+
+
Shares

झ्याप्पझ्याप्प बत्ती जाँदा उपभोक्ता आजित, दैनिक जीवनदेखि व्यवसायसम्म प्रभावित

अघिल्लो वर्षको तुलनामा ट्रिपिङ संख्या घटेको देखाए पनि राष्ट्रिय प्रसारण प्रणाली अझै मौसमजन्य जोखिम, प्रसारण लाइनको प्राविधिक समस्या र उपकरणको खराबीबाट पूर्णरूपमा सुरक्षित हुन नसकेको संकेत गरेको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ साउन २२ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा लोडसेडिङ अन्त्य भएको दाबी गरिए पनि उपत्यकासहित विभिन्न स्थानमा पटक–पटक विद्युत् कटौती हुँदा उपभोक्ता मारमा परेका छन् ।
  • नेपाल विद्युत् प्राधिकरणका अनुसार हावाहुरी, वर्षा र प्राविधिक खराबीका कारण विद्युत् प्रणाली ट्रिप हुँदा आपूर्तिमा समस्या देखिएको हो ।
  • ऊर्जा मन्त्रालयले विद्युत् वितरण प्रणालीको संरचनागत कमजोरीका कारण समस्या उत्पन्न भएको भन्दै तत्काल समाधानका लागि विशेष अभियान सञ्चालन गरेको छ ।

२२ साउन, काठमाडौं । नेपालमा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको वर्षौं बितिसकेको छ । तर, पछिल्ला केही समययता काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा विनासूचना पटक–पटक विद्युत् जाने र केही मिनेटमै आउने क्रम बढेपछि उपभोक्ता भने पुरानै समस्याको झल्को महसुस गर्न थालेका छन् ।

दिनभरि नै झ्याप्पझ्याप्प बत्ती जाने र केही सेकेन्ड वा मिनेटमै फर्किने अवस्थाले घरायसी काममात्र होइन, कार्यालय, उद्योग, अस्पताल, इन्टरनेट सेवा तथा अनलाइन व्यवसायसमेत प्रभावित हुन थालेका छन् ।

विशेषगरी कम्प्युटरमा काम गर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने र डिजिटल कारोबारमा निर्भर व्यवसायीले बारम्बार काम अवरुद्ध हुने गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणको रेकर्ड अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय प्रसारण प्रणाली ४२ पटक ट्रिप भएको थियो  । ती ट्रिपिङको कुल अवधि ५ घण्टा ५ मिनेट थियो ।

यद्यपि, अघिल्लो आव २०८१/८२ मा ७१ पटक ट्रिपिङ भएर ८ घण्टा ११ मिनेट विद्युत् प्रणाली प्रभावित भएको तुलनामा ट्रिपिङ संख्या घटेको देखिन्छ ।

प्राधिकरणको विश्लेषणले अधिकांश ट्रिपिङको कारण रुख ढल्नु, हावाहुरी र वर्षाका कारण लाइनमा अर्थफल्ट हुनु, जम्पर चुँडिनु, ट्रान्स्फर्मर तथा सबस्टेसन उपकरणमा खराबी आउनु र सुरक्षा प्रणाली (प्रोटेक्सन) सञ्चालन हुनु रहेको देखाएको छ ।

कतिपय घटनामा एउटा लाइनमा आएको खराबीले क्रमिक रूपमा अन्य प्रसारण लाइन, सबस्टेसन र जलविद्युत् आयोजनासम्म असर पुग्दा आंशिक प्रणाली ध्वस्त भएको उल्लेख छ ।

विशेषगरी असार, साउनमा हावाहुरी र वर्षापछि रुख ढलेर प्रसारण लाइनमा परेको, बुटवल–मोतीपुर, पथलैया–चपुर, हेटौंडा–अमलेखगञ्ज, ढल्केबर–नवलपुर लगायत प्रसारण लाइनमा समस्या आउँदा पश्चिम र मध्य क्षेत्रका ठूलो भूभागमा केही समय विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा केही मिनेटका लागि झ्याप्पझ्याप्प बत्ती जाने समस्या दोहोरिइरहेकै बेला प्राधिकरणको तथ्यांकले पनि राष्ट्रिय विद्युत् प्रणाली (ग्रिड) अझै पूर्णरूपमा स्थिर हुन नसकेको देखाएको छ ।

विद्युत् प्रणाली ट्रिप हुँदा उपभोक्ताले केही मिनेटका लागि झ्याप्प बत्ती गएको अनुभव गर्छन् । यस्तो बेला कम्प्युटर, इन्टरनेट, उद्योग, अस्पताल र अन्य संवेदनशील उपकरणमा प्रत्यक्ष असर पर्ने गरेको छ ।

