+

विकट महाभारतमा विकासको महाभारत लडिरहेका कान्छालाल

काँधमा बन्दुक बोकेर माओवादी युद्धमा होमिएका कान्छालाल जिम्बा आज काभ्रेको महाभारत गाउँपालिकामा दोस्रो कार्यकालमा अध्यक्ष छन्। महाभारत गाउँ सडक, बिजुली र सरकारविहीन थियो। जिम्बाले अहिले सडक, विद्युतीकरण, कफी खेतीबाट पालिकामा परिवर्तन मात्र ल्याएका छैनन्, महालेखाको परीक्षणमा लगातार तीन वर्ष 'शून्य बेरुजु' कायम गराएर सुशासनको नमूना पनि प्रस्तुत गरेका छन्।
पूरा सूची
Shares
कान्छालाल जिम्बा
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्रमा सडक सञ्जाल विस्तार, विद्युतीकरण र कफी खेतीमार्फत गाउँको मुहार फेरेका छन्।
  • महाभारत गाउँपालिका महालेखा परीक्षकको प्रतिवेदन अनुसार लगातार तीन वर्ष शून्य बेरुजु कायम गर्दै पारदर्शिता र सुशासनको उत्कृष्ट नमुना बनेको छ।
  • पालिकाले स्थानीयका लागि घरदैलो स्वास्थ्य सेवा सुरु गर्नुका साथै जटिल अवस्थाका २१ जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरी मातृमृत्युदरमा सुधार ल्याएको छ।

काभ्रेपलाञ्चोकको कर्णालीभनेर चिनिने डाँडापारिको साविक गोकुले गाविस। यहाँका बासिन्दालाई जिल्ला सदरमुकाम पुग्न २–३ दिन हिंड्नुपर्थ्यो। गाडी, बिजुली, अस्पताल देख्न शहर नै जानुपर्ने बाध्यता थियो। परिवर्तन ल्याउने जिम्मा पाएका छन् त्यही गाउँका कान्छालाल जिम्बाले।

विकट गाउँमा अभाव बीच हुर्किएका कान्छालाल महाभारत गाउँपालिकाको अध्यक्षको रूपमा दोस्रो कार्यकाल चलाइरहेका छन्। उनी २६ वर्षकै उमेरमा २०७४ सालमा देशकै कान्छो गाउँपालिका अध्यक्षमध्ये एकका रूपमा निर्वाचित भएका थिए।

मृत्युलाई जितेका तीन घटना

आठ कक्षासम्म नजिकैको विद्यालयमा पढेका कान्छालाल नौ कक्षा पढ्न दुई घण्टा हिंडेर साल्मेचाकलको तालढुंगास्थित जनविकास मावि जान्थे। २०५९ सालमा उनी नौ कक्षामा पढ्दै थिए। तत्कालीन माओवादी सम्बद्ध विद्यार्थी संगठनका केही कार्यकर्ता विद्यालयमा आए।

शुरुमा जिम्बा र उनका साथीहरूले उनीहरूलाई फर्काइदिए। तर, तेस्रो प्रयासमा उनीहरूले विद्यालयमा तीन घण्टाको प्रशिक्षण दिए। प्रशिक्षणमा संघीयता, विकास, न्याय र मुक्तिका कुरा सुनेपछि म प्रभावित भएँ‘, जिम्बा सम्झन्छन्। उनी माओवादी युद्धमा होमिए।

युद्धको यात्रा सहज थिएन। उनले मृत्युलाई अत्यन्त नजिकबाट देखेका तीन घटना उनको स्मृतिमा अझै ताजै छन्।

पहिलो घटना, उनी भूमिगत भएको तीन महिनापछिको हो। डाँडापारिकै फलामेटारको दयागाउँमा कार्यक्रम चलिरहेको थियो। कार्यक्रम चलिरहेकै बेला तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टरको आवाजले आकाश थर्कियो र हेलिबाटै बम वर्षिन थाल्यो। यता माओवादी टोलीसँग साना हतियार र सकेट बम मात्र थिए। कार्यक्रम स्थलमा भागाभाग भयो, भेला तितरबितर भयो। जिम्बा र उनका एक साथी भीरैभीर झरे र घनघोर जङ्गलको बाटो भागे। भाग्दाभाग्दै रात पर्‍यो।

