१८ साउन, काठमाडौं । कन्क्लेभमा यस वर्षको ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ विश्वप्रसिद्ध पर्वतारोही मिमा डेभिड शेर्पालाई प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६ का क्रममा शेर्पालाई नगद एक लाख रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई पचास हजार रुपियाँ नगद सहयोगसहित विशेष सम्मान गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए । शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै यो काम गर्ने उनको भनाइ छ ।
काठमाडौं युथ कन्क्लेभ २०२६ फिनिक्स एजुकेशन नेटवर्कले आयोजना गरेको हो । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका युवाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौती भएको बताए । स्वदेशमै अवसर सिर्जना गर्न निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाए । अनि युवालाई लक्ष्यप्रति दृढ रहँदै देशको भविष्य निर्माणमा सक्रिय हुन प्रेरित गरे ।
कार्यक्रमका क्रममा पाकिस्तानको हिमाल क्षेत्रमा हिमपहिरोमा परी पर्वतारोही निर्मल (निम्स) पुर्जा र उनको टोलीको निधनप्रति उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले शिक्षा, खेलकुद, प्रविधि तथा नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया 4