+
+
Shares

के बीपीपुत्रलाई अघि सारेर कोरिंदैछ कांग्रेसको विभाजन रेखा ?

विगतमा १५औं महाधिवेशन केन्द्रित छलफल हुँदा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला लगायतका नेताहरूले सभापतिको प्रत्यासी आफू हुन नसकेको अवस्थामा सबैका लागि दोस्रो रोजाइमा शशांक कोइराला थिए ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ साउन १७ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालालाई समूहको सर्वोच्च नेता र राष्ट्रिय भेलाको मूल आयोजक समितिको संयोजकका रूपमा अघि सारेको छ ।
  • विमलेन्द्र निधिले कोइरालालाई सर्वसम्मतिबाट समूहको नेता चयन गरिएको र यसले समूहभित्रको नेतृत्वसम्बन्धी सबै अड्कलबाजी समाप्त पारेको बताएका छन् ।
  • साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेलाले पार्टीलाई अघि बढाउने र नयाँ दल गठन गर्ने/नगर्नेबारे महत्वपूर्ण निर्णय लिने भएको छ ।

१७ साउन, काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहमा शेरबहादुर देउवापछि को भन्ने आन्तरिक खिचातानी शनिबारदेखि अन्त्य भएको छ ।

संस्थापनइतरले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शीर्ष नेताहरू सहितको पत्रकार सम्मेलन गरेर पूर्व महामन्त्री डा.शशांक कोइरालालाई समूहको सर्वोच्च नेताको रूपमा अघि सारेकाे छ । संस्थापनइतरले गर्ने राष्ट्रिय भेलाको अध्यक्षता गर्ने गरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र समेत रहेका डा. कोइराला मूल आयोजक समितिको संयोजक बनेका हुन् ।

पूर्वसभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट अलग रहेदेखि पूर्वसंस्थापन पक्षको अगुवाइ पूर्व उपसभापति पूर्णबहादुर खड्काले गर्दै आएका थिए ।

संस्थापनइतरको बैठक आह्वान गर्ने, अदालती प्रक्रियामा जाने एवं राष्ट्रिय भेलाको मिति तय गर्ने कार्य पूर्व उपसभापति खड्काकै नेतृत्वमा भएको थियो ।

शनिबारदेखि संस्थापनइतरले औपचारिक रूपमा डा. कोइरालालाई समूहको मूल नेता तय गरेको छ । समूहको नेतृत्व प्राप्त गरेसँगै विगतमा समूहको अगुवाइ गर्ने खड्काको जिम्मेवारी अब कोइरालामा सरेको छ ।

त्यसो त समूहको मूल नेतृत्व घोषणा गर्दा पूर्वउपसभापति खड्का र नेता डा. शेखर कोइराला उपस्थित भएनन् । राष्ट्रिय भेलाका लागि गठित प्रचार प्रचार समितिका संयोजक मीन विश्वकर्माका अनुसार पूर्वउपसभापति खड्का बिरामी भएका कारणले मूल आयोजक समिति घोषणा कार्यक्रममा सहभागी हुन नसकेका हुन् ।

अर्का शेखर काठमाडौं बाहिर रहेको कारणले उपस्थित हुन नसकेको मूल आयोजक समितिका संयोजक कोइरालाले जानकारी गराएका छन् ।

पार्टीभित्र नयाँ परिस्थिति निर्माण नभएको भए १५औं महाधिवेशन समूहबाट सभापतिको उम्मेदवारको आकांक्षी रहेका सबै नेताहरू डा.कोइरालालाई हालका लागि संस्थापनइतरको मूल नेता स्वीकार्न तयार भएका छन् ।

१५ औं महाधिवेशनमा पूर्वपदाधिकारीको छुट्टै प्यानल बनाउने गरी पटक-पटक संवाद गरिरहेका नेताहरू कोइरालालाई हालका लागि समूहको नेता बनाउन सहमत भएका छन् ।

