News Summary
Generated by OK AI. Editorially reviewed.- हाँस्यव्यंग्य अभिनयमा आधारित नयाँ टेलिभिजन रियालिटी शो ‘सुपर कमेडी लिग’ आउने भएको छ ।
- अभिनेता राजेश हमालले उक्त शोमा ‘लिग प्रेसिडेन्ट’को भूमिका निर्वाह गर्ने भएका छन् ।
- देशका ५ सहरमा अडिसन गरिने र ३२ जना प्रतिस्पर्धीलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
काठमाडौं । हाँस्यव्यंग्य अभिनयमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर कमेडी लिग’ आउने भएको छ । निर्माता कम्पनी ओपन डोर्स इन्टरटेनमेन्टले आयोजित पत्रकार सम्मेलनमा शो आउने घोषणा गरेको हो ।
यो शोमा अभिनेता राजेश हमालले ‘लिग प्रेसिडेन्ट’को भूमिका निर्वाह गर्नेछन् । अन्य फिल्म कलाकार विल्सनविक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्त मेन्टरको रुपमा रहने भएका छन् ।
कार्यक्रमका लागि ५ सहरमा अडिसन आयोजना गरिने भएको छ । २९ साउनमा दमकस्थित कदम थिएटर, ३१ साउनमा नारायणगढस्थित राइनो वाटर होटल, २ भदौमा नेपालगञ्जस्थित सिद्धार्थ होटल, ४ भदौमा पोखरास्थित पोखरा थिएटर र ६ भदौमा काठमाडौंमा अडिसन हुनेछ ।
अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई ४ समूहमा विभाजन गरिने र ८ जनाको उक्त समूहको नेतृत्व ४ जना क्याप्टेनले गर्नेछन् । अडिसनमा सहभागी हुन नपाएका र नेपालबाहिर रहेका नेपालीभाषी इच्छुक प्रतिभाले डिजिटल अडिसनमार्फत आफ्नो भिडियो सामग्री पठाएर पनि सहभागी हुन सक्ने जनाइएको छ ।
आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता हमालले कमेडी विधा चुनौतीपूर्ण हुने बताउँदै आफूले पनि कुनैबेला कमेडी गर्न प्रयास गरेको अनुभव सुनाए । प्रतिस्पर्धीको प्रस्तुति हेर्न आफू उत्साही रहेको जनाउँदै हमालले अहिलेको पुस्तामा कमेडीको स्वाद र शैली फेरिएको बताएका छन् ।
कार्यक्रमको उद्देश्य परम्परागत रूपमा कमेडियन खोज्नु मात्र नभई कमेडी–एक्टमा प्रस्तुति गर्न सक्ने उत्कृष्ट एक्टरको खोजी गर्नु पनि रहेको जनाइएको छ ।
नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशक भन्दा लामो समय अनुभव बटुलेका तथा नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगी बुगी, मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स लगायत निर्देशन गरिसकेका एलिन श्रेष्ठले यो शोको निर्देशन गर्ने भएका छन् ।
कार्यक्रमको नियमित प्रसारण एक राष्ट्रिय टिभी च्यानलबाट भाद्र अन्तिम सातादेखि सुरु गरिने जनाइएको छ ।
प्रतिक्रिया 4