News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास संरक्षण गर्न ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरू गरेको छ ।
- पहिलो नेपाली चलचित्र ‘आमा’ का कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
- बोर्ड अध्यक्ष दिनेश डीसीले प्रत्येक महिना ऐतिहासिक चलचित्र प्रदर्शन गरी संकलित रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गर्नुभयो ।
काठमाडौं । नेपालको पहिलो फिल्म ‘आमा’का ४ जना कलाकारको उपस्थितिमा चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरु गरेको छ ।
कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त फिल्म प्रदर्शन गरियो । फिल्म हेर्न दर्शकको उल्लेख्य उपस्थिती रह्यो ।
हरिवंश आचार्य र बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारैजना कलाकारलाई माला लगाएर स्वागत गरे । त्यसपछि ती कलाकारले दीप प्रज्वलन गरी संयुक्तरुपमा कार्यक्रम शुभारम्भ गरे ।
बोर्ड अध्यक्ष दिनेश डीसीले कार्यक्रमको सहजीकरण गरेका थिए । प्रदर्शनअघि उनले चारै कलाकारसँग ‘आमा’ निर्माण र प्रदर्शनताकाका अनुभव तथा नेपाली चलचित्रको प्रारम्भिक कालसँग जोडिएका स्मरणबारे संवाद गरे ।
कलाकारले सो फिल्ममा काम गर्दाको समय, त्यतिबेलाको चलचित्र निर्माण प्रक्रियाका अनुभव दर्शकमाझ सुनाएका थिए । आफूले अभिनय गरेको फिल्मलाई दशकौंपछि पुनःप्रदर्शन गरिँदा कलाकार भावुक समेत देखिए ।
कार्यक्रममा अध्यक्ष डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्रको हलमा विशेष प्रदर्शन गर्ने घोषणा गरे । उनका अनुसार यस्तो विशेष प्रदर्शनबाट संकलन हुने रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ ।
बोर्डले पुराना तथा ऐतिहासिक नेपाली चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउने, तिनमा योगदान दिएका कलाकार तथा प्राविधिकको सम्मान गर्ने र नेपाली चलचित्र इतिहासको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘ओल्ड इज गोल्ड’लाई नियमित कार्यक्रमका रूपमा अगाडि बढाउने जनाएको छ ।
प्रतिक्रिया 4