२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि गरिने राजनीति गर्न सत्ता–शक्ति नचाहिने बताएका छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि राजनीति गर्न सकिने बताएका हुन् ।
‘सेवाभावमा गरिने राजनीति, नागरिकको अधिकारका लागि गरिने राजनीतिका निम्ति सधैँभरि सत्ता–शक्ति चाहिँदैन । कहिलेकाँही सत्ताभन्दा बाहिर बसेर गर्न सकिन्छ । वा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कहिलेकाँही शक्तिभन्दा बाहिर बसेर बढी गर्नुपर्ने हुन्छ । सत्ता र शक्तिसँग कहिलेकाँही अलग थलग रहेर गर्नुपर्ने हुन्छ ।’
सत्ता र शक्ति लक्ष्य नभएर केवल साधनमात्रै भएको सभापति थापाको भनाइ थियो । ‘सत्ता र शक्ति प्राइमरी होइन, सत्ता र शक्ति फाइनल होइन । सत्ता र शक्ति लक्ष्य होइन, सत्ता र शक्ति केवल साधनमात्रै हो,’ उनले भने, ‘केवल माध्यममात्रै हो । यो नेपाली कांग्रेस हो ।’
सभापति थापाले पार्टीको आत्मा नमारिकन पार्टीलाई एकढिक्का बनाउने पनि बताए । ‘पार्टीभित्र नमिलेका कुराहरूलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउने पनि हो,’ उनले भने, ‘तर, पार्टीको आत्मा नमारिकन बनाउने हो । यसको क्यारेक्टर खोजेर, पुनर्स्थापित गरेर बनाउने हो ।’
सभापति थापाले पार्टीका कार्यकर्तालाई छाती पिटेर ‘म कांग्रेसको झोले हुँ’ बनाउन सक्ने कांग्रेस बनाउने पनि जिकिर गरे । ‘कसैले तिमी कांग्रेसको झोले हो भन्दा, हो म झोले हो भनेर छाती पिट्न सक्ने बनाउन सक्ने कांग्रेस हामीले बनाउनु पर्नेछ ।’
सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने पनि बताए ।
‘केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने नै छौं । दुई तीनदिन बैठक चल्छ,’ उनले भने, ‘बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने छन् ।’
प्रतिक्रिया 4