जङ्गलमा चराचुरुङ्गी कराउँदा वा पात हल्लिंदा पनि सेना आयो कि भनेर मुटु काँप्थ्यो। रातभर जङ्गलको एउटा ओढारमा बिताएर भोलिपल्ट उज्यालोमा हेर्दा मात्र थाहा भयो, उनीहरू त कहालीलाग्दो भीरको खोचमा ओत लागेका रहेछन्। तेस्रो दिन मात्र बस्तीमा पुगेको उनी बताउँछन्।

दोस्रो घटना, उनी माओवादी सेनालाई रुट देखाउने जिम्मामा थिए। काभ्रेकै रोशी खोलाको नार्केमा नेपाली सेना र माओवादी बीच मुठभेड भयो। करिब १० मिनेटको भिडन्तमा दुईतर्फी गोली र बम वर्षिए। सेनातर्फ करिब आठ जनाको मृत्यु भयो भने टोलीले ८ थान अत्याधुनिक हतियार सहित २ सैनिकलाई नियन्त्रणमा लियो। माओवादीतर्फ पनि दुई जनाको ज्यान गयो। एक छिनअघिसम्म सँगै भएको साथीको लास खाल्डो खनेर पुर्दा निकै नरमाइलो लाग्यो,उनी भन्छन्।

तेस्रो घटना त २०६२/६३ को जनआन्दोलनताका हो। सिन्धुपाल्चोकको सदरमुकाम चौतारा कब्जा गर्ने योजना थियो। उनी यस पटक पनि स्वयंसेवकको नेतृत्व र मेडिकल टिमलाई रुट देखाउने टोलीको नेतृत्व गर्दै थिए। राति १० बजे चौतारामा आक्रमण गर्ने योजना थियो। तर, योजनाभन्दा ५ मिनेटअघि नै फायर खुल्यो। रातभर चौतारा बजार गोलाबारी र बम विस्फोटले थर्कियो। बिहान ५ बजे हेडक्वार्टरबाट पछि हट्ने आदेश आयो।

रातभरको युद्धपछि बिहान फर्कने क्रममा ठोकर्पा पुग्दा नपुग्दै हवाई आक्रमण भयो। त्यो भीषण हमलामा माओवादीका धेरै कार्यकर्ता हताहत भए।

तर जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा गयो र कान्छालाल पनि विद्यालय फर्किए। एसएलसी पास गरेपछि बनेपाबाट प्लस टु पढे। स्नातक पढ्दै गर्दा भने उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भए।

सिंहदरबारको अधिकार, स्कूलको चौरमा शपथ

२०७४ सालमा माओवादी केन्द्रबाट टिकट पाएर पालिका अध्यक्ष त भए, तर काम शुरु गर्न सहज थिएन। सिंहदरबारको अधिकार गाउँगाउँमाभनिएको थियो तर जनप्रतिनिधिले शपथ लिन भेला हुने संरचना पनि महाभारत गाउँपालिकामा थिएन। स्थानीय आजाद आधारभूत विद्यालयको चौरमा शपथ लिएँ। पालिकाभरि जम्मा दुई जना कर्मचारी उपस्थित थिएउनी भन्छन्, ‘उनीहरूलाई बस्न पनि कार्यालय थिएन।

वडा कार्यालयहरू स्थापना गर्नै चार महिना लाग्यो। उनले विद्यालयकै एउटा टहरो भाडामा लिएर पालिकाको काम शुरु गरे। २०७६ सालमा देवीटारमा अस्थायी टहरा बनाएर कार्यालय सारेका उनले अहिले ९ वर्षपछि पालिका र वडाका कार्यालय आफ्नै सुविधासम्पन्न भवनहरूमा सारिसकेका छन्।

सडक र उज्यालो गाउँको यात्रा

२०७४ सम्म महाभारत गाउँपालिका पुग्न दुई स्थानबाट ट्र्याक मात्र खुलेको थियो। वडाबाट पालिका केन्द्र पुग्न नै ५–६ घण्टासम्म हिंड्नुपर्थ्यो। 

