुधारका लागि सबै सरोकारवालाको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ।

सुनुवाइ समितिमा उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखेका छन्। यसका लागि अन्तर्राष्ट्रिय अभ्यास, कानुनी व्यवस्था, प्राविधिक क्षमता र आर्थिक पक्षको अध्ययन गर्दै उपयुक्त मतदान प्रणाली विकास गर्नुपर्ने धारणा उनले राखेका छन्।

त्यस्तै, निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विस्तार, मतदाता नामावलीलाई थप अद्यावधिक र विश्वसनीय बनाउने, मतदाता शिक्षा प्रभावकारी बनाउने तथा निर्वाचन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?