News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्जमा साताअघि सुरु भएको धार्मिक तनावका कारण बजार र जनजीवन अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।
- आइतबार एक महिलामाथि भएको आक्रमणको घटनाले स्थानीयमा त्रास बढाएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति कायम छ ।
- गृहमन्त्री सुधन गुरुङसँगको सातबुँदे सहमति भए पनि दोषीमाथि कारबाही प्रक्रिया अघि नबढ्दा स्थानीयहरू सामाजिक सम्बन्ध सुधार हुनेमा सशंकित छन् ।
१७ साउन, कप्तानगञ्ज (सुनसरी) । गृहमन्त्री सुधन गुरुङ आए र गए । तर धार्मिक रङ दिएर तनाव मच्चाइएको एक साता बित्दा कप्तानगञ्ज लयमा फर्किन सकेको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपदले चौबीसै घन्टा पहरा दिँदा पनि गाउँमा अझै अशान्तिको गहिरो आभास छ ।
बन्दुक मात्रैले शान्ति आउँदैन भन्ने प्रष्ट प्रमाण देखियो आइतबार बिहान साढे ११ बजे । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा पर्ने यो कप्तानगञ्ज बजार झट्ट हेर्दा शान्त थियो । राति परेको पानीले सडकको खरानी बगाएका कारण सडक केही सफा लाग्थे ।
शुक्रबारसम्म डढेका टायर र सवारीका फोहर अनि नमिठो गन्ध सबै त्यहीँ गुम्सिए जस्तो थियो । बजारका बन्द सटर र टहरा अगाडि राखिएका बेन्चमा गाउँलेको सानोसानो समूह थियो । बजार-पसल ८ दिनदेखि बन्द छन् । चर्को घाममा टहराको छहारीमा सुरक्षाकर्मी थिए ।
शान्त देखिएको श्रीराम चोकमा त्यही बेला एउटा मोटरसाइकल हुइँकिएर आयो । मोटरसाइकलमा अर्धचेत अवस्थामा देवानगञ्ज-४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता थिइन् । हतारहतार उनलाई क्लिनिकमा राखियो । उनको टाउकोमा घाँस काट्न गएका बेला गुलेलीले हानेको निशान थियो ।
लगत्तै गाउँले भेला भए, टोलका महिला अझै अत्याचार गर्ने भन्दै चर्को स्वरमा कराउन थाले । उनीहरूको आक्रोश अर्को समुदायले गुलेलीले हान्यो भन्ने थियो । तर गुलेली हान्ने व्यक्ति को हुन् भन्ने पहिचान भइसकेको थिएन ।

चोकमा चहलपहल भएपछि छहारीमा ओत लागेर बसेका सशस्त्र र नेपाल प्रहरी सडकमा आए । फलैँचा र गाडीमा बसेका सैनिक पनि सडकमा पोजिसन लिएर उभिए ।
केही समय श्रीराम चोकको अवस्था असान्त बन्यो । नाराबाजी भयो । गाउँपालिका अध्यक्ष बेचन मेहता आएपछि एम्बुलेन्स बोलाएर महिलालाई न्यूरो अस्पताल पठाइयो । सुरक्षा सतर्कता बढाएपछि आन्दोलनकारी शान्त भए ।
आइतबार दिउँसो बजारको अवस्था सुरक्षा तैनाथीको बलमा शान्त गरिए पनि दीर्घकालीन होइन । गत आइतबार राति साढे १० बजे प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएपछि सुरु भएको विवाद शुक्रबार रातिदेखि साम्य जस्तो देखिए पनि सुरक्षा तैनाथी घटेको छैन । विरोध प्रदर्शन नभए पनि स्थानीय नागरिकमा त्रास उस्तै छ ।
एउटा समुदाय चोकसम्म पुगेर प्रदर्शन गर्छ । चोकदेखि १०० मिटर दक्षिण रहेको अर्को समुदाय चोकसम्म आउन सकेको छैन । सदियौंदेखिको आत्मीय सम्बन्ध भएका साथीलाई भेट्न चोक र बजारसम्म जान नपाएको कप्तानगञ्जका जाबिर आलम बताउँछन् ।
‘दोषी जो हो उसलाई कडा कारबाही हुनुपर्छ,’ स्थानीय युवा आलमले भने, ‘हाम्रो त गाँस-बासको सम्बन्ध छ, त्यो सम्बन्ध सम्बन्ध सुधार गर्न चाहन्छौं ।’
स्थानीय युवा विजय मेहताका अनुसार दुवै पक्ष सामाजिक सद्भाव कायम गर्दै मिलेर अघि बढ्न चाहान्छ । तर बेलाबेला हुने उच्शृंखल गतिविधिले समुदायको सम्बन्धमा असर गरिरहेको छ ।
आइतबार महिलालाई गुलेलीले हानेको घटनाले संग्लिदै गरेको सामाजिक सम्बन्धलाई पुन: धुमिल बनायो । ‘यस्तो अपराधिक कार्य गर्ने जोकोही होस् कारबाही हुनुपर्छ,’ स्थानीय हजरत मन्सुरी भन्छन्, ‘दोषीलाई कारबाही होस्, हामी पहिले जस्तै सम्बन्ध चाहन्छौं ।’

