News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्रको संकटलाई विधि र विधानअनुसार समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- अदालतको पछिल्लो निर्णयबारे थापाले शान्तिपूर्ण ढंगले प्रतिवाद गर्ने र न्यायालयप्रति विश्वास कायम राख्ने बताए ।
- उनले पार्टीभित्रका सबै पक्षलाई समेट्दै निष्पक्ष रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्ने स्पष्ट पारेका छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाले पार्टीभित्रको संकट र त्यसमा अदालत र सत्ताको छाया लगायतका विषयहरूमा आइतबार टिप्पणी गरेका छन् । उनले पार्टीभित्रको संकटलाई समाधान गर्न आफू तयार रहेको पनि बताए । तर सबै काम विधि विधान अनुसार हुने उल्लेख गरेका छन् ।
बैठकमा उनले सभापति थापाले राखेको मन्तव्यको सम्पादित सार :
अदालतमा शानसाथ प्रतिवाद गरिन्छ
केही दिनअगाडि सम्मानित अदालतले नेपाली कांग्रेस पार्टीसँग सम्बन्धित एउटा निर्णय गरेको छ । यस विषयमा धेरै साथीहरूले अब के गर्नुपर्छ ?, के गर्ने हो ? भनेर सोध्नुभएको छ।
नेपाली कांग्रेसको विधानको व्यवस्था अनुसार नै हामीहरूले विशेष महाधिवेशन सम्पन्न गर्यौं। त्यो विधानसम्मत थियो, आवश्यक थियो र औचित्यपूर्ण पनि थियो।
विशेष महाधिवेशनले एउटा स्पष्ट निष्कर्ष निकाल्यो। हामी त्यो निष्कर्ष लिएर निर्वाचन आयोगमा गयौं ।
निर्वाचन आयोगले नेपालको प्रचलित कानुन र निर्वाचन सम्बन्धी आफ्नै कानुनी व्यवस्था अनुसार महाधिवेशनको परिणामलाई स्वीकार गर्यो, बुझ्यो र सोही अनुसार अद्यावधिक गर्यो। कुरा सकियो। त्यसपछि हामी नेपाली कांग्रेस पार्टीको नयाँ जिम्मेवारीका आधारमा काम गर्न थाल्यौँ।
तर, पार्टीका केही साथीहरूले यस विषयमा चित्त बुझाउनुभएन। उहाँहरूले निर्वाचन आयोगमा आफ्नो असहमति राख्नुभयो। निर्वाचन आयोगले दुवै पक्षको कुरा सुन्यो र ‘विशेष महाधिवेशन नै सही हो’ भन्ने निर्क्योल दियो।
त्यहाँ पनि चित्त नबुझेपछि साथीहरू सम्मानित अदालत जानुभयो। सम्मानित अदालतको संयुक्त इजलासले पनि विशेष महाधिवेशन नै सही हो भनेर निर्णय गरिदियो।
हामी अदालत गएका होइनौँ; हामी त विशेष महाधिवेशनको हलले जे निर्णय गर्यो, त्यही नै सही हो भनेर आएका हौँ।
अदालतले त्यसका बारेमा पनि केही कुरा बोल्यो। निर्णय गर्यो र यो नै ठीक हो भनेर भन्यो। सकियो।
तर, त्यसमा पनि चित्त नबुझेर फेरि पार्टीका केही साथीहरू सम्मानित अदालत जानुभयो। र, अदालतले यस विषयमा केही कुराहरूको आदेश गरेको छ।
निर्वाचन आयोगले गरेको निर्णय जे थियो, अझै पनि त्यही नै छ। केवल निर्वाचन आयोगको निर्णयमाथि उठेका केही प्रश्नहरूमाथि एकपटक फेरि छलफल होस् भन्ने अदालतको चाहना भएकाले यो पुनः मुद्दाको विषय बनेको हो। अब के गर्ने त ?
राजनीतिक पक्षहरू समयक्रममा खुल्दै जान्छन् नेपाल कत्रो छ र?
