+

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

२०८३ साउन  २६ गते १७:२७ २०८३ साउन २६ गते १७:२७
Shares
रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रजोनिवृत्ति महिलाको जीवनको एउटा स्वाभाविक जैविक प्रक्रिया हो, जसलाई रोगका रूपमा नभई जीवनको एउटा नयाँ अध्यायका रूपमा स्वीकार गर्न आवश्यक छ ।
  • नेपालमा महिलाको औसत आयु बढ्दै गएकाले अधिकांश नेपाली महिलाले आफ्नो जीवनको करिब एक–तिहाइ समय रजोनिवृत्तिपछिको अवस्थामा बिताउने गर्दछन् ।
  • सन्तुलित आहार, नियमित व्यायाम र आवश्यक चिकित्सकीय परामर्शका माध्यमबाट रजोनिवृत्तिपछिको जीवनलाई स्वस्थ, सक्रिय र गुणस्तरीय बनाउन सकिन्छ ।

रजोनिवृत्ति ‘मनोपोज’ महिलाको जीवनको एउटा स्वाभाविक जैविक प्रक्रिया हो । यो कुनै रोग होइन, बरु प्रजनन क्षमताको अन्त्यसँगै सुरु हुने नयाँ जीवनचक्र हो । यद्यपि यससँग सम्बन्धित शारीरिक, मानसिक र सामाजिक परिवर्तनका कारण धेरै महिलाले दैनिक जीवनमा कठिनाइ अनुभव गर्छन् । दुर्भाग्यवश, हाम्रो समाजमा यसबारे खुला छलफल कम हुने भएकाले धेरै महिलाले अनावश्यक पीडा सहनुपर्छ ।

नेपालमा महिलाको औसत आयु बढ्दै गएको छ । यसको अर्थ, एक महिलाले आफ्नो जीवनको झण्डै एक–तिहाइ समय रजोनिवृत्तिपछिको अवस्थामा बिताउँछन् । त्यसैले रजोनिवृत्तिबारे सही जानकारी, समयमै पहिचान र उचित व्यवस्थापन आजको आवश्यकता हो ।

रजोनिवृत्ति भनेको के हो ?

रजोनिवृत्ति भन्नाले लगातार १२ महिनासम्म प्राकृतिक रूपमा महिनावारी बन्द भएको अवस्थालाई जनाउँछ । यो अण्डाशयले अण्डा उत्पादन गर्न छोडेपछि र एस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोनको मात्रा उल्लेखनीय रूपमा घटेपछि हुन्छ ।

सामान्यतया विश्वभर औसत उमेरः ५१–५२ वर्ष र नेपालमा औसत उमेरः लगभग ४८–४९ वर्षमा रजोनिवृत्ति हुन्छ । जुन विकसित देशहरूको तुलनामा केही कम देखिन्छ ।

४० वर्षभन्दा अघि रजोनिवृत्ति भएमा

‘प्रिमेच्युर मनोपोज’ वा ‘प्राइमरी ओभरियन इनसफ्सेन्सीको’ सम्भावना हुन्छ, जसका लागि विशेषज्ञको मूल्यांकन आवश्यक हुन्छ ।

विश्व र नेपालको अवस्था

विश्व स्वास्थ्य संगठन (डब्दुइचओ) तथा संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार विश्वमा १ अर्बभन्दा बढी महिलाहरू रजोनिवृत्ति वा रजोनिवृत्तिपछिको अवस्थामा छन् । प्रत्येक वर्ष करिब ४ करोड ७० लाख महिलाहरू रजोनिवृत्तिमा प्रवेश गर्छन् ।

नेपालमा पनि महिलाको औसत आयु ७० वर्षभन्दा माथि पुगेको छ । यसको अर्थ अधिकांश नेपाली महिलाले २०–३० वर्षसम्म रजोनिवृत्तिपछिको जीवन बिताउँछन् । त्यसैले यो केवल महिनावारी बन्द हुने अवस्था मात्र नभई दीर्घकालीन स्वास्थ्य व्यवस्थापनसँग जोडिएको विषय हो ।

किन हुन्छ रजोनिवृत्ति ?