जेनजी आन्दोलन अघि १५ औं महाधिवेशनकेन्द्रित छलफलमा पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत लगायतले पटक-पटक छलफल गरेका थिए । जेनजी आन्दोलन पछि विकसित नयाँ घटनाक्रमले कांग्रेसभित्र नयाँ परिवेश सिर्जना गर्‍यो । यी नेताहरू मध्ये गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा लागे । अन्य नेताहरू विशेष महाधिवशेनको विरोधमा रहे ।

विशेष महाधिवेशनको विपक्षमा रहेका र १५ औं महाधिवेशनका लागि भन्दै पूर्व पदाधिकारीको छुट्टै प्यानल बनाउन कसरत गरिरहेका नेताहरू उक्त समूहको मूल नेता डा. कोइरालालाई बनाउन सहमत भएका छन् ।

संस्थापनइतरको मूल नेतामा डा. कोइरालालाई बनाउन सर्वसम्मत भएको नेता विमलेन्द्र निधिले जानकारी गराए । ‘उहाँलाई सर्वसम्मतिबाट हाम्रो संयोजक र लिडर बनाएका छौं । हाम्रो समूहको नेता चुन्यौं’ निधिले भने, ‘कसको नेतृत्वमा यो समूह छ भन्ने हुन्थ्यो । पाँच जना, छ जना, १० जना मध्ये यिनीहरूको नेतृत्व भनिन्थ्यो । यिनीहरूको एकता नै छैन भनिन्थ्यो । आजदेखि त्यो अड्कलबाजीहरू समाप्त भएको छ ।’ विशेष महाधिवेशनमा भाग नलिने समूहको नेता सार्वजनिक गरिएको निधिले बताए ।

पूर्वसभापति देउवा समूहमा उनीपछि आफू नै उक्त पक्षको नेता हुने दाबी गर्दै आएका नेताहरूले डा. शशांकलाई मूल नेतृत्व स्वीकार्न तयार कसरी भए होला ? चासोपूर्वक हेरिएको छ ।

१३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री डा. कोइराला कम बोल्ने र अरुलाई नचिढ्याउने नेताका रूपमा परिचित छन् । उक्त समूहका नेताहरू निधि, सिटौला, प्रकाशमान महाधिवेशनमा एकपटक परीक्षण भइसकेका पनि हुन् । १३ औं महाधिवेशनमा सभापतिमा पराजित सिटौलाले दोस्रो चरणमा देउवालाई साथ दिए भने १५ औंमा निधि र प्रकाशमानले दोस्रो चरणमा उनै देउवालाई समर्थन गरे ।

विगतमा १५ औं महाधिवेशन केन्द्रित छलफल हुँदा यी नेताहरूले सभापतिको प्रत्यासी आफू हुन नसकेको अवस्थामा सबैका लागि दोस्रो रोजाइमा उनै शशांक थिए ।

संस्थापनइतरका एक नेताले अनलाइनखबरसँग भने,‘त्यसबेला नेताहरू छलफल गर्दा यो समूहबाट सभापति उम्मेदवारमा आफ्नो नाममा सहमति जुट्न नसके दोस्रो व्यक्ति सबैले डा.शशांकका पक्षमा देखिएका हुन् । अहिले अन्तरिमकालका लागि उहाँलाई मूल नेतृत्व बनाउन सबै सहमत भए ।’

पूर्वपदाधिकारी र शीर्ष नेताहरूको आपसी समझदारी बनेको र कोइराला स्वच्छ छविको नेता भएको हुँदा समूहको मूल नेता बनाइएको राष्ट्रिय भेलाको प्रचार-प्रसार समितिका संयोजक विश्वकर्मा बताउँछन् ।

साउन २९ देखि ३१ गतेसम्म हुने गरी संस्थापनइतरले राष्ट्रिय भेला बोलाएको छ । त्यो भेलाको उद्घाटनदेखि प्रतिवेदन माथि हुने बहसको अध्यक्षता कोइरालाले गर्ने भएका छन् ।