अब शानका साथ अदालत जाने र शानका साथ त्यसको प्रतिवाद गर्ने ! हिजो विशेष महाधिवेशनको हलमा जे कुरा सत्य थियो, निर्वाचन आयोगमा जे सत्य थियो र अस्तिसम्म अदालतमा जे कुरा सत्य ठहरिएको थियो,त्यो अहिले पनि सत्य नै हुन्छ। हिजो पनि त्यो ठिक थियो, आज पनि ठिकै छ।
केही-केही साथीहरू मलाई अहिले के भन्नुहुन्छ भने— सम्मानित अदालतको पछिल्लो निर्णयका बारेमा सरकारका फलानो मान्छेले यसो भनेका थिए ।
अनि म उहाँहरूलाई भन्छु— तपाईंहरूलाई जस्तै सूचनाहरू मलाई पनि त होला, तर कहिलेकाहीँ सूचनाहरू थाहा भए तापनि त्यसलाई समयकै भरमा छोडिदिनुपर्छ ।
किनभने, पात्र वा व्यक्तिको अभिव्यक्तिलाई लिएर संस्थाहरूमाथि नै प्रश्न गर्नु हुँदैन। यसले संस्थाहरूप्रतिको जनविश्वास घटाउँछ।
पञ्चायत कालमा समेत न्यायालयमाथि विश्वास गरेर अघि बढ्नुभएका बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौँ हामी। यो त हाम्रो पार्टीभित्रको आन्तरिक विषय हो। त्यसैले हामीले सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ र राख्छौँ पनि। यसका राजनीतिक पक्षहरू समयक्रममा खुल्दै गइहाल्छन् नि, नेपाल कत्रो छ र?
यी कुराहरू खुल्दै जान्छन्, खुल्दै जाओस्, समयलाई छोडिदिऊँ। अहिलेलाई त न्यायालयमै विश्वास राख्ने हो। जब समय आउँछ र अदालतले बोलाउँछ, त्यतिबेला हामी जाने हो र ‘शान’का साथ आफ्ना कुराहरूको प्रतिवाद (डिफेन्ड) गर्ने हो।
‘यो पार्टी विशेष महाधिवेशनमा भाग लिने/नलिने दुवैको हो’
तर, त्योभन्दा पनि बढी विश्वास हाम्रा आफ्नै साथीहरूमाथि राख्ने हो। आफ्नै साथीहरूमाथि विश्वास भरोसा गर्ने हो। यहाँ कति धेरै साथीहरू हुनुहुन्छ ! कति धेरै शुभेच्छुकहरू हुनुहुन्छ!
हिजो विशेष महाधिवेशनमा सहभागी नहुनुभएका साथीहरूको ठूलो तह र तप्का अहिले विशेष महाधिवेशनपछि आएको नेतृत्वलाई साथ दिनुपर्छ, यिनीहरूलाई अब सँगसँगै हौस्याउनुपर्छ भनेर लागि पर्नुभएको छ।
कति अग्रज नेताहरू यहाँ हुनुहुन्छ, बाहिर हुनुहुन्छ, साथीहरू हुनुहुन्छ। यो पार्टी विशेष महाधिवेशनमा भाग लिने साथीहरूको जति हो, भाग नलिने साथीहरूको पनि त्यति नै हो। सबैको हक बराबर छ; यहाँ हामी कोही पहिलो वा दोस्रो दर्जाका छैनौँ।
विशेष महाधिवेशन पार्टीको विधानले अधिकार दियो, हामीले गर्यौँ। त्यसबाट हामी एउटा जिम्मेवारीमा आएका छौँ। हामीले सबैलाई समेटेर लिएर जानुपर्ने छ र त्यो जिम्मेवारी हामीले पूरा गर्नैपर्छ।
पार्टी बनाउने कसैको अवमूल्यन गर्दिनँ
यसै क्रममा मैले पार्टीका सबै सिनियर नेताहरूसँग संवाद गरेको छु। मैले उहाँहरूलाई भनेको छु— तपाईंहरू सबैप्रति मेरो उत्तिकै सम्मान छ। तपाईंहरूले पार्टीमा गरेको योगदानलाई म अवमूल्यन (अन्डरभ्यालू) गर्न सक्दिनँ, गर्दा पनि गर्दिनँ र गर्न मिल्दा पनि मिल्दैन।
पार्टीका निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवादेखि लिएर अघिल्लो केन्द्रीय समितिमा रहनुभएका प्रत्येक साथीहरूले पार्टीको जीवनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँहरूप्रतिको त्यो आदर छँदै छ। तर, सँगसँगै केही जिम्मेवारीहरू पनि छन्, ती जिम्मेवारीतातर्फ पनि सचेत रहनुपर्छ। त्यो भनेको १५औँ महाधिवेशनलाई निष्पक्ष बनाउने र सबै साथीहरूले पूर्ण विश्वास गर्ने अधिवेशन बनाउने कुरा हो।
मैले अहिले चित्त बुझाउनुभएका र नबुझाउनुभएका सबै नेताहरूलाई यही कुरा भनिरहेको छु— १४ औं महाधिवेशन भयो, सकियो। विशेष महाधिवेशन भयो, हामीहरू आयौँ/आएनौँ।
अब विशेष महाधिवेशन गरेर आएका साथीहरू र विशेष महाधिवेशनमा भाग लिएका वा नलिएका सबै साथीहरू हामी यहीँभित्र छौँ, बाहिर पनि छौँ, सँगै छौँ। अब अधिवेशन गरौँ।
क्रियाशील सदस्यतामा कैफियत छ भने कसको नेतृत्वमा समिति बनाउने हो- आउनुस्
त्यो अधिवेशनलाई निष्पक्ष (फेयर) बनाउनका निम्ति के-के गर्नुपर्छ, गरौँ । अधिवेशनसँग हाम्रा के-के कुरा जोडिएका छन् ?