महिलाको जन्मदेखि नै अण्डाशयमा सीमित संख्यामा अण्डाहरू हुन्छन् । उमेर बढ्दै जाँदा यी अण्डाहरू क्रमशः समाप्त हुँदै जान्छन् । फलस्वरूप एस्ट्रोजेन उत्पादन घट्छ, प्रोजेस्टेरोन उत्पादन कम हुन्छ । यसरी महिनावारी अनियमित हुँदै अन्ततः बन्द हुन्छ । यी हर्मोनहरू कम हुँदा शरीरका धेरै अंगहरू प्रभावित हुन्छन्, किनकि एस्ट्रोजेनले केवल प्रजनन प्रणाली मात्र होइन, हड्डी, मुटु, मस्तिष्क, छाला, मूत्रनली तथा यौन स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

रजोनिवृत्तिका चरणहरू

१. रजोनिवृत्तिपूर्व अवस्था

यो अवस्था रजोनिवृत्ति हुनुभन्दा केही वर्षअघि सुरु हुन्छ । महिनावारी अनियमित हुने, हट फ्ल्यास सुरु हुने तथा मानसिक परिवर्तन देखिन थाल्छ ।

२. रजोनिवृत्ति

लगातार १२ महिनासम्म महिनावारी नभएपछि यो अवस्था पुष्टि हुन्छ ।

३. रजोनिवृत्तिपछिको अवस्था

यस अवस्थामा केही लक्षण कम हुँदै जान्छन्, तर हड्डी कमजोर हुने, मुटुरोग तथा मेटाबोलिक रोगहरूको जोखिम बढ्न सक्छ ।

रजोनिवृत्तिका प्रमुख लक्षणहरू

सबै महिलामा एउटै प्रकारका लक्षण देखिँदैनन् । कसैमा सामान्य हुन्छ भने कसैमा दैनिक जीवन नै प्रभावित हुने गरी गम्भीर हुन सक्छ ।

शारीरिक

–शरीर एक्कासि तातो हुने

–राति धेरै पसिना आउने

–मुटु छिटो धड्किने

मानसिक तथा भावनात्मक लक्षण

–चिडचिडापन

–तनाव

–चिन्ता

–डिप्रेसन

–स्मरणशक्ति कमजोर भएको महसुस

–ध्यान केन्द्रित गर्न कठिनाइ

निद्रासम्बन्धी समस्या

–अनिद्रा

–राति पटक–पटक ब्युँझिने

यौन तथा मूत्रसम्बन्धी समस्या

–योनी सुख्खा हुने

–यौन सम्पर्क गर्दा दुख्ने

–यौन इच्छा कम हुने

–बारम्बार पिसाब लाग्ने

–पिसाब चुहिने

–पिसाब संक्रमण दोहोरिने

शारीरिक परिवर्तन

–तौल बढ्ने

–पेटमा बोसो जम्ने

–छाला सुख्खा हुने

–कपाल पातलो हुने

–जोर्नी तथा मांसपेशी दुख्ने

–थकान

दीर्घकालीन स्वास्थ्य असर

रजोनिवृत्ति केवल तत्कालीन लक्षणमा सीमित हुँदैन । यसले निम्न जोखिम बढाउँछ:

–हड्डी खिइने

–हड्डी भाँचिने जोखिम

–मुटु तथा रक्तनलीका रोग

–उच्च रक्तचाप

–मधुमेह देखिन सक्ने

–उच्च कोलेस्टेरोल

रजोनिवृत्तिमा जीवनशैलीको भूमिका

उचित जीवनशैलीले धेरै महिलामा औषधिबिनै लक्षण नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

कस्तो आहार लिने ?

–क्याल्सियम प्रशस्त भएको खाना

–भटामिन डी

–दूध तथा दुग्धजन्य पदार्थ

–हरियो सागसब्जी

–फलफूल

–प्रोटिनयुक्त भोजन

–भटमास, सोया तथा टोफुजस्ता फाइटोएस्ट्रोजन भएका परिकार

कुन व्यायाम गर्ने ?

–दैनिक ३०–४५ मिनेट हिँड्ने

–स्ट्रेन्थ ट्रेनिङ

–योग

–किगेल व्यायाम

अन्य उपाय

–धूम्रपान नगर्ने

–मदिरा कम गर्ने

–तौल नियन्त्रण गर्ने

–पर्याप्त निद्रा लिने

–ध्यान तथा तनाव व्यवस्थापन गर्ने

–धेरै तातो महसुस हुँदा हल्का कपडा लगाउने र चिसो वातावरणमा बस्ने

हार्मोन प्रतिस्थापन थेरापी

हार्मोन प्रतिस्थापन थेरापीले धेरै महिलामा तातो चमक, रातिको पसिना तथा योनी सुख्खापनमा उत्कृष्ट राहत दिन सक्छ । साथै यसले हड्डी खिइने जोखिम पनि कम गर्छ । तर यो सबैका लागि उपयुक्त हुँदैन ।

कुन अवस्थामा विशेष सावधानी आवश्यक हुन्छ ?

