+

सगरमाथाकै १० फन्को लगाएपछि हिमालकै मुद्दा बाेकेर संसद् आराेहण 

भरियाबाट शुरु भएको यात्राले सगरमाथाको चुचुरोमा १० फन्को घुमायाे। ८ हजार मिटरभन्दा अग्ला हिमालमा साढे तीन दर्जन आरोहण गरायो। सन् २०२१ मा हिउँदमा पाकिस्तानको माउन्ट केटू चढ्ने कीर्तिमानी टोली तयार पार्ने जिम्मेवारी पूरा गरेका मिङमा डेभिडले भर्खरै आफ्ना साझेदार निम्स दाइलाई पाकिस्तानमा गुमाएका छन्। हिमालमा उद्धारको मुद्दामा उनी विगत १० वर्षदेखि सक्रिय छन् भने हिमालकै मुद्दा बाेकेर अहिले संसद् पनि पुगेका छन् । 
पूरा सूची
Shares
मिङ्मा डेभिड शेर्पा
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा १० पटक आरोहण गरिसक्नुभएका कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा अहिले सांसदको भूमिकाबाट हिमालको नीति निर्माण र सुरक्षाका लागि क्रियाशील हुनुहुन्छ।
  • सन् २०२१ मा हिउँदको समयमा माउन्ट केटूको सफल आरोहण गरी नेपाली टोलीले विश्व कीर्तिमान कायम गर्दा शेर्पाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
  • राजनीतिलाई अर्को आरोहण मान्ने शेर्पा आफ्नो उपस्थिति अर्थपूर्ण भएसम्म हिमालको विकास र पर्यटन क्षेत्रको उन्नयनका लागि निरन्तर काम गर्ने बताउनुहुन्छ।

कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पालाई अब हिमालमा थप प्राप्ति गर्न शायदै केही बाँकी होला। सगरमाथाको चुचुरोमा १० पटक पुगिसकेका उनीसँग ८ हजार मिटर अग्ला हिमालमा साढे तीन दर्जन आरोहणको अनुभव छ। संसारभरका ७० भन्दा धेरै हिमाल चढिसकेका शेर्पा अहिले संसद्‍मा पनि हिमालकै प्रतिनिधित्व गर्छन्।

हिमाललाई आफ्नो आधार र गन्तव्य बनाएका, ‘रोप फिक्सिङ’ गरेर हिमाल चढ्ने बाटो बनाउँदै हजारौं आरोहीलाई शिखरसम्म पुर्‍याएका उनी अहिले हिमालकै मुद्दा बोकेर संसद्मा समेत पुगेका छन्।

‘हिमालले मलाई सबथोक दियो, अब म यो क्षेत्रलाई केही दिऊँ भनेर फरक भूमिका स्वीकारेको छु’, शेर्पा भन्छन्।

ताप्लेजुङदेखि ट्रेकिङको भरियासम्म

मिङ्मा डेभिड ताप्लेजुङमा जन्मिएका हुन्। उनी जतिबेला विद्यालयमा अध्ययनरत थिए मुलुक द्वन्द्वमा थियो। पढ्ने वातावरण थिएन, उनी पढ्न जाने बाटोमै तत्कालीन माओवादीको तालिम केन्द्र थियो।

२०६५ सालमा कक्षा ९ मा पढ्दा उनी घुम्नका लागि काठमाडौं आएका थिए। फर्किएर ताप्लेजुङ नै जाने योजना थियो किनकि परिवार कृषि पेशामा थियो। हुन त मुलुकमा शान्ति सम्झौता भइसकेको थियो, तर हरेक दिनजसो हुने यातायात बन्दले उनी काठमाडौंमा अल्झिए।

त्यही बेला पोर्टर बनेर उनलाई अन्नपूर्ण ‘ट्रेकिङ’मा जाने मौका मिल्यो। ‘एउटा कम्पनीबाट लगातार तीन पटक त्यसरी भरियाका रूपमा जाने अवसर पाएँ’, उनी सम्झन्छन्।

जसले उनलाई त्यो अवसर दिएका थिए, उनी पनि पढेलेखेका थिएनन्, खासमा विद्यालय नै नगएका उनी अंग्रेजी भने राम्रो बोल्थे। यात्रामा खर्चका बिल लेख्ने, जोड्ने र हिसाब राख्न उनले मिङ्मालाई अह्राउँथे। उनले त्यो वर्ष ७ वटा पदयात्रामा काम पाए।