संस्थापनइतरले नयाँ दल गठन गर्ने/नगर्ने निर्णय पनि राष्ट्रिय भेलाबाट लिने भएको छ । संस्थापनले बेवास्ता गरेको भन्दै कतिपय संस्थापनइतरका नेताहरूले छुट्टै दल गठन गर्नुपर्ने मत राखेका छन् ।

भेलाको प्रचारप्रसार समितिका संयोजक विश्वकर्मा राष्ट्रिय भेला मार्फत पार्टीलाई थप अघि कसरी बढाउने जिम्मेवारी अब कोइरालाको काँधमा आएको बताउँछन् ।

विश्वकर्माले अनलाइनखबरसँग भने,‘हाम्रो चुनदेवी सम्पर्कबाट हुने राष्ट्रिय भेला आयोजक समितिको नेता उहाँ हो । अब उहाँले ड्राइभ गरेर कहाँ पुर्‍याउनु हुन्छ । कहाँ लानु हुन्छ र हलले के भन्छ त्यही अनुसार हुन्छ ।’

संस्थापनइतरका अर्का नेता गुरु बराल भेलाको दोस्रो दिनसम्म संस्थापन पक्षलाई भेलाको दोस्रो दिन (साउन ३० गते) सम्म पनि सहमतिको प्रयास गरिने जानकारी गराए । संस्थापनले अर्को पक्षलाई बेवास्ता गरे भेलाबाट नयाँ परिस्थिति बन्नसक्ने बताए ।

बराल भन्छन्,‘हामी अर्को पार्टी बनाउने मनस्थितिमा ३० गतेसम्म हुँदैनौं । नेतृत्व गरेर बस्ने बसेका साथीहरू बेवास्ता गरिरहे भेलाले के निर्णय गर्ने त्यतिखेरको कुरा हो ।’

डा. कोइरालालाई समूहको नेता बनाउन सबै नेताहरू यतिबेला राजी भएको विषयलाई देशमा पछिल्लो घटनाक्रमसँग पनि जोडेर हेरिएको छ ।

नेता कोइरालाले संविधानले व्यवस्था गरेको धर्म निरपेक्षताबारे फरक मत राख्दैआएका छन् । धर्म सापेक्ष र निरपेक्ष नहुने उनको दाबी छ ।

धर्म स्वतन्त्र हुने भन्दै कोइरालाले संविधानमा नेपाल धार्मिक स्वतन्त्रतासहितको राष्ट्र हुनुपर्ने विचार राख्दै आएका छन् ।

धर्मसँग जाडिएको विषयले मुलुक तातिरहेको बेला एकपक्षको सहानुभूति लिने गरी कोइरालालाई संस्थापनइतरले मूल नेता बनाएको विश्लेषण पनि भएको छ ।

उक्त विश्लेषणमा सत्यता नरहेको भेलाको प्रचार-प्रसार समितिका संयोजक विश्वकर्मा बताउँछन् । ‘नेपाली कांग्रेसको विधान र मुलुकको संविधानभित्र रहेर कांग्रेसको नेतृत्व गर्नसक्ने सांगठनिक नेतृत्व भनेर हामीले छानेको हो’ विश्वकर्मा भन्छन्, ‘उहाँको व्यक्तिगत आकांक्षाका आधारमा उहाँ संयोजक बन्नुभएको होइन ।’

नेताहरूका अनुसार कोइराला परिवारका नेताहरूलाई एकत्रित गर्ने उद्देश्यले पनि डा. शशांकलाई अघि सारिएको हो । यद्यपि, राष्ट्रिय भेलाको मिति घोषणा गर्ने दिनमा उपस्थित भएका नेता कोइराला संयोजकमा शशांक बनाएको सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएनन् । शेखरलाई फोन सम्पर्क गरेको र आफ्नो सहमति रहेको जानकारी गराएको पत्रकारलाई शशांकले बताएका थिए । सुजाता कोइराला भने विशेष महाधिवेशनबाट आएको नेतृत्वको समितिमा केन्द्रीय सदस्य बनेकी छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?