–स्तन क्यान्सरको इतिहास

–गर्भाशयको भित्री तहको क्यान्सर (एन्डोमेट्रियल क्यान्सर)

–गहिरो नसामा रक्तनाली थक्का बन्ने रोग

–मस्तिष्कघात (स्ट्रोक)

–गम्भीर कलेजो रोग

–अस्पष्ट योनी रक्तस्राव

त्यसैले हर्मोन प्रतिस्थापन थेरापी विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार मात्र सुरु गर्नुपर्छ । आधुनिक अन्तर्राष्ट्रिय सिफारिसअनुसार, उपयुक्त महिलामा सही मात्रा र उचित समयका लागि यो सुरक्षित र प्रभावकारी मानिन्छ ।

कहिले चिकित्सकलाई भेट्ने ?

–४० वर्षअघि महिनावारी बन्द भएमा

–अत्यधिक रक्तस्राव भएमा

–रजोनिवृत्तिपछि पुनः रक्तस्राव भएमा

–दैनिक जीवन प्रभावित हुने तातो चमक भएमा

–यौन सम्पर्क गर्दा धेरै दुखाइ भएमा

–पिसाब चुहिने वा संक्रमण दोहोरिने भएमा

–अस्टियोपोरोसिसको जोखिम भएमा

रजोनिवृत्ति र मानसिक स्वास्थ्य

धेरै महिलाले आफू बूढी भएको, आकर्षण घटेको वा जीवनको महत्त्वपूर्ण चरण समाप्त भएको महसुस गर्न सक्छन् । यस्ता धारणा सही होइनन् । रजोनिवृत्ति महिलाको सक्रिय, स्वस्थ र सफल जीवनको अन्त्य होइन । उचित जानकारी, परिवारको सहयोग र चिकित्सकीय परामर्शले यो चरण सहज बनाउन सकिन्छ ।

विश्वव्यापी जनचेतना

विश्वभर विश्व रजोनिवृत्ति जनचेतना महिना (अक्टोबर) तथा विश्व रजोनिवृत्ति दिवस (अक्टोबर १८) का अवसरमा अन्तर्राष्ट्रिय रजोनिवृत्ति समाज, विश्व स्वास्थ्य संगठन तथा विभिन्न राष्ट्रिय संस्थाहरूले रजोनिवृत्तिबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्छन् । अहिले विश्वभर महिलाको स्वास्थ्य नीतिमा रजोनिवृत्तिलाई प्राथमिकताका साथ समेट्ने प्रयास भइरहेको छ ।

रजोनिवृत्ति जीवनको अपरिहार्य र स्वाभाविक चरण हो । यसलाई रोगका रूपमा होइन, जीवनको नयाँ अध्यायका रूपमा स्वीकार गर्न आवश्यक छ । सही जानकारी, सन्तुलित आहार, नियमित व्यायाम, मानसिक स्वास्थ्यको हेरचाह, आवश्यक परीक्षण तथा विशेषज्ञ चिकित्सकको सल्लाहले महिलाहरूले रजोनिवृत्तिपछिको जीवन पनि पूर्ण रूपमा स्वस्थ, सक्रिय र गुणस्तरीय बनाउन सक्छन् ।

रजोनिवृत्तिबारे खुला संवाद, वैज्ञानिक जानकारी र सामाजिक समर्थन बढाउनु आजको आवश्यकता हो । स्वस्थ महिला, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि रजोनिवृत्तिलाई प्राथमिकताका साथ बुझ्न र व्यवस्थापन गर्नुपर्छ ।

महिला महिला स्वास्थ्य रजोनिवृत्ति
डा. दीपा चुडाल
लेखक
डा. दीपा चुडाल
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. चुडाल काठमाडौं पानीपोखरीस्थित नेपाल प्रहरी अस्पताल र शंखमूलस्थित हेल्थ केयर प्रालिमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९११० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय