News Summary
Generated by OK AI. Editorially reviewed.- बिहारको बाँकीपुर विधानसभा उपचुनावमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९,२४६ भोटको फराकिलो अन्तरले पराजित गरेका छन्।
- विद्यार्थी आन्दोलनको प्रभाव, भाजपाको कमजोर उम्मेदवार चयन र किशोरको व्यक्तिगत छविले भाजपाको गढ मानिएको क्षेत्रमा उनको विजयलाई निर्णायक बनाएको विश्लेषकहरूले बताएका छन्।
- जितपछि किशोरले भने, 'मेरो विधायक बन्दैमा बाँकीपुर रातोरात बेङ्गलोर त बन्दैन, तर तपाईंहरूले आगामी दुई-तीन महिनामै यहाँ केही सुधार पक्कै देख्नुहुनेछ।'
१८ साउन, काठमाडौं । बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्।
चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो पहिलो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। उनले बिहारको बाँकीपुर विधानसभा सिटमा भाजपाका उम्मेदवार नीरज कुमारलाई १९,२४६ भोटको फराकिलो अन्तरले पराजित गरेका हुन्।
भाजपाको बलियो गढ मानिँदै आइएको यो क्षेत्रमा किशोरले कुल ६३,९४६ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ४४,७०० भोट मात्रै पाए।
यही क्षेत्रबाट भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन सिटबाट लगातार ५ पटक विधायक बनेका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि यो सिट खाली भएको थियो।
के यो जेनजी आन्दोलनको प्रभाव हो ?
चुनावी नतिजा भर्खरै आएको सन्दर्भमा यसबारे पर्याप्त विश्लेषणहरू भइसकेको छैन । भारतीय विश्लेषकहरूले यो चुनावी नतिजाबारे प्रारम्भिक प्रतिक्रिया दिंदै यसलाई भारतमा अघिल्लो साता भएको जेनजी तथा विद्यार्थी आन्दोलनको प्रभावसँग जोडेका छन् । यसलाई प्रमुख कारण मानिए पनि कतिपयले यही एउटै कारणले किशोरको जितलाई विश्लेषण गर्न नहुने मत पनि राखेका छन् ।
भारतमा नीट परीक्षाको प्रश्नपत्र चुहावट, बारम्बार रद्द हुने भर्ती तथा प्रवेश परीक्षा, बेरोजगारी र परीक्षा प्रणालीप्रतिको अविश्वासलाई लिएर ठूलो विद्यार्थी आन्दोलन भएको थियो। जुलाई २० को संसद् मार्चमा ५० हजारभन्दा बढी सहभागी भएको अनुमान गरिएको थियो।
आन्दोलनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए र सरकारले परीक्षा प्रणाली पुनरावलोकन तथा कानुनी सुधारका प्रतिबद्धता जनाएको थियो। बिहारका विद्यार्थी र परीक्षार्थी यस आन्दोलनको महत्त्वपूर्ण हिस्सा थिए।
बाँकीपुरको चुनावी प्रचारमा पनि नीट प्रश्नपत्र चुहावट, विद्यार्थीमाथिको प्रहरी कारबाही, शिक्षा र रोजगारी प्रमुख मुद्दा बने। किशोरले यी मुद्दा निरन्तर उठाउँदै सरकारविरोधी विद्यार्थी असन्तोषलाई आफ्नो चुनावी अभियानसँग जोडेका थिए।
तर उमेरअनुसार कसले कसलाई मत दियो भन्ने आधिकारिक मतदान तथ्यांक वा विश्वसनीय एक्जिट पोल सार्वजनिक भएको छैन।
यद्यपि, जेनजी आन्दोलनले भाजपाविरोधी वातावरण तयार गर्यो र किशोर त्यस वातावरणलाई मतमा रूपान्तरण गर्न सफल भए भन्न सकिन्छ ।
चुनावी जितपछि प्रतिक्रिया दिँदै प्रशान्त किशोरले भने, ‘मेरो विधायक बन्दैमा बाँकीपुर रातोरात बेङ्गलोर त बन्दैन, तर तपाईंहरूले आगामी दुई-तीन महिनामै यहाँ केही सुधार पक्कै देख्नुहुनेछ।’
उनले थपे, ‘बाँकीपुरका जनताले भाजपा नेतृत्वलाई स्पष्ट सन्देश दिएका छन्- कृपया बिहारका लागि एक जना राम्रो व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नुहोस्। बिहारीहरू केवल मजदुर बन्नका लागि जन्मिएका होइनन्।’
प्रशान्त किशोरको चुनावी सफलताका ६ कारण