एउटा, क्रियाशील सदस्यताको कुरा जोडिएको छ। प्रदीपजीको संयोजकत्वमा समिति छ, उहाँले यसलाई टुंग्याउनुभएको छ । यो टुंग्याएको कुरामा कहीँ-कतै तलमाथि छ कि, कैफियत छ कि भन्ने लाग्न सक्छ। त्यसका लागि कसको नेतृत्वमा समिति बनाउने हो, बनाऔँ। प्रेमबहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति छ, त्यसमा अरू को-को साथीहरू थप्ने हो, सल्लाह गरौँ र थपौँ— जसले गर्दा सबैको विश्वास रहोस्।
हामी त केन्द्रीय समिति मात्रै न हौँ। अब त हामी सबैजना वडामा जानुपर्छ, प्रतिनिधि भएर आउँछौँ र त्यहीँ जान्छौँ।
हामी अब महाधिवेशनमा जाँदै गर्दा त सबैजना आयोजक नै हौँ। योभन्दा अघिल्लो केन्द्रीय समितिमा रहनुभएका साथीहरू र हामीहरू, सबैजना अब तल जाने हो। हामी सबैजना कुनै न कुनै रूपमा पार्टीको व्यवस्थापनसँग जोडिएकै हुन्छौँ। त्यसोभए एउटा व्यवस्थापन समिति बनाऔँ र पार्टीको यो अधिवेशनसँग जोडिएका व्यवस्थापकीय कुराहरू जति पनि छन्, ती सब गरौँ। यो केन्द्रीय समिति त एउटा छुट्टै छँदै छ।
अधिवेशनसँग सम्बन्धित जति पनि कामहरू छन्— चाहे त्यो सदस्यताको होस्, निर्वाचनको होस्, वा लजिस्टिक र व्यवस्थापनको होस्, ती सबै विषयमा पहिले-पहिले के हुन्थ्यो ? यही केन्द्रीय समितिले निर्णय गर्थ्यो नि, होइन ? त्यसरी नै बनाउँथ्यो। गर्ने त त्यही नै हो।
तर, सबै साथीहरूको चित्त बुझ्ने गरी कसरी व्यवस्थापन गर्ने भन्ने कुराको जिम्मेवारी त मेरो हो नि । पार्टी सभापतिको हो, हामी सबैको हो। त्यसैले सबै साथीहरूलाई ‘ल है, चित्त बुझ्यो’ भन्ने स्थिति बनाउने हो।
म तर्सिनँ, दब्दिनँ
जसरी हिजो निर्वाचन समिति बन्दै गर्दा वा सदस्यता छानबिन समिति बन्दै गर्दा— म हिजो महामन्त्री थिएँ, मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो।
आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौँ, हामी सबैले चित्त बुझाएका थियौँ।
त्यसै गरी फेरि छानबिन समिति बनाउने हो कि के गर्ने हो? सबै कुरामा बसेर छलफल गरौँ, कुराकानी गरौँ। सबै साथीहरूलाई समेटेरै अधिवेशनतर्फ लैजाने हो, यो हाम्रो जिम्मेवारी हो।
यो जिम्मेवारी पूरा गर्ने कुरामा कुनै तलमाथि हुने छैन। यसका लागि संवाद गरिरहेको छु, थप संवाद पनि गर्छु। तर एउटा कुरा चाहिँ सबैले ख्याल गरिदिनुहुन म आग्रह गर्न चाहन्छु—तर्साएर चाहिँ म तर्सिन्नँ! दबाएर पनि म दब्दिनँ, र फुक्का ढाँचामा फकाएर पनि फकिन्नँ। मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ। विधानको सीमाभित्र म बस्नुपर्छ र म विधानकै सीमाभित्र बस्छु। नेताहरूप्रति मेरो उच्च सम्मान छ।
‘कांग्रेस चार पुस्ताको पार्टी हो’