मन्सुरी खसीबोका व्यापारी हुन् । गाउँमा खसीबोका संकलन गरी विराटनगरका बजारमा ल्याएर बिक्री गर्छन् । सात दिनदेखि उनी घरबाट निस्कन पाएका छैनन् । न त राम्रोसँग सुत्न पाएका छन् न चोकसम्म पुग्न नै पाएका छन् ।
‘हाम्रो परिवार हिन्दु समाजसँगको व्यापारिक सम्बन्धको कारणले चलेको छ । सात दिन भयो, चोकसम्म जान सकेको छैन,’ उनले भने, ‘साथीभाइसँग बोल्न र भेट्न पाएको छैन, काम गर्न पाएको छैन ।’
झडपमा छोरा ओमप्रकाश मेहता गुमाएका बुवा कृष्णदेव पनि सामाजिक सम्बन्ध सुधारिएको हेर्न चाहन्छन् । हाम्रो टिम उनको घरमा पुग्दा सिंगो परिवार र नातागोता विक्षिप्त हालतमा देखिन्थे । छोराको काममा रहेका उनी दोषीलाई कारबाही गरी सामाजिक सम्बन्ध पुरानै अवस्थामा फर्किएको हेर्ने चाहन्छन् । फेरि कसैले आफ्नो सन्तान गुमाउन नपरोस् भन्ने उनको चाहना छ ।

स्थानीय रामनारायण मेहता सामाजिक सम्बन्ध सुधारका लागि खासै पहल भएको देख्दैनन् । गृहमन्त्री सुधन गुरुङले पीडित परिवारससँग सात बुँदे सहमति गरे पनि दोषीमाथि कारबाहीको प्रक्रिया अघि नबढेको उनी बताउँछन् ।
त्यस बाहेक सामाजिक सम्बन्ध सुधारका लागि पनि पहल गर्नुपर्ने उनले बताए । ‘अहिलेको पहल राम्रोसँग भयो भने दोषीहरूमाथि कारबाही हुन्छ,’ उनले भने, ‘दोषीलाई समातेर कारबाही गरेन भने उसले झन् उत्पात गर्छ ।’
देवानगञ्ज क्षेत्रमा खटिएका कतिपय सुरक्षाकर्मीको बुझाइमा गृहमन्त्री सुधन गुरुङ आएपछि स्थानीयमा केही सकारात्मक प्रभाव परेको छ । तर यही आगमन समयमै भइदिएको भए सुनसरी र अन्यत्रका जिल्लामा यति ठूलो स्केलको क्षति हुँदैनथ्यो भन्ने सुरक्षा आकलन छ ।

देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादव बिग्रिएको सामाजिक सम्बन्ध सुधार गर्न समय लाग्ने बताउँछिन् । ‘हिजोसम्म को हिन्दु, को मुस्लिम भन्ने नै थिएन, सबै मिलेर बसेका थियौँ,’ उनले भनिन्, ‘यो घटनाले सामाजिक सम्बन्ध बिग्रिएको छ, यसलाई पुरानै अवस्थामा फर्काउन समय लाग्छ ।’
सम्बन्ध सुधारका लागि कप्तानगञ्जका दुवै पक्ष तयार छन् । यहीँ अवस्था सधैं रहन्छ भन्ने अवस्थामा दुवै पक्ष छैनन् । तर तत्कालै सम्बन्ध सुधारका लागि पहल गरिदिने माध्यमको खोजीमा छन् । घटनाका संलग्नलाई राज्यले पक्राउ गरे दुई समुदायबीचको सम्बन्ध सुधारको बाटो थप सहज हुनेछ ।
सात दिनदेखि तनाव
गत आइतबार राति शिव मन्दिरमा चढाउने पानी लिन जानका लागि डिजे बजाएको निहुँमा कप्तानगञ्जमा विवाद भएको थियो । तत्कालको कारण डिजे भए पनि मुख्य कारण भने एक महिनाअघि मोहरम पर्व मनाउँदा बजारमा गाडिएको झण्डा थियो ।
झण्डा नहटाएको निहुँको विवाद गाउँपालिकासम्म पुगेको थियो । इलाका प्रहरी कार्यालयमा पनि पुगेको थियो । प्रशासनले सामान्य रूपमा लिँदा आइतबार राति झडप भएको थियो । जसमा प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भए, दुई जनाको मृत्यु भयो, ८ जनाको उपचार भइरहेको छ ।

घटनाको विरोधमा सोमबार प्रदर्शन भयो । प्रदर्शन रोक्न स्थानीय प्रशासनलले कर्फ्यु आदेश जारी गर्यो । कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन, तोडफोड र नाराबाजी भयो । कप्तानगञ्जबाट सुरु भएको विवाद विस्तारै अन्यन्त्र फैलियो । इनरुवा सहितका बजारमा प्रदर्शन र नाराबाजी भयो । एक्कासि यो मुद्दा मधेश प्रदेशमा पनि पुग्यो ।
मधेश प्रदेशका ठाउँठाउँमा प्रदर्शन भयो । मंगलबार प्रदर्शन झन् उग्र भयो । घर-पसलमा आगजनी र तोडफोड भयो । अर्को पक्षले देवानगञ्ज बजारमा प्रदर्शन गर्दा अवस्था तनावग्रस्त बनेको थियो । बुधबार पनि देवानगञ्जको अवस्था नियन्त्रणबाहिर गएको थियो । बल्ल गृहमन्त्री सुधन गुरुङ बिहीबार राति सुनसरी आए । रातभरको छलफलपछि शुक्रबार बिहान पीडित परिवारसँग सातबुँदे सहमति भयो ।

मृतकलाई शहीद घोषणा गर्ने, परिवारलाई राहत दिने, घटनाको छानबिन गरी दोषीलाई कारबाही, मृतक परिवारका सदस्यलाई रोजगारीको ज्ञारेन्टीलगायत विषयमा सहमतिपछि मृतक परिवारले शव बुझेर गोली लागेर घाइते भएकै स्थानमा दाहसंस्कार गरेका थिए ।
मृतकको दाहसंस्कारपछि स्थानीय प्रशासने कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जोखिम कायमै रहेकाले सुरक्षा सतर्कता पनि उच्च बनाएको छ ।
स्थानीयबासी यो आपसी तनाव कत्ति पनि लम्ब्याउन चाहँदैनन् । तर शान्ति भड्काउन चाहने तत्वहरू यहाँ सक्रिय भएकैले सुनसरी र अन्यत्र तनाव विस्तारित भएको उनीहरूको बुझाइ छ । नागरिक समाज सक्रिय बनेकैले थप हताहती हुन नपाएको सन्तोष उनीहरू व्यक्त गर्छन् ।
तस्वीरहरू : कमल प्रसाईं




प्रतिक्रिया 4