१. विद्यार्थीको आक्रोशसँग मिलेको चुनावी एजेन्डा
बाँकीपुर पटना शहरको शिक्षा संस्था र प्रतियोगी परीक्षा तयारी गर्ने विद्यार्थीहरूको बाक्लो उपस्थिति भएको क्षेत्र हो। टीभी-९ हिन्दीको विश्लेषणअनुसार करिब ३.७९ लाख मतदातामध्ये अनुमानित १.२ देखि १.३५ लाख मतदाता १८–२९ वर्षका छन्।
मतदाताको यो महत्त्वपूर्ण हिस्सा र उनीहरूको पछिल्लो लगाव र मनोविज्ञानलाई जोडेर हेर्दा युवा मुद्दा किशोरको विजयमा निर्णायक बन्यो भन्न सकिन्छ ।
२. भाजपाको उम्मेदवार चयनमा देखिएको अन्योल
भाजपाले सुरुमा अभिषेककुमार सिन्हालाई उम्मेदवार बनाएको थियो, तर उम्मेदवारी दर्तापछि उनलाई हटाएर नीरजकुमार सिन्हालाई अघि सार्यो। अन्तिम समयमा गरिएको परिवर्तनले संगठनभित्र अन्योल र कमजोर तयारीको सन्देश दियो।
इन्डिया टुडेमा प्रकाशित एक सामग्रीअनुसार, नीरजकुमारले किशोरको सार्वजनिक पहिचान, सञ्चार क्षमता र व्यक्तिगत अभियानसँग प्रतिस्पर्धा गर्न सकेनन् भन्ने विश्लेषण गरिएको छ।
३. भाजपाको ‘अति आत्मविश्वास’
बाँकीपुरमा भाजपा सन् १९९५ देखि लगातार प्रभावशाली थियो। किशोरले यही अवस्थालाई ‘मतदातालाई स्वाभाविक समर्थनकर्ता ठानिएको’ मुद्दाका रूपमा प्रस्तुत गर्दै उपचुनावलाई सरकार र नयाँ मुख्यमन्त्री सम्राट चौधरीको काममाथिको जनमतसंग्रहजस्तो बनाए।
मतदातामा परिवर्तनको इच्छा र भाजपाप्रतिको असन्तोषलाई उनले व्यक्तिगत अभियानमा केन्द्रित गरे। यो अवस्थामा आफ्नो सुरक्षित किल्ला हो भन्ने भारतको ‘ओभर-कन्फिडेन्ट’ पनि उसको पराजयको लागि निर्णायक बन्यो ।
४. कम मतदानमा प्रतिबद्ध समर्थकको प्रभाव
बाँकीपुरमा मतदान करिब ३४.३ प्रतिशत मात्रै भयो, जुन अघिल्लो विधानसभा निर्वाचनको भन्दा सात प्रतिशत अंकभन्दा बढी कम हो। यस्तो कम मतदानमा समग्र लोकप्रियताभन्दा आफ्ना प्रतिबद्ध समर्थकलाई मतदान केन्द्रसम्म पुर्याउने उम्मेदवार लाभमा रहन्छ।
हिन्दुस्तान टाइम्सका अनुसार, विश्लेषकहरूले किशोरका समर्थक सक्रिय रूपमा मतदानमा सहभागी हुँदा भाजपाका केही परम्परागत मतदाता घरमै बसेको सम्भावना औंल्याएका छन्।
५. राष्ट्रिय जनता दल (आरजेडी) कमजोर हुँदा विरोधी मत किशोरतर्फ
राष्ट्रिय जनता दल (आरजेडी) उम्मेदवार रेखा कुमारी तेस्रो स्थानमा निकै पछाडि परिन्। यसले भाजपाविरोधी मत परम्परागत रूपमा राजदमा नगई, बढी विश्वसनीय र जित्न सक्ने चुनौतीका रूपमा देखिएका किशोरतर्फ केन्द्रित भएको संकेत गर्छ।
बाँकीपुरको नतिजाले बिहारमा भाजपा–जदयू र राजदबाहेक तेस्रो विकल्पको सम्भावना देखाएको विश्लेषण भइरहेको छ।
६. प्रशान्त किशोर स्वयं उम्मेदवार बन्नु
सन् २०२५ को बिहार विधानसभा निर्वाचनमा जनसुराजले २३८ स्थानमा उम्मेदवार उठाए पनि एउटै सिट जित्न सकेको थिएन। यसपटक किशोर स्वयं मैदानमा उत्रिए।
भारतीय सञ्चारमाध्यम मिन्टका अनुसार, उनको राष्ट्रिय पहिचान, लामो समयको जनसुराज अभियान, प्रत्यक्ष घरदैलो र ‘इमानदार तथा जवाफदेही प्रतिनिधि’को व्यक्तिगत प्रतिबद्धताले पार्टीको भन्दा व्यक्तिको मत ठूलो बनाएको देखिन्छ।
यसरी, बाँकीपुरमा प्रशान्त किशोरको सफलतालाई जेनजी आन्दोलनको प्रत्यक्ष चुनावी अभिव्यक्ति मान्न सकिन्छ, तर यो केवल युवा लहरको परिणाममात्र भने होइन।
परीक्षा चुहावट र बेरोजगारीप्रतिको आक्रोश, भाजपाको उम्मेदवार व्यवस्थापनमा कमजोरी, कम मतदान, राजदको कमजोर उपस्थिति र किशोरको व्यक्तिगत स्वीकार्यताले संयुक्त रूपमा भाजपा किल्ला भत्काएको देखिन्छ।
प्रतिक्रिया 4