सबैलाई जोडेर लिएर जानुपर्छ । किनकि यो पार्टी चार पुस्ताको पार्टी हो। यो पार्टीमा मेरो उमेरभन्दा बढी समय संघर्ष गर्नुभएका नेताहरू अहिले पनि हुनुहुन्छ। ती सबैप्रतिको सम्मानमा मैले रत्तीभर पनि कमी आउन दिनुहुँदैन। यो जिम्मेवारी मैले पूरा गर्नुपर्छ। मैले ‘मैले’ भन्दै गर्दा हामी सबैले पूरा गर्नुपर्छ, यसमा तपाईंहरू सबैको साथ चाहिएको छ।
मेरा साथीहरूप्रति ठूलो भरोसा छ, अझ तल्लो तहमा बसेर काम गरिरहनुभएका साथीहरूप्रति मेरो अझ ठूलो भरोसा छ।
कांग्रेसका सदस्यलाई रुखमा भोट नहाल्ने छुट छैन
थुप्रै साथीहरूले यसपटक पार्टी छोड्नुभएको छैन, तर भोट हाल्नुभएको छैन। पार्टीको जिम्मेवारीमा बसेर रूखमा भोट नहाल्ने साथीहरूले घात गर्नुभएको छ, म यो सधैँ भन्छु।
म किसुनजी (कृष्णप्रसाद भट्टराई) को चुनावको बेला पनि सम्झन्छु— म सानै केटाकेटी थिएँ। रत्नराज्य स्कूलको बाहिरपट्टि बसेर चिट काट्दै गर्दा कांग्रेसकै एकजना नेताले आएर मलाई हप्काउनुभएको थियो। हाम्रो लाइन त अहिले किसुनजीलाई जिताउने छैन भन्दाखेरि— म फुच्चै थिएँ, उहाँ हाम्रै घरपरिवारको सदस्य पनि हुनुहुन्थ्यो र पार्टीको सिनियर नेता पनि हुनुहुन्थ्यो। तर, किसुनजीलाई जिताउने लाइन छैन भन्दा म त्यतिबेलै पनि लडेको थिएँ, जुधेको थिएँ।
बानेश्वरको रत्नराज्य स्कुलअगाडि उहाँहरूले छोडेर जानुभएको त्यो बाहिरको टेबल-कुर्सीमा म आफैँ गएर बसेँ। फुच्चै छँदै मैले चिट काटेर कांग्रेसको त्यो बेन्च सम्हालेको अझै सम्झन्छु। किनकि, रूख चुनाव चिन्ह लिएर गइसकेपछि पार्टीको नेता वा साधारण सदस्य भएर रुखमा भोट हाल्दिनँ भन्न पाइँदैन !
हो, पार्टीका समर्थक र शुभेच्छुकहरूले भने त्यो भन्न पाउँछन् । र यसपटक थुप्रै समर्थक-शुभेच्छुकहरूले भोट हाल्नुभएन। त्यसैले देशभरिका नेपाली कांग्रेसका साथीहरूलाई मेरो आह्वान छ— स्थानीय निर्वाचनभन्दा पहिले ती साथीहरूलाई चिनौँ, भेटौँ, उहाँहरूसँग कुराकानी गरौँ, उहाँहरूको कुरा सुनौँ र फेरि पार्टीमा फर्काऔँ।
नयाँ पुस्ताका साथीहरू ठूलो संख्यामा नयाँ क्रियाशील सदस्यता लिएर आउनुभएको छ, उहाँहरूलाई स्वागत गरौँ। क्रियाशील नलिएका थुप्रै साथीहरूको बीचमा पनि जाऔँ र ती साथीहरूलाई पनि पार्टीमा जोडौँ।
रुख ठूलो हुँदै जाँदा पातहरू फेरिन्छन्, जरा जस्ताको तस्तै हुन्छ
यो बीपी, सुवर्ण शम्शेर, गणेशमान हुँदै बनेको पार्टी हो। यहाँ प्रत्येक जाति र समुदायका संस्थापक नेताहरू हुनुहुन्छ । मधेसी हुनुहुन्छ, थारू हुनुहुन्छ, तामाङ हुनुहुन्छ, राई हुनुहुन्छ, लिम्बू हुनुहुन्छ, मगर हुनुहुन्छ, दलित हुनुहुन्छ, मुस्लिम हुनुहुन्छ… कुन चाहिँ समुदायको योगदान छैन र? यो सबै मिलेर बनेको साझा पार्टी हो, सबैले मलजल गरेर यसको जरा बलियो बनाएका हुन् र यो विशाल ‘रुख’ बनेको हो।
रुख ठूलो हुँदै जाँदा कहिलेकाहीँ पातहरू फेरिन्छन्, र त्यो फेरिनु आवश्यक पनि छ!
