+
+
Shares

रङ्गिबिरङ्गी फूलहरूले सजिएको जलजला (तस्वीरहरू)

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ साउन १७ गते ८:२४
Photo Credit : गोविन सहयात्री

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको जलजला अहिले दुर्लभ बुकी फूलहरूले सजिएर मनमोहक देखिएको छ ।
  • नेपाल सरकारले छनोट गरेको सय गन्तव्यमा समावेश जलजला समुद्री सतहबाट दुई हजार दुई सयदेखि तीन हजार आठ सय मिटर उचाइमा अवस्थित छ ।
  • राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा पर्यटकलाई सहज बनाउन विभिन्न स्थानमा बाटो देखाउने साइनबोर्ड राखेको छ ।

१७ साउन, रोल्पा । रोल्पाको जलजलामा समय अनुसार फरक-फरक दृश्य देखिने गर्दछ । यो समय जलजला दुर्लभ फूलहरूले सजिएको छ ।

जलजला रोल्पाको प्रमुख मध्ये एक पर्यटकीय ठाउँ हो । ठूलो क्षेत्रमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ ।

जलजला समुद्री सतहदेखि २२०० मिटरदेखि ३८०० सय मिटर उचाइमा रहेको छ । जलजला पुग्न विभिन्न मार्गहरू प्रयोग गर्न सकिन्छ ।

हरेक वर्षको बैशाख,जेठ र साउने पूर्णिमाको अवसरमा जलजलामा भव्य पूजा गरिन्छ । पूजामा जिल्लाभित्र मात्र नभई छिमेकी जिल्ला रुकुम, सल्यान, प्युठान, दाङ र बागलुङलगायत अन्य जिल्लाहरू बाट पनि पूजा गर्न र घुम्न आउँछन् ।

जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै सुरु गरेको थियो । जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो ।

अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरूलाई सहज होस् भनेर जलजलामा ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ ।

जलजलामा अहिले फुलेका फूलहरुले झनै सुनदरता थपिदिएको छ । हाल यहाँको जमिन कपासमा टेके जस्तो लाग्ने, पानी नै पानीले भरिएको जस्तो महसुस गर्न सकिन्छ । अगाडि निलो आकाशमुनि हरिया साना थुम्काहरू देखिन्छन् ।

जलजलाको अर्को आकर्षण भनेको सेतो गुराँस हो । जलजलामा घोरल, थार,मृग, बँदेल, भालु जस्ता जङ्गली जनावरसमेत पाइने गर्दछ । साथै धुपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति तथा थुप्रै जडीबुटीसमेत पाइन्छ ।

यस्तै डाँफे, मुनाल, कालिज, बाघ, भालुलगायत पक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ । युद्ध कालदेखि नै जलजलामा बस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ ।

जलजलाको आफ्नै पहिचान र ऐतिहासिकता बोकेको छ । यसको दृश्य शब्द र तस्वीरले मात्रै वर्णन हुँदैन । महिनैपिच्छे जलजलाको फरक-फरक दृश्यावलोकन गर्न सकिन्छ । फागुन, चैत, वैशाखमा लाली गुराँसले ढकमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिदिन्छ । असार, साउन, भदौ र असोज महिनामा दुर्लभ फूलहरूले सिँगारिन्छ ।

जलजला अहिले सयौं बुकी फूलहरूले सजिएको छ । फूलमा रमाएका चराहरूको चिरबिर आवाजले जलजला गुञ्जायमान छ।

तस्वीरहरु : गोविन सहयात्री

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?