+
+
Shares

मानिस मृत्यु होइन, पीडाबाट छुट्कारा चाहन्छ

जीवनका चुनौतीहरूसँग धैर्यपूर्वक लड्नु, विवेक र योगका माध्यमबाट मनलाई वशमा राख्नु नै पूर्वीय जीवन दर्शनको वास्तविक सन्देश हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानसिक र भावनात्मक सन्तुलन गुमेको अवस्थामा पीडाबाट मुक्त हुने विकल्पको रुपमा मानिसले आत्म‍*हत्याको बाटो रोज्ने मनोवैज्ञानिकहरूको भनाइ छ ।
  • आत्म*हत्या रोकथामका लागि मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रुपमा गाउँसम्म पुर्‍याउनुपर्ने र ११६६ हेल्पलाइनको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ ।

‘श्वास रहेसम्म आश रहन्छ’ भन्ने लोकोक्ति नेपाली समाजमा निकै चर्चित छ । गहिरो अर्थ लुकेको यो पंक्तिले परिस्थितिसँग हार नमानी अघि बढ्नु नै मानव अस्तित्वको वास्तविक सौन्दर्य मान्दछ । यही सुन्दर पक्षलाई यो लोकोक्तिले पनि जीवन्त बनाइदिएको छ ।

जीवन छ र त सम्भावना छ । समस्या, जटिलता, दुःख, भय, रोग, शोक मात्रै होइन, जीवनमा खुसी, आनन्द पनि छ भन्ने कुराको तत्वबोध रहेसम्म मानिस अन्तिम क्षणसम्म संघर्ष गरेरै भएपनि बाँच्न चाहन्छ, बाँचिरहन्छ ।

आत्महत्या र यसको कारण

हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार हरेक बर्ष झण्डै ७ हजार मानिसले आत्महत्या गर्ने गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सन् २०२५ को तथ्यांक अनुसार संसारमा १ वर्षमा झण्डै ७ लाखबढी मानिसले आत्महत्या गरेका छन्।

नेपाल प्रहरीले २०८१ मा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी गरेको अध्ययनले आत्महत्याबाट बढी प्रभावित हुनेमा विपन्न र मध्यम वर्ग ८५ प्रतिशत रहेको देखाएको छ ।

मानिसले मर्ने इच्छा राख्नुमा मानसिक कारण मात्र हुँदैनन्, त्यहाँ भावनात्मक, सामाजिक, आर्थिक लगायतका थुप्रै कारणहरू हुन्छन् । सामान्य अर्थमा भन्ने हो भने मानिसको जीवनमा अनेक समस्या वा पीडा आउँछन् । जसलाई मानिसले सहजै स्वीकार गर्न सक्दैन । त्यस्ता पीडाबाट बाहिर निस्कने उपाय भेट्टाउँदैन । त्यसपछि उसमा गम्भीर डिप्रेसन अर्थात् निराशा, रित्तोपना र असहायताको भावना पैदा हुन्छ । बाइपोलार डिसअर्डर, एन्जाइटी, सिजोफेनिया, पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्ता मानसिक विकारहरूका कारण मानिसको सोच्ने र निर्णय गर्ने क्षमतामा गम्भीर असर पार्दछ ।

आधुनिक सुसाइडोलोजीका पिता अमेरिकी मनोवैज्ञानिक एड्विन श्नाइडम्यानका अनुसार ‘अस्थायी समस्याको स्थायी समाधान खोज्ने व्यवहार नै आत्महत्या हो ।’ मनोवैज्ञानिक दृष्टिले आत्महत्या कुनै इच्छा वा रोजाइ होइन, यो त मानसिक र भावनात्मक सन्तुलन गुमेको क्षणमा विवेकले काम गर्न छोड्दा हुने स्थिति हो ।

