+
+
Shares

नेपालमा हुन लागेको तिब्बती अध्ययन सम्मेलन बेइजिङका लागि किन बन्यो टाउको दुखाइ ?

दलाई लामाका प्रतिनिधि सहभागी नहुने

चीनको चासो बढिरहेको सन्दर्भमा निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)ले गत हप्ता आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिजको १७ औँ सम्मेलनलाई लिएर चीनले चासो व्यक्त गरेको छ ।
  • तिब्बती निर्वासित सरकारले औपचारिक रूपमा यस सम्मेलनमा आफ्नो संस्थागत सहभागिता नरहने जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ ।
  • आयोजकले यो सम्मेलन विशुद्ध प्राज्ञिक र गैरराजनीतिक रहेको जनाउँदै भाषा, संस्कृति तथा इतिहासका विषयमा मात्र छलफल हुने प्रष्ट पारेका छन् ।

१३ साउन, काठमाडौं । भदौ पहिलो साता काठमाडौंमा हुन लागेको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) को १७ औं सम्मेलन एउटा संस्थाको प्रतिनिधि सहभागी हुने नहुने भन्ने विषयले चर्चामा छ । चीनले दलाई लामाको निर्वासित सरकारका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने आशंका गरेपछि यो सम्मेलनको चर्चा भएको हो ।

चीनको चासो बढिरहेको सन्दर्भमा निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)ले गत हप्ता आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

‘उहाँहरूबाट उक्त सम्मेलनमा औपचारिक रुपमा सहभागी हुँदैनौं भनेर हामीलाई जानकारी प्राप्त भएको छ,’ परराष्ट्रका एक अधिकारीले अनलाइनखबरसँग भने ।

७ भदौदेखि १३ भदौसम्म चल्ने सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । यो सम्मेलन सबैभन्दा बढी बेइजिङका लागि टाउको दुखाइ बनेको कूटनीतिका जानकारहरू बताउँछन् । खासगरी दलाई लामाका समर्थकहरू सहभागी हुन सक्ने कुराले चीनलाई चिन्तित बनाएको देखिन्छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई ५ साउनमा भेटेर नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले यो विषयमा चासो व्यक्त गरिसकेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

संयोग के छ भने राईलाई माओमिङले भेटेकै दिन भारतको हिमाञ्चल प्रदेशको धर्मशालास्थित सीटीए मुख्यालयले सम्मेलनमा आफ्नो तर्फबाट सहभागी नहुने निर्णय गरेको जानकार स्रोतहरूले बताएका छन् । उनीहरूका अनुसार आयोजकलाई दबाब बिनै सम्मेलन सम्पन्न गर्न सहयोग पुगोस् भनेर सहभागी नपठाएका हुन् ।

तर सीटीएका प्रतिनिधि सहभागी हुनेरनहुने अझै निश्चित नभएको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूबाट औपचारिक रुपमा सहभागी हुँदैनौं भन्ने जानकारी प्राप्त भएको छ । त्यसको मतलब धर्मशालाबाट संस्थागत सहभागिता नहुने भन्ने हुनसक्छ । व्यक्तिगत रूपमा आउँछन् आउँदैनन् अहिल्यै भन्न सकिँदैन ।’

आईएटीएको १७ औं सम्मेलनको स्थानीय आयोजक काठमाडौं विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युट हो ।

आयोजक हिकासका निर्देशक डा. सागरराज शर्मा यो सम्मेलनमा भाषा, संस्कृति, पुरातत्व, कला, साहित्य, समाजशास्त्र, इतिहास, धर्म जस्ता कुरामा मात्र छलफल हुने बताउँछन् ।

उनी भन्छन्, ‘यो विशुद्ध गैरराजनीतिक सम्मेलन हो ।’

पहिलो पटक १९७७ मा स्विट्जरल्यान्डमा भएको यो सम्मेलन, बेलायत, अमेरिका, जर्मनी, जापान, नर्वे, अष्ट्रिया, अमेरिका, नेदरल्यान्ड्स, क्यानडा, मंगोलिया, फ्रान्स र चेक रिपब्लिकामा सम्पन्न भइसकेका छन् । त्यसमध्ये बेलायत, जर्मनी र नर्वेमा दुई–दुई पटक सम्मेलन भएका थिए ।

डा. शर्मा आफूहरू अहिले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रको सार संकलन र वर्गीकरणमा लागेको बताउँछन् । सीटीएका प्रतिनिधि सहभागी नहुने निश्चित भएको हो रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो प्राज्ञिक सम्मेलन हो । हामी एब्सट्याक्ट संकलन र वर्गीकरणमा लागेका छौं । को सहभागी हुन्छ के हुँदैन हामीलाई जानकारी पनि छैन, चासो पनि छैन ।’

सम्मेलनको उद्घाटन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने र बाँकी सत्र सोल्टी होटलमा हुने भएको छ । सहभागीहरूलाई ६ दर्जन समूहमा विभाजन गरेर छलफल गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

चीनका लागि एक जना पूर्व नेपाली राजदूत बेइजिङको चासोलाई अस्वाभाविक मान्दैनन् । नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, ‘एक चीन नीति अपनाएको नेपालमा आफ्नो देश विरोधी कुनै पनि हर्कत नहोस् भनेर चासो राख्नु उसको हिसाबले गलत होइन । नेपालले सबै छिमेकीलाई समान दृष्टिले हेरे पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?