News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताका परिवारले न्यायको माग गरेका छन्।
- मृतकका बुवा कृष्णदेव मेहताले \'हामीलाई पैसाभन्दा न्याय चाहिएको छ\' भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
- सरकारले राहतस्वरुप २२ लाख रुपैयाँ दिने घोषणा गरे पनि परिवारले सत्यतथ्य छानबिन हुनुपर्ने अडान राखेका छन्।
१८ साउन, सुनसरी । घरको एक्लो भर । बिहानदेखि साँझसम्म पसिना बगाएर परिवारको गुजारा चलाउँदै आएका एक युवा । आमाबुबाको सहारा, भाइबहिनीको आशा र घरका आर्थिक मेरुदण्ड थिए- ओमप्रकाश मेहता ।
गत साता सुनसरीमा भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गएपछि कप्तानगञ्जस्थित ओमप्रकाशको घर र परिवार आसुमा डुबेको छ । ओमप्रकाशको सम्झनाले विह्वल छ । न्यायको प्रतीक्षा गरिरहेको छ ।
ओमप्रकाशका बुवा कृष्णदेव मेहता छोरो सम्झेर भक्कानिन्छन्। उनको बारम्बार एउटै कुरा छ- ‘मेरो छोरा अब पैसाले फर्काउन सकिन्नँ ।’
उनका अनुसार ओमप्रकाश कठोर मेहनत गरेर परिवारको भविष्य बनाउन संघर्षरत थिए।

दैनिक तीनदेखि साढे तीन हजार रुपैयाँसम्म कमाउँथे । कहिलेकाहीँ पाँच–छ हजार रुपैयाँसम्म आम्दानी गर्ने उनको कमाइबाट घरखर्च चल्थ्यो। बैंकको किस्ता, बिजुलीको बिल, परिवारका आवश्यकता सबै त्यही पसिनाको कमाइले धानिएको थियो।
‘उसको सपना आफ्नै व्यवसाय गर्ने थियो। हामीले पनि उसको भविष्यका लागि धेरै दुःख गरेका थियौँ। जग्गासमेत बेच्यौं’ कृष्णदेव भन्छन् ।
कृष्णदेवका अनुसार मृत्यु भएपछि अहिले प्रदेश सरकारले २ लाख र संघीय सरकारले १० लाख र गाउँपालिकाले पनि १० लाख गरी जम्मा २२ लाख रुपैयाँ दिने भनेका छन् । तर कृष्णदेवका लागि त्यो रकम छोराको जीवनसँग तुलना हुनै सक्दैन।
‘सरकारले २२ लाख दिएर मेरो छोरो फर्किँन्छ र ! हामीलाई पैसाभन्दा न्याय चाहिएको छ’ उनी भन्छन्। उनको मनमा अहिले ठूलो प्रश्न मडारिइरहेको छ- आखिर गोली किन चल्यो ? कसको आदेशमा चल्यो ? दोषी को हो ? किन छोरालाई गोली हानियो ?

‘छानबिन होस्। सत्य बाहिर आओस्। कानुन सबैका लागि बराबर हुनुपर्छ। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ’, कृष्णदेव भन्छन् ।
छोराको मृत्युले परिवारलाई आर्थिक मात्र होइन, भावनात्मक रूपमा पनि गहिरो चोट दिएको छ। घरको जिम्मेवारी सम्हाल्ने हात एकाएक हराएपछि परिवारको भविष्य अन्योलमा परेको छ। आमाबुबाको बुढेसकालको सहारा टुटेको छ।
ओमप्रकाश अब फर्किने छैनन् । तर उनका बुवाको पुकार छ- ‘हामीलाई दया होइन, न्याय चाहिएको छ।’
भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4