उनै मनोवैज्ञानिक एड्विनले प्रतिपादन गरेको ‘साइकाचे’ सिद्धान्त अनुसार मानिसले लाज, अपराधबोध, निराशा, डर वा ठूलो क्षतिबाट उत्पन्न मानसिक पीडा सहन सक्ने सीमा पार गर्छ अनि उसले यो पीडाबाट मुक्त हुने एउटै मात्र बाटो देख्छ, त्यो हो मृत्यु । मानिस मर्नका लागि होइन, बरू उसले आफ्नो असह्य पीडा रोक्नका लागि आत्महत्याको बाटो रोज्दछ ।

मनोवैज्ञानिक थमस जोइनरका अनुसार तीनवटा अवस्था एकैपटक आएपछि मानिसले आत्महत्याको बाटो रोज्दछ । आफू बोझ भएको महसुस भएपछि, समाज तथा सम्बन्धबाट अलग भएको लागेपछि र डर वा पीडा सहने क्षमतामा कमी भएपछि यी तीनवटै कुराको संगमको परिणाम नै आत्महत्या हो ।

‘म अरुका लागि समस्या वा बोझ मात्र हुँ’, ‘म एक्लो छु, कसैले मलाई बुझ्दैन र माया गर्दैन’ भन्ने विचारले मानिसलाई आत्महत्याको व्यवहारतर्फ उन्मुख गराउँदछ ।

यस्तो अवस्थामा मानिसको सोच्ने दायरा एउटा अँध्यारो सुरुङजस्तै संकुचित हुन थाल्छ । जसले जीवनका अन्य विकल्प, समाधान वा आशाका किरणहरू देख्नै सक्दैन । उसमा देखिने अपरिवर्तनीय सोच र आशाहिनताले अन्तमा उसलाई आत्महत्यातर्फ डोर्‍याउँछ ।

कुनै एउटा विषय वा समस्याले मात्र मानिस यस्तो अवस्थामा पुग्न सक्दैन । प्रेम सम्बन्ध वा वैवाहिक जीवन टुट्नु, अत्यन्तै भावनात्मक सम्बन्ध जोडिएको व्यक्तिको मृत्यु हुनु वा गुमाउनु, आफ्नो बुताभन्दा धेरै माथिको ठूलो आर्थिक नोक्सानी व्यहोर्नु जस्ता कुराले मानिस गहिरो पीडामा पर्छ । त्यस्तै निरन्तर गर्दै आएको रोजगारी छुट्नु मात्र होइन बाल्यकालदेखिको आधातजन्य घट्ना, शारीरिक, मानसिक वा यौन हिंसाको शिकार हुने अवस्थाले पनि मानिस गम्भीर चिन्तामा पुग्दछ ।

कुनै निको हुन नसक्ने रोग र त्यसले निम्त्याउने कष्ट सहन गर्ने सामर्थ नहुँदा वा आत्मनियन्त्रण कमजोर बनाउने खालका लागुऔषध एवं मादक पदार्थको निरन्तर सेवनका कारण पनि मानिस आइसोलेटेड अर्थात् एक्लोपनको महसुस गर्न थाल्दछ । जसले आत्महत्यातर्फ डोर्‍याउँछ ।

आत्महत्या : अज्ञानता र महापाप

पूर्वीय दर्शनले मानव शरीरलाई कर्म भोग्ने र मोक्ष प्राप्त गर्ने मुख्य दुई माध्यमका रूपमा मानेको छ । कर्मसिद्धान्त अनुसार मानिसले पूर्वजन्मको कर्मको फल भोग्न यो शरीर पाएको हुन्छ । चाहे त्यो दुःख होस् या सुख । आत्महत्या गर्नाले ती कर्महरू नष्ट हुँदैनन् बरु बाँकी नै रहन्छन् र अर्को जन्ममा अझ बढी दुःखका रुपमा भोग्नुपर्ने पूर्वीय दर्शनको मान्यता छ । त्यसैले, पूर्वीय दर्शनले आत्महत्यालाई अज्ञानता र महापाप मानेको छ।