मनास्लुको किचनदेखि सगरमाथाको चुचुरोसम्म

सन् २००९ मा उनले ‘किचन हेल्पर’का रूपमा काम पाए। मनास्लु हिमालको ४,८०० मिटर उचाइमा एक महिनासम्म काम गर्दा उनले हिमाल र आरोहीलाई नजिकबाट बुझ्ने मौका पाए। मनास्लुबाट फर्केपछि हिमालबारे अझ जान्ने हुटहुटी बढ्यो र यसबारे सोधखोज गर्न थाले।

उनलाई सर्वप्रथम सगरमाथा लैजाने व्यक्तिले काठमाडौंमा नेपाल पर्वतारोहण प्रशिक्षक संघ (एनएमआईए)बाट प्रारम्भिक तालिम दिलाउन सहयोग गरे। हिमालसँग साइनो गाढा हुँदै गयो, उनी अब काठमाडौंमै बस्ने भए। आफन्तसँग बसेर उनले प्राइभेट एसएलसीको तयारी समेत गरे।

सन् २०१० मा एसएलसी परीक्षाको समय थियो। चार वटा विषयको परीक्षा दिइसकेका थिए, तर त्यही बेला सगरमाथा आरोहणमा जानैपर्ने भयो। परीक्षा बीचमै छाडेर उनी तिब्बततर्फ लागे।

एसएलसी छाडेर जाँदा ‘मैले कतै गल्ती त गरिनँ?’ भनेर दबाब महसुस भएको उनी सम्झन्छन्। तर, उनले ‘असिस्टेन्ट गाइड’का रूपमा पहिलो आरोहण सफलतापूर्वक सम्पन्न गरे। त्यसपछि लगातार तीन पटक तिब्बतपट्टिबाट सगरमाथाको सफल आरोहण गरे। छुटेको एसएलसी अर्को वर्ष पूरा भयो, हिमालसँगको नाता भने अटुट भयो।

सन् २०१३ मा चौथोपटक सगरमाथा आरोहणको अवसर मिल्यो, तर यसपालि भने नेपालतर्फबाटै आरोहण भयो। ‘सन् २०१० बाटै आरोहण थालेको हुँ, २०१३ सम्म कुनै पनि आरोहणमा असफल हुनुपरेन। मेरा लागि सबैभन्दा उपलब्धिपूर्ण अवधि त्यही थियो’, उनी भन्छन्। तर, सन् २०१४ को शरद ऋतुमा पाकिस्तानको माउन्ट केटू आरोहणमा गएका थिए जहाँ उनी पहिलो पटक असफल भए। ‘८ हजार मिटर अग्ला हिमालमध्ये आरोहण गर्न नसकी फर्किएको पहिलो हिमाल केटू नै थियो’, उनी भन्छन्।

जब आफ्नै गुरु हिमालमा विलाए

सन् २०१४ मा मिङ्मा ४८ जनाको नेतृत्व गर्दै मकालुतर्फको आरोहणमा ‘रोप फिक्सिङ’ टोलीमा थिए। उता खुम्बु आइसफलमा भयानक हिमपहिरो गयो। उनलाई सर्वप्रथम सगरमाथा लैजान सबैभन्दा ठूलो योगदान गरेका दोर्जे खत्री सगरमाथा आरोहणको क्रममा खुम्बु क्षेत्रमा थिए। हिमपहिरोमा खत्रीको निधन भयो।

‘गुरुले पनि प्रकृतिसामु हार मानेको त्यो खबर मेरा लागि दर्दनाक थियो’, उनी भन्छन्। त्यसपछि आरोहण यात्रालाई निरन्तरता दिने वा नदिने भन्ने द्विविधामा  परे उनी। आफूले आरोहण गर्ने कि नगर्ने, यो उनका लागि सानो विषय थियो तर हिमालमा दक्ष उद्धार टोली परिचालन कसरी गर्न सकिन्छ? त्यो अझ महत्वपूर्ण विषय थियो। उनले दोस्रो काम रोज्न थाले।

काठमाडौंमा बनेका बलिया घरभित्र त मानिस मरे, त्यो अनकन्टार हिमालमा मानिस मर्नु अनौठो होइन भनेर चित्त बुझाउँछु- मिङ्मा डेभिड शेर्पा