कहिलेकाहीँ पुरानो हुन्छ र फेरिन्छ। कहिलेकाहीँ मकिन्छ, कुहिन्छ र फेरिन्छ। तर रूखको जरा जस्ताको तस्तै रहन्छ, बलियो रहन्छ। त्यसैले यो रूखलाई अझ थप बलियो बनाएर अगाडि बढाउने हो।
भदौ २३ र २४ माबारे पहिले नै सम्झाएका थियौं, तर अब कसैलाई दोष दिन चाहन्नँ
त्यसैले म तल्लो तहमा बसेका सम्पूर्ण साथीहरूलाई आग्रह गर्न चाहन्छु— मैले भदौ ८ गतेबाट जे सुरु गरेँ, म त्यहीँ टुंग्याउँछु। भदौ ८ गते संसद् (पार्लियामेन्ट) मा उभिएर मैले भनेका कुराहरू तपाईंहरूलाई स्मरण गराउन चाहन्छु।
भदौ २० गते, भदौ २१ गते, भदौ २२ गते… यहाँ पदाधिकारी थुप्रै साथीहरू साक्षी हुनुहुन्छ। विश्वप्रकाश शर्मा र म त सँगसँगै थियौँ। हामी २० गते पनि शेरबहादुर दाइकै घरमा थियौँ, २१ गते पनि त्यहीँ थियौँ, २२ गते पनि त्यहीँ थियौँ। हामी केही आत्तिएका थियौँ। बाहिर भइरहेका घटनाक्रमहरूबारे बताइरहेका थियौँ। हामी सामाजिक सञ्जाल बन्द नगर्न आग्रह गरिरहेका थियौँ।
सबैजना यहीँ हुनुहुन्छ— महेन्द्र यादव यहीँ हुनुहुन्छ, फर्मुल्लाह मन्सुर यहीँ हुनुहुन्छ। सबैले आफ्नो-आफ्नो ठाउँबाट यी कुराहरू भन्नुभएकै हो।
हामी सामाजिक सञ्जाल बन्द नगर्न भनिरहेका थियौँ। जीवनजी हुनुहुन्छ, जो हामीसँगै पदाधिकारीको बैठकमा जानुहुन्थ्यो। त्यति मात्र होइन, त्यो बेलामा अरू पनि थुप्रै गल्ती-कमजोरी नगर्नका लागि हामी भनिरहेका थियौँ। अरू नेताहरूले पनि भन्नुभएको थियो, यहाँ नआउनुभएका नेताहरूले पनि भन्नुभएको थियो— म कसैलाई दोष पनि दिन्नँ। तर, भयो।
भदौ २२ गते रातिसम्म बसेको सम्झन्छु म। २३ गते घटना भयो— अत्यन्त दुखद घटना भयो। हामी दौडेर गयौं ।
गृहमन्त्रीजीलाई राजीनामा गरायौँ। अब सरकारबाट अलग रहनुपर्छ र सरकार छाड्नुपर्छ भन्ने विचार राख्यौँ, गल्ती स्वीकार गर्नुपर्छ र तत्काल सरकार छोड्नुपर्छ भन्यौँ, तर भएन।
२४ गते बिहान घरबाहिर ठूलो हुल आयो। मेरो परिवारका सदस्यहरू आत्तिएका थिए, जुन स्वाभाविक पनि थियो। तर मैले परिवारलाई सम्झाउँदै भनेँ— केही हुँदैन, हिजो त्यत्रो घटना भएको छ, त्यत्रा केटाकेटीको ज्यान गएको छ, मान्छे रिसाउनु स्वाभाविक हो। रिस प्रकट गर्न आएका हुलान्। ढुङ्गामुढा भयो। तर, एकछिनपछि अर्को ठूलो हुल आयो— त्यो हुलले मसहित मेरा सिंगो परिवारलाई घरभित्रै राखेर आगो लगाइदियो!
