+
+
Shares

राजविराज र बोदेबरसाईनबाट कर्फ्यू हट्यो, निषेधाज्ञा भने कायमै

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन १७ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ ।
  • कर्फ्यू हटाइएपछि शान्ति-सुरक्षा कायम राख्न प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा जारी राखेको छ ।
  • प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस वा प्रदर्शन गर्न नपाइने बताए ।

१७ साउन, सप्तरी । सप्तरीको राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाए पनि शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा भने यथावत् राखेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले गत बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिका क्षेत्रमा र शुक्रबार बिहान ८ बजेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा अवधिमा पाँच जना वा सोभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको उनले बताए ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन तथा जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निषेधाज्ञा कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले सबैलाई संयमित रहन, कानुनको पालना गर्न तथा अफवाह फैलाउने वा सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?