जिम्बाले आफ्नो पहिलो कार्यकालको मुख्य प्राथमिकता नै सडक सञ्जाललाई दिए। बजेट र योजनालाई एकीकृत गर्दै पालिकाले ३४३ किलोमिटर सडकको ट्र्याक खोल्यो भने २८ किलोमिटर सडक ढलान र कालोपत्रे गरेको छ। अस्ति भर्खर हो, गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयले बसलाई फूलमाला र अबिरले पूजा गरे‘, जिम्बा भन्छन्। 

बागमती प्रदेश र संघीय सरकारको समपूरक बजेट मार्फत करोडौंका ठूला सडक आयोजना अहिले कार्यान्वयनको चरणमा छन्। बीपी राजमार्गको पिन्थली–रजवास–चारकिल्ला–देवीटार–घर्तीछाप–गोकुले हुँदै खानीखोलाको तालढुंगाबाट मकवानपुरको झुरझुरेसम्मको ७९ किमी सडक बन्दैछ। पालिका कार्यालयदेखि तीनखुट्टेसम्म, रजवास हुँदै चारकिल्लादेखि तीनखुट्टेसम्मको सडक, देवीटारदेखि घर्तीछाप हुँदै सोलाभञ्ज्याङ सडकको निर्माण अन्तिम चरणमा पुगेको छ भने लामडाडादेखि गोकुले धापहुँदै छोटेसाहनसम्मको सडक पनि निर्माण भइरहेको छ। 

सडकसँगै महाभारतको अर्को ठूलो समस्या विद्युतीकरणमा थियो। ३२०० घरधुरीमध्ये या त अन्धकारमा थिए वा साना लघुजलविद्युतको भरमा थिए। निरन्तरको पहलपछि एडीबीको सहयोगमा १ अर्ब ५६ करोड रुपैयाँको लागतमा दुई वटा सब-स्टेसन बनाएर पालिकामा विद्युतीकरण आयोजना शुरु भयो। 

पछि सरकारले थप ३२ करोडको ठेक्का सम्झौता गरेपछि पालिका पूर्ण रूपमा विद्युतीकरण भएको छ। मिटरबक्स जोड्न नसक्ने घरधुरीलाई पालिकाले एक हजार रुपैयाँ अनुदान समेत दिएको छ।

जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट 

सडक र बिजुली पुगेपछि गाउँपालिकाले स्थानीयको आयआर्जन बढाउन कृषिलाई जोड दियो। महाभारतको भूगोल र हावापानी कफी खेतीका लागि उपयुक्त देखिएपछि आर्थिक वर्ष २०७७/७८ देखि आकर्षक अभियान शुरु भयो– जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट।‘ 

किसानले मापदण्ड अनुसार खाल्डो खनेर कफीको बिरुवा रोपेपछि पालिकाले अनुगमन गरेर प्रति बिरुवा २० रुपैयाँ प्रोत्साहन दिन्छ। यसले गर्दा अहिले महाभारतमा १ हजार ९५० घरधुरीबाट ४ लाख ५० हजार बिरुवा रोपिएको पालिकाका कृषि शाखा प्रमुख खिमबहादुर डाँगीको भनाइ छ। चिया हेर्न इलाम जाने भने जस्तै कफी हेर्न महाभारत जाने भन्ने उक्ति बनाउने हो, त्यही उद्देश्यले हामी खटिइरहेका छौं‘, डाँगी भन्छन्। 

उत्पादन शुरु भएसँगै साना किसान कृषि सहकारी संस्था खोलेर कफीको ग्रेडिङ शुरु गरिएको छ। हाल काँचो कफी प्रतिकिलो १६५ र प्रशोधित कफी १२०० रुपैयाँसम्म बिक्री भइरहेको छ। 

यो वर्ष महाभारत गाउँपालिकामा ९ करोड रुपैयाँ बराबरको कफी कारोबार भएको दाबी छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको कफी कपिङ च्याम्पियनसिपमा यहाँ उत्पादित कफीले देशमै दोस्रो र तेस्रो स्थान हासिल गरेको छ। गुणस्तरीय कफी उत्पादनमा सहयोग पुर्‍याएको भन्दै कफी विकास बोर्डले समेत गाउँपालिकालाई सम्मान गरेको छ। 

कफीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवाहरू समेत फर्केर खेतीमा लाग्न थालेका छन्।

सुशासन: लगातार तीन पटक शून्य बेरुजु 

काम धेरै गर्ने तर आर्थिक अनुशासन कायम गर्न नसक्ने स्थानीय तहहरूको भीडमा महाभारत गाउँपालिका एउटा अपवाद बनेको छ। महालेखा परीक्षकको ६१औं, ६२औं र ६३औं वार्षिक प्रतिवेदनमा यो पालिका लगातार तीन वर्ष शून्य बेरुजुकायम गर्न सफल भएको छ। 

सुरुआती वर्षहरूमा नियम-कानूनको अनभिज्ञताले केही बेरुजु देखिए पनि पछि जनप्रतिनिधि र कर्मचारीले सामूहिक प्रतिबद्धता जनाएर काम गरे। कानूनबमोजिम मात्र भुक्तानी गर्ने, अवण्डामा बजेट नराख्ने र ऐन-कार्यविधिलाई कडाइका साथ पालना गर्ने नियम बनायौंजिम्बा भन्छन्, ‘शून्य बेरुजु हुनु भनेको पालिकामा पारदर्शिता र सुशासन छ भन्ने प्रमाण हो।जनप्रतिनिधि र कर्मचारीले मिलेर काम गर्दा र सामूहिक प्रतिबद्धता व्यक्त गर्दा नहुने काम केही छैन भन्ने उदाहरण शून्य बेरुजु पनि हो।

स्वास्थ्यमा हेलि उद्धारर घरदैलो सेवा 

भौगोलिक विकटताका कारण सामान्य सुगर र प्रेसरका बिरामीले समेत अकालमा ज्यान गुमाउनुपर्ने वा रोग पालेर बस्नुपर्ने अवस्था थियो। वृद्धवृद्धाहरू घण्टौं हिंडेर स्वास्थ्य संस्था पुग्न सक्दैनथे। 

यसलाई मध्यनजर गर्दै उनले महाभारत बन्दैछ, बा–आमालाई सन्चैछभन्ने भावनात्मक र जनमुखी नारासहित नवीन अभियान चलाए। पालिकाले बाक्लो बस्ती भएका ४० वटा टोल पहिचान गर्‍यो। जहाँ जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको संयुक्त टोली घरदैलोमै पुगेर नियमित स्वास्थ्य परीक्षण र औषधि वितरण गरिरहन्छ। यसले स्थानीय वृद्धवृद्धामा हाम्रो पनि सरकार छभन्ने भरोसा जगाएको छ। 

त्यसैगरी, मातृमृत्युदर घटाउन उनले गरेको नीतिगत सङ्घर्ष पनि उल्लेखनीय छ। शुरुमा संघीय सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट सुत्केरीको उद्धार हुँदा महाभारत गाउँपालिका दुर्गमको सूचीमै परेको थिएन। तर जिम्बाले एक वर्षसम्म सिंहदरबार धाएर कार्यविधि नै संशोधन गराएर पालिकालाई उक्त कार्यक्रममा समावेश गराए। 

हालसम्म २१ जना जटिल अवस्थाका गर्भवती तथा सुत्केरीको हेलिकोप्टर मार्फत सफल उद्धार भइसकेको छ। यसका साथै, स्वास्थ्य संस्थामै गएर सुत्केरी जाँच गराउनेलाई ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था लागू गरेपछि मातृ तथा शिशु स्वास्थ्यमा ठूलो सुधार आएको छ। 

बागमती प्रदेशले तोकेका स्वास्थ्य सूचकांकहरूमा महाभारत गाउँपालिका काभ्रेभित्र लगातार उत्कृष्ट हुँदै आएको छ। 

किताब कापी बोकेर विद्यालय जाने कलिलो उमेरमा काँधमा बन्दुक बोकेर हिंडेका कान्छालालको जीवन साँच्चै धरापमा थियो। तर, परिवर्तनको आकांक्षा बोकेर हिंडेको एउटा युवा जनप्रतिनिधि भएपछि गाउँ निर्माणको अभियन्ता बनेको छ। गाउँको मुहार कसरी फेरिन सक्छ भन्ने बलियो उदाहरण पनि प्रस्तुत भएको छ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् ।