तर, केही छिमेकी, केही युवा साथीहरू र आन्दोलनमै आएका केही साथीहरूको सहयोगले गर्दा— घर-सम्पत्तिको कुरा सामान्य भयो, कम्तीमा ठूलो मानवीय क्षति हुन पाएन।
आज म मेरो परिवार लिएर एकजना आफन्तले दिनुभएको आश्रयमा बसिरहेको छु। मेरो आमा-बुबाले बनाउनुभएको घर सबै भस्म भयो।
हामीले थुप्रै कुराहरू गुमाएका छौँ, तर म जहिले पनि के मान्छु भने— त्यो आमाले गुमाएको सन्तानको ज्यानभन्दा ती सबै कुरा साना हुन्। यसलाई यसरी नै सम्झनुपर्छ र सम्झाउनुपर्छ।
घेराबन्दीका बीचबाट बचेर फेरि आउँछु
तर, कहिलेकाहीँ त्यो आश्रयस्थलमा बसेर जब म बेलुका फर्कन्छु, मेरा परिवारका सदस्यहरूले मेरै पार्टीका साथीहरूले मप्रति प्रयोग गर्नुभएका शब्दहरू, निन्दा र आलोचनाका कुराहरू सुनाउनुहुन्छ। अनि म आमा र श्रीमतीलाई भन्छु— यस्ता निन्दा र टीकाटिप्पणीको धेरै चिन्ता नगर्नुहोस्। सामाजिक सञ्जाल यस्तै हुन्छ, यसले निन्दालाई अलि बढी नै बढाएर देखाउँछ। मलाई माया गर्ने मान्छेहरू तल गाउँमा हुनुहुन्छ, टोलमा हुनुहुन्छ, देशभरि छरिएर बसेका थुप्रै साथीहरू हुनुहुन्छ।
यी थुप्रै साथीहरूले माया नगरेको भए पटक-पटकको घेराबन्दीका बीचबाट म बचेर आउने नै थिइनँ। हिजो पनि घेराबन्दीकै बीचबाट बचेर आएको हो, आज पनि घेराबन्दीकै बीचबाट बचेर फेरि आउँछु, फेरि निस्कन्छु!
नेपाली कांग्रेसका थुप्रै साथीहरू हुनुहुन्छ। कांग्रेसभन्दा बाहिर पनि समर्थक र शुभेच्छुक साथीहरू हुनुहुन्छ। थुप्रै साथीहरूको माया छ— कांग्रेसलाई पनि छ, मलाई पनि छ। त्यसैले त्यो माया र विश्वासलाई सँगालेर, त्यसैको ताकतका आधारमा नेपाली कांग्रेसलाई फेरि एकपटक हाम्रा संस्थापक नेताहरूले बनाउनुभएको जस्तै एउटा दरिलो र गर्विलो पार्टी बनाउने संकल्प लिएका छौँ। हामी सक्छौँ भनेर म आफ्नो परिवारका सदस्यहरूलाई भन्छु।
केही समय लाग्ला, तर हामी यो पार्टी सम्हाल्छौँ। यो पार्टीको महाधिवेशन पनि गर्छौँ, समयमै गर्छौँ। पार्टीका सबै साथीहरूलाई जोड्छौँ। पार्टीको न्यायिक लडाइँ पनि लड्छौँ, कानुनी लडाइँ पनि लड्छौँ र राजनीतिक लडाइँ पनि लड्छौँ। सबै खालका घेराबन्दीहरू चिरेर अघि बढ्छौँ!
हामीभन्दा बाहिर बसेका शक्ति र सत्ताले नेपाली कांग्रेसलाई कसरी घेराबन्दी गरिरहेका छन् भन्ने कुराको हामीलाई राम्रो जानकारी छ । सबै सूचना हामीले राखेका छौँ। ती सबैसँग लड्ने र जुध्ने तागत हामी राख्छौँ भन्ने विश्वासका साथ हामी अगाडि बढ्नुपर्छ।
प्रतिक्रिया 4