जो मानिस हिमालमा अरूलाई बाटो देखाउँदै गएको हुन्छ, उसैलाई अप्ठ्यारो पर्‍यो भने कसले उद्धार गर्ने ? हेलिकोप्टर दिउँसो मात्र उड्छ, त्यो उड्ने उचाइ र पुग्ने भूगोलमा पनि सीमितता छ।

सन् २०१३ धौलागिरिमा ७ हजार ४०० मिटरमा हेलिकोप्टरबाट अवतरण गरी ८ हजार मिटर उचाइमा मान्छे बचाउन पुगेको घटनालाई उनी आफ्नो जीवनको अर्थपूर्ण भूमिका मान्छन्।

सन् २०१५ को भूकम्पका बेला पनि उनी सगरमाथा क्षेत्रमै थिए। आधारशिविर पुगेको तेस्रो दिनमा भूकम्प आयो। खुम्बु आइसफलमा आरोहीहरूको विपद् उनले प्रत्यक्ष देखे। आधारशिविरमा मात्र ६५ भन्दा धेरै घाइते थिए, १९ जनाको निधन भयो। विभिन्न क्याम्पमा अड्किएका आरोहीहरूलाई निकाल्न र घाइतेहरूको उद्धार गर्न उनको टोली लगातार चार दिन खट्यो।

हिमाल आफैंमा ‘डेथ जोन’ हो, प्राकृतिक र वैज्ञानिक रूपमा। ‘जति बल, प्राविधिक ज्ञान र प्रविधि उपलब्ध भए पनि प्रकृतिले चाहेका बेला जो मान्छेलाई पनि असफल गरिदिन सक्छ भन्ने अनुभूति त्यतिबेला भयो’ उनी भन्छन्, ‘काठमाडौंमा बनेका बलिया घरभित्र त मानिस मरे, त्यो अनकन्टार हिमालमा मानिस मर्नु अनौठो होइन भनेर चित्त बुझाउँछु।’

‘डेथ जोन’मा उद्धार अभियान

डुबान, बाढीपहिरो र हिमालमा हुने दुर्घटनामा नेपालको उद्धार नीति र गतिले उनलाई चिन्तित बनाउँछ। ‘काठमाडौं जस्तो स्थानमै तीन-चार घण्टासम्म उद्धार माग्दामाग्दै मान्छे बगेको घटनाले झन् निराश बनाउँछ’ उनी भन्छन्, ‘काठमाडौंमै त राज्यले मान्छे बचाउन सक्दैन भने हिमालमा कसले बचाउँछ?’

सन् २०१६ मा उनले डकुमेन्ट्री टोलीसँग मिलेर प्राइम भिडियोका लागि भिडियो बनाए, जसको उद्देश्य रेस्क्युको क्षमता वृद्धि गर्नु थियो। त्यही वर्ष एभरेस्ट र ल्होत्से क्षेत्रमा ५२ जनाको उद्धार गरे।

एउटा घटना उनी कहिल्यै भुल्दैनन्। ल्होत्सेमा एक भारतीय जोडी आरोहण गरेर फर्किंदै थिए। पुरुष क्याम्प-४ मा झरे, तर महिला भने गाइडसँग क्याम्प-४ भन्दा माथि नै रोकिइन्। अक्सिजन सकिएपछि महिलालाई बचाउन गाइडले आफ्नै अक्सिजन दिएका थिए। उद्धारका लागि डेभिड पुग्दा गाइड बेहोस भइसकेका थिए र महिला पनि ढलिसकेकी थिइन्। अक्सिजन सहित गएका डेभिडले दुवैको ज्यान बचाए। यद्यपि, हिउँले ती महिलाको हातका औंला खाइसकेको थियो।

निर्मल पुर्जासँगको सहकार्य र ‘केटू विन्टर’को कीर्तिमान

पहिला मानिसहरू सोखले हिमाल चढ्थे, तर सामाजिक सञ्जालको विस्तारसँगै घोषित कीर्तिमान बनाउने क्रम पनि शुरु भयो। त्यही क्रममा डेभिड चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ)सँग जोडिए। निम्स दाइले बेलायती सेनाको जागिर छाडेर ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण गर्ने योजना बनाएका थिए।

