News Summary
Generated by OK AI. Editorially reviewed.- सोट्टो नेपालले सीमित गन्तव्यमा मात्र हवाई उडान हुँदा विदेशी एयरलाइन्सको एकाधिकार बढेर भाडादर अत्यधिक महँगो भएको निष्कर्ष निकालेको छ।
- अध्यक्ष मानबहादुर शाहीले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
- सोट्टो नेपालले पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा होमस्टे तथा पदयात्रा जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
२४ साउन, काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालले नेपालबाट सीमित गन्तव्यमा मात्र उडान हुँदा हवाई भाडा महँगो भएको बताएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत सोट्टो नेपालले सो प्रतिक्रिया दिएको हो । संस्थाका अध्यक्ष मानबहादुर शाहीले नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी सीमित रहँदा विदेशी एयरलाइन्सको एकाधिकार बढेको बताए ।
यसले हवाई भाडादर अत्यधिक महँगो भएको उनको भनाइ छ । सो सन्दर्भमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन, कम्पनी मोडलमा रूपान्तरण र अन्तर्राष्ट्रिय उडान विस्तारमार्फत पर्यटन विकासमा योगदान पुर्याउने एजेन्डामा संस्थाले निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ ।
संस्थाले पर्यटन व्यवसायीको पेशागत हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा व्यवसायमा आइपर्ने विविध समस्या समाधानमा सम्बन्धित निकायसँग निरन्तर समन्वय, संवाद र नीतिगत पैरवी गर्दै आएको उनले बताए ।
अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सोट्टो–नेपालले सिङ्गापुर, मलेसिया, रसिया, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यमा विभिन्न कार्यक्रममा भाग लिएको छ । यी कार्यक्रमले नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न, पर्यटक आकर्षित गर्न तथा पर्यटन आय वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको संस्थाको भनाइ छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत संस्थाले विविध पहल गर्र्दै आएको छ । रारा, खप्तड, रेसुङ्गा, गुल्मीस्थित ऋषिकेश मन्दिर, अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्वारी लगायत गन्तव्य प्रवद्र्धनमा सोट्टोले भूमिका खेलेको छ ।
स्थानीय सरकारहरूसँगको सहकार्यमा गोकर्णेश्वर नगरपालिकासँग धापडाँडा सम्मको पदयात्रा कार्यक्रम सञ्चालन, बुढानीलकण्ठ नगरपालिकासँग ढाँडगाउँ क्षेत्रको होमस्टे तथा स्थानीय पर्यटन प्रवद्र्धन जस्ता कार्यक्रम आयोजना गरिएको थियो ।
यी प्रयासहरूले स्थानीय पर्यटन, समुदायको सहभागिता र स्थानीय अर्थतन्त्रलाई सकारात्मक टेवा पुर्याएको संस्थाको निष्कर्ष छ । आगामी दिनमा पनि सोट्टो–नेपालले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यलाई बलियो बनाउँदै नयाँ पर्यटकीय गन्तव्य विकास, होमस्टे प्रवद्र्धन, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको विस्तारमा निरन्तर क्रियाशील रहने बताएको छ ।
प्रतिक्रिया 4