उपभोक्ताले सामाजिक सञ्जाल मार्फत पनि छोटो अवधिका विद्युत् अवरोध बढेको गुनासो गरिरहेका छन् । यद्यपि, प्राधिकरणको तथ्यांकले अघिल्लो वर्षको तुलनामा ट्रिपिङ संख्या घटेको देखाए पनि राष्ट्रिय प्रसारण प्रणाली अझै मौसमजन्य जोखिम, प्रसारण लाइनको प्राविधिक समस्या र उपकरणको खराबीबाट पूर्णरूपमा सुरक्षित हुन नसकेको संकेत गरेको छ ।

विद्युत् आपूर्ति केही समयका लागिमात्र अवरुद्ध हुने भएकाले  प्राधिकरणले यसलाई लोडसेडिङ नभई ‘ट्रिपिङ’ वा प्राविधिक अवरोध भन्ने गरेको छ । तर, कारण जे भए पनि पटक–पटक बत्ती जाँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताले नै भोग्नुपरेको छ ।

बारम्बार हुने विद्युत् अवरोधले फ्रिजर, टेलिभिजन, कम्प्युटर, राउटर, इन्भर्टर लगायत विद्युतीय उपकरणमा समेत असर पर्ने भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । केही व्यवसायीले उत्पादन प्रक्रिया नै रोकिने र सेवामा अवरोध हुँदा आर्थिक क्षति बढ्दै गएको बताएका छन् ।

यसअघि पनि काठमाडौंमा यस्तै समस्या देखिएका बेला प्राधिकरणले पुराना लाइन, ट्रान्स्फर्मरमा बढ्दो चाप, मर्मतसम्भार, वितरण प्रणालीमा देखिने प्राविधिक समस्या तथा मौसमका कारण ट्रिपिङ बढ्ने गरेको जनाएको थियो ।

पछिल्ला दिनमा पनि विभिन्न स्थानमा लाइन मर्मत, उपकरण प्रतिस्थापन तथा प्राविधिक समस्याका कारण आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

उपभोक्ताले विद्युत् महसुल नियमित तिरिरहे पनि पूर्वसूचनाविना हुने ट्रिपिङको कारण, अवधि र समाधानबारे स्पष्ट जानकारी नपाउँदा असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालमा समेत पछिल्ला दिनमा ‘लोडसेडिङ त हट्यो, तर झ्याप्पझ्याप्प बत्ती जाने समस्या कहिले हट्छ ?’ भन्ने प्रश्न व्यापक उठ्न थालेको छ ।

मौसमी नभई पूर्वाधारको दीर्घकालीन संरचनाको कमजोरी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसलाई मौसमी नभई विद्युत् वितरण पूर्वाधारको दीर्घकालीन संरचनागत कमजोरीका कारण उत्पन्न भएको निष्कर्ष निकालेको छ  ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गत असारमा सातै प्रदेशका प्रदेश प्रमुख तथा दुई डिभिजन कार्यालय सहित देशभरिका विद्युत् वितरण नेतृत्वसँग बैठक गरेका थिए ।

मन्त्री श्रेष्ठले नेपालगञ्जको स्थलगत अनुगमन क्रममा सन् १९९० मा सम्पन्न सातौं विद्युतीकरण आयोजनापछि त्यहाँको वितरण सञ्जालमा उल्लेख्य स्तरोन्नति नभएको, तर विद्युत् माग भने वार्षिक करिब १५ प्रतिशतका दरले बढिरहेको बताएका थिए ।

पुरानो वितरण सञ्जालमा नयाँ माग थपिँदा फिडर ओभरलोड, पटक–पटक ट्रिपिङ र लो–भोल्टेज जस्ता समस्या बढिरहेको उनको भनाइ थियो । उनले बत्ती जानु समस्या नभई पूर्वाधार कमजोर हुनु नै वास्तविक समस्या भएको बताएका थिए ।

मन्त्रालयले बत्ती जाने समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याले जनजीवन प्रभावित बनेपछि मन्त्रालयले यसको तत्काल समाधानका लागि विशेष अभियान सञ्चालनमा ल्याएको जनाएको हो ।

जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउने उद्देश्यले मन्त्रालयले सक्रिय अनुगमन र समस्याको तत्काल सुनुवाइ गर्ने कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

यसका लागि मन्त्रालयले हटलाइन ११५० र ११५१ मा गुनासो टिपाउन अनुरोध गर्दै आएको छ । मन्त्रालयले विद्युत् आपूर्तिमा समस्या भए चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी हटलाइन ११५० र ११५१ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

यसका साथै, थप समन्वयका लागि प्राधिकरणका प्रबन्ध निर्देशक दीर्घायु श्रेष्ठ (९८५१३१३९८२) तथा सातै प्रदेशका सम्पर्क पदाधिकारीहरूलाई पनि सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ ।

‘बत्ती जानु सामान्य होइन’ भन्ने मान्यता सहित मन्त्रालयले जनताको गुनासोमा तत्काल सुनुवाइ गर्दै समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?