यस अभियानमा डेभिड पनि जोडिए। उनले ६ वटा हिमाल यसअघि नै चढेका थिए। १० हिमालमा उनी आरोहीका रूपमा गए भने बाँकी ४ हिमालमा सहयोगीका रूपमा चुचुरो चुम्दै उनले १४ हिमालको आरोहण पूरा गरे। यसरी ‘सबैभन्दा कान्छो उमेरमा १४ चुचुरो आरोहण गर्ने’ कीर्तिमान उनको नाममा बन्यो। त्यस्तै सेभेन समिट (सात महादेशका सर्वोच्च शिखर)का लागि अब उनको इन्डोनेसियाको एउटा चुचुरो मात्र बाँकी छ।

सन् २०२१ मा माउन्ट केटू हिउँदमा चढ्ने योजना बन्यो। निम्स दाइ समेत समावेश उक्त नेपाली टोली तयार पार्ने जिम्मेवारी डेभिडलाई थियो। हिउँदमा माउन्ट केटू आरोहण कसैले गरेको थिएन, १० जना नेपालीले त्यो कीर्तिमान पनि बनाए।

हिमाल आरोहणमा सबैभन्दा बढी महत्त्वपूर्ण ‘टिमवर्क’ हो, बाँकी प्रतिस्पर्धा सहायक हुन् भन्ने उनको मान्यता छ। ‘सगरमाथा आरोहणमा तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी बीच को पहिले चुचुरो पुग्यो भन्ने विवादको अर्थ छैन, त्यो टिमवर्क थियो’ डेभिड भन्छन्, ‘हाम्रो केटू आरोहण पनि त्यस्तै टिमवर्क थियो। १० जना नै आरोही केटूको चुचुरो पुग्ने बेला १० मिटर अगाडि रोकिएर राष्ट्रिय गान गाउँदै सँगै समिट गरेका थियौं।’ निम्स दाइसँग उनको सम्बन्ध औपचारिक व्यवसायमा पनि जोडिंदै गयो। खासगरी विदेशीहरूको आरोहण व्यवस्थापन सेवा दिन उनीहरूले मिलेर ‘इलाइट एक्सपेड’ कम्पनी सञ्चालनमा ल्याए। यही कम्पनीको व्यवस्थापनमा निम्स दाइ पाकिस्तानको ब्रोड पिक आरोहणमा थिए। उनको टोली ६ हजार ४०० मिटरमाथि पुगिसकेको थियो। तर, त्यही बेला आएको हिमपहिरोले निम्सदाइ सहित सबै १० जना आरोहीको निधन भयो। यसले डेभिडलाई फेरि सम्झाएको छ, प्रकृतिले चाह्यो भने मानवको केही लाग्दैन।

अब नीति निर्माणमा

आफ्नो बल र शक्तिले हिमालका लागि धेरै गरेको अनुभूति डेभिडलाई छ। अब उनी यो क्षेत्रको विकास, सुरक्षा र उन्नयनमा सक्रिय हुन थालेका छन्। उनी नेपाल पर्वतारोहण संघ (एनएमए)मा पनि आबद्ध छन्।

‘म अरूलाई दोष दिनुभन्दा आफैं काम गर्न मन पराउँछु’, उनी भन्छन्। नेपाल पर्यटनमा अथाह सम्भावना बोकेको देश भए पनि देशको नीतिले पर्यटनलाई साँच्चै प्राथमिकता नदिएको उनको बुझाइ छ। ‘अरू देशले मान्छेले बनाएका संरचनाले पर्यटक तानिरहेका छन्, हामीसँग त प्रकृतिले नै सबथोक दिएको छ। तर ८० प्रतिशत नेपालीले सगरमाथा देखेका छैनौं।’

यस वर्ष सांसदकै रूपमा नेपालको झण्डा लिएर सगरमाथाको चुचुरो पुगेका उनी तापक्रम वृद्धिको असर प्रत्यक्ष देख्दा चिन्तित छन्। अबको बचेको समय नीति निर्माण र पर्वतारोहणमै दिने उनको प्रण छ।

राजनीतिलाई उनी अर्को आरोहण मान्छन्। ‘यसबाट म धेरै आत्तिएको र मात्तिएको छैन’ उनी भन्छन्, ‘म राजनीतिमा कति निरन्तर बस्छु भन्ने कुरा आवश्यकताले निर्धारण गर्नेछ। मेरो उपस्थिति अर्थपूर्ण भएसम्म म राजनीतिमा रहन्छु।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।