ईशावास्योपनिषद्को तेस्रो श्लोकमा भनिएको छ:-

‘असुर्या नाम ते लोका अन्धेन तमसावृताः ।
ताँस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः।।’

अर्थात् जसले आफ्नो शरीरको हत्या गर्छन्, उनीहरू मृत्युपछि घोर अन्धकारमय र कृष्टदायक लोक (असुर लोक)मा जान्छन् ।

जबकि वेदले ‘जिजीविषेच्छतं समाः’ अर्थात् ‘१०० वर्षसम्म जिउने इच्छा गर’ भनेको छ । किनकी ईश्वरको उपहारस्वरुप प्राप्त जीवनलाई नष्ट गर्नु अधर्म मानिएको छ । प्राचीन स्मृति ग्रन्थ मनुस्मृतिले आत्महत्या गर्ने व्यक्तिले प्राकृतिक नियम तोडेको मान्दै उसको अन्त्येष्टि वा तर्पण गर्न पूर्णतः निषेध समेत गरेको छ ।

तर, पूर्वीय दर्शनले इच्छा मृत्यु अर्थात् समाधीको व्याख्या पनि गरेको छ । योग साधनाद्धारा प्रणलाई नियन्त्रण गरी परमात्मामा लीन हुनुलाई भने मोक्ष प्राप्ति मानेको छ । जीवनका सबै कर्तव्य पूरा भइसकेका व्यक्तिले आमरण अनसन बसेर वा अन्न जल त्यागेर शान्तपूर्वक देहत्याग गर्नुलाई मोक्ष प्राप्तिका रुपमा व्याख्या गरेको छ ।

रामायणकालमा श्रीरामले आफ्नो कार्य समाप्त भएपछि सरयू नदीमा जलसमाधि लिएका थिए भने सीताजीले पृथ्वीमा समाहित भएर देहत्याग गरेकि थिइन् । त्यस्तै महाभारतकालमा पाण्डवहरूले आफ्नो शासन र कर्तव्य पूरा भएपछि स–शरीर हिउँमा गलेर देहत्याग गर्ने यात्रा गरेका थिए ।

भगवान गौतम बुद्धले आत्महत्याको कडा विरोध गरेका थिए । उनले तृष्णा र दुःखबाट छुटकारा पाउन देहत्याग गर्नुको साटो ‘आर्य अष्टाङ्ग मार्ग’ अपनाउन मनुष्यलाई दिशाबोध गराएका छन् ।

जीवनका चुनौतीहरूसँग धैर्यपूर्वक लड्नु, विवेक र योगका माध्यमबाट मनलाई वशमा राख्नु नै पूर्वीय जीवन दर्शनको वास्तविक सन्देश हो ।

अब के गर्ने ?

आत्महत्याको सोच आउनु व्यक्तिगत कमजोरी वा असफलता होइन । बरु उपचार वा परामर्श चाहिने गम्भीर मानसिक संकटको संकेत हो । यस्तो अवस्थामा उचित उपचार, परामर्श वा आफन्तको सहयोग पाउने हो भने मानिस आत्महत्या गर्ने जस्तो गम्भीर अवस्थामा पुग्नै पाउँदैन ।

मानिसले आत्महत्या प्रयास गर्नुअघि प्रायः संकेत दिने गर्छन् । पारिवारिक, सामाजिक तथा व्यवहारिक रूपमा उनीहरू एक्लिन थाल्छन् । यस्तो अवस्थाबारे जानकारी हुने वित्तिकै उसको तनावलाई निर्धक्क भएर प्रस्तुत गर्ने वातावरण तयार गर्नुपर्दछ । यसरी पीडा वा तनाव सुनेपछि उनीहरूलाई उपदेश दिने होइन, बरू उनीहरूका कुरा ध्यानपूर्वक सुनिदिने, स्वीकार्ने र सहानुभुतिपूर्वक साथ दिनुपर्दछ ।

मानसिक स्वास्थ्य समस्या भोगिरहेकाहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक छ । अन्य शारीरिक समस्यालाई जस्तै मानसिक समस्यालाई पनि एउटा अवस्थाका रूपमा बुझेर सोही अनुरुपको व्यवहार गर्नुपर्दछ ।

परिवारभित्र नियमित रुपमा छलफल गर्ने र नयाँ–नयाँ निर्णय लिनुपूर्व पर्याप्त गृहकार्य तथा पारिवारिक छलफल गरेर मात्रै कार्यान्वयनमा जाने बानी बसाउन सके तनावको अवस्थामा पारिवारिक सहयोग र साथ प्राप्त गर्न सहज हुनेछ ।

समाजमा विभिन्न समूह, सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, सामाजिक कार्यकर्ताहरूलगायतलाई मानसिक स्वास्थ्य समस्या, यसको पहिचान र निदानका उपायहरूबारे जिम्मेवार बनाउन सके आत्महत्यामा कमी आउने निश्चित छ ।

सञ्चारमाध्यमले पनि आत्महत्याका घट्नाको रिपोर्टिङ गर्दा सनसनीपूर्ण बनाउँदा तिनै विवरणलाई अनुकरण गर्दै आत्महत्याका घट्ना झन् बढ्न सक्छन् । त्यसैले यस्ता विषयमा रिपोर्टिङ गर्दा संवेदनशिलता अपनाउने र समाचारको अन्त्यमा हेल्पलाइन नम्बरहरू समेत उल्लेख गरिदिँदा घट्नामा कमी एवं सजगता आउन सक्दछ ।

सरकारले पनि मानसिक स्वास्थ्य सेवालाई आधारभुत स्वास्थ्य सेवाका रुपमा कार्यान्वयन गर्दै गाउँगाउँका स्वास्थ्य चौकीहरूमा प्राथमिक मानसिक स्वास्थ्य परामर्श र औषधिहरू निःशुल्क उपलब्ध गराउनुपर्दछ । यो सँगै आत्महत्या रोकथामका लागि सञ्चालित ११६६ हेल्पलाइन नम्बरलाई अझ आमजनमानसमा पुर्‍याउन व्यापक प्रचार प्रसार गर्नुपर्दछ ।

मानिसलाई प्रकृति, ध्यान, योगसँग जोड्नका लागि स्थानीय सरकारले यसप्रति बढी सजगता अपनाउनु पर्दछ । दैनिक अनिवार्य कर्म मान्दै यसलाई बानीमा विकास गर्न सकियो भने मानिसका सोच, विचार र भावनामा आउने विकार तत्वलाई केही हदसम्म सुरुमै फिल्टर गर्न सकिन्छ ।

यदि कुनै विषयले आफूलाई आत्मग्लानी हुन्छ भने त्यस्ता विषयको निर्मम आत्मसमीक्षा गर्दै त्यसभित्रका सबल र सकारात्मक पक्षलाई केलाउन सक्ने क्षमता आफूमै विकास गर्न सके त झनै राम्रो कुरा हो ।

आशा र विश्वास जगाउने खालको अवस्था र सकारात्मक सोच बोकेकाहरूसँगको निरन्तरको संगत, सहकार्य र सम्बन्धले मानिस सामान्य अवस्थामा फर्किन सक्दछ । सँधै भेटिरहने व्यक्तिको हाउभाउ बुझ्न कठिन हुँदैन ।

यदि यस्तो परिवर्तन देखिएको छ भने उसलाई शान्त र सहज ठाउँमा लगेर उसका व्यथालाई सुनिदिने, ढाडस दिने र ती समस्याबाट बाहिर निस्किने उपायहरू देखाइदिन मात्र सकियो भने हामी प्रत्येक नागरिकले आत्महत्या नियन्त्रण गर्न सक्दछौं ।

(लेखक भण्डारीले डेढ दशकदेखि मनोविद्का रुपमा परामर्श दिँदै  आएकी छिन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?