+

सागर पुग्न नचाहने नदी

कवि नदीश भावुक छन्, तर भावुकताका बन्दी छैनन्। दार्शनिक छन्, तर दर्शनको प्रदर्शन गर्दैनन्। उनी आधुनिक छन्, तर आधुनिकताको फेसनमा बहँदैनन्। उनी शब्दका कारोबारी होइनन्; एक मौन साधक हुन्।
पूरा सूची
Shares
नदीश
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्प्युटर इन्जिनियर तथा डेटा आर्किटेक्ट नदीश पछिल्लो पुस्ताका संवेदनशील र अस्तित्ववादी कवि हुन्।
  • उनले \'हाँगामा झुन्डिएको आत्मकथा\' र \'हिउँद\' गरी दुई कवितासङ्ग्रह प्रकाशित गरिसकेका छन्।
  • नदीशका कवितामा मानवीय संवेदना, प्रविधियुगको एक्लोपन, पर्यावरण र अध्यात्मको गहिरो प्रभाव पाइन्छ।

खुलै छाडिएको जोगी जटा अनि अनुहारभरि फैलिएको वैरागी दाह्री । कुनै सूफी जस्तो सन्त हुलियामा देखिने नदीश (३७), पछिल्लो छिमलका चम्किला कवि हुन् । सार्वजनिक उपस्थितिभन्दा पनि कविता स्वयं उनको चट्टाने परिचय बनेको छ । उनका कवितामा शब्द सीमित हुन्छन्, प्रतिध्वनि प्रशस्त ।

पुर्ख्यौली थलो गुल्मीको मदाने गाउँपालिका सिम भए पनि उनी रुकुमको बाफीकोटमा जन्मिए । तिनताका बुबा रुकुममा शिक्षण सेवामा रहेकाले उनको बाल्यकालीन सात-आठ वर्ष त्यहीं बित्यो । बुबाको सरुवापछि भने गुल्मी आए । स्थानीय विद्यालयमा कक्षा ७ सम्म पढे । माओवादी द्वन्द्वकालमा स्कूल बन्द भएपछि सदरमुकाम तम्घास पुगे ।

स्कूले जीवनमा पहिलोपल्ट कम्प्युटर देखेपछि उनीभित्र कम्प्युटर प्रोगामिङमा उत्सुकता बढ्यो । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरे । योमरी इन्फर्मेसन टेक्नोलोजीमा काम गर्दै गर्दा उनलाई अमेरिकी एचवान भिसाको अफर आयो र सन् २०१४ मा डेटा कन्सल्ट्यान्टका रूपमा मिनेसोटा रवाना भए ।

अहिले उनी टेक्सास राज्यको राजधानी अस्टिनमा सपत्नीक बस्छन् । उनी सियाटलस्थित स्टाटिस्टिकल सेन्टर फर एचआईभी/एड्स रिसर्च एण्ड प्रिभेन्सन सेन्टरमा इन्टरप्राइज डेटा आर्किटेक्टका रूपमा कार्यरत छन् । डेटा आर्किटेक्टले विभिन्न ठाउँमा भिन्न-भिन्न अवस्थामा थुप्रेर बसेका डेटाहरूलाई एकैठाउँ ल्याइपुर्‍याउन संरचना डिजाइन गर्छन् र ती नबुझिने डेटालाई एउटै स्वरूपमा ढालेर भाषा दिई वाचाल बनाउँछन् ।

नदीशको बाल्यकाल राउटे पारामा बित्यो । लामो समयसम्म कुनै निश्चित भूगोलमा रहेनन् । फरक-फरक स्थान र परिवेशमा हुर्किए । जीवन-भोगाइ पनि फरक-फरक भए । गाउँ र छरछिमेक उही रहेन । साथीसङ्गी निरन्तर बदलिइरहे ।

तिनताका गुल्मी-रुकुम आउजाउ सजिलो थिएन । केही दिन पदयात्रा गर्नुपर्थ्यो, केही दिन बसयात्रा । त्यो यात्राले उनलाई बालखमै नयाँ-नयाँ कुरासँग साक्षात्कार गरायो । अलिक जिज्ञासु बनायो । अलि फराकिलो ज्ञान मिल्यो ।

घरबाट पर बसेपछि डियाँ-बाच्छा, खेतीपातीको काम नहुने । सामान्य साक्षर उनकी आमा उपन्यास पढ्थिन्, रेडियोमा गीत-नाटक सुन्थिन्, ‘प्रेमलहरी’ भाका हालेर गाउँथिन् । बुबा आफैं नेपाली शिक्षक, कथा-कविता, गीत-नाटक लेख्ने, साहित्यकारका किस्सा सुनाउने । नदीशले त्यसमा दिलचस्प दिए । रेडियो नेपालमा बज्ने आधुनिक गीत सुनेर संग्रह नै तयार पारे ।

कतिपय कवि शब्दलाई चर्को आवाजमा उराल्छन्, नदीश भने शब्दलाई शान्त रहन सिकाउँछन् । उनका कवितामा कुनै हतारो, होहल्ला छैन । नदीशका कवितामा नदी जस्तै प्रवाह छ, तर त्यसमा वेगभन्दा बढी छ गहिराइ ।

रुकुममै शिक्षक रहेका उनका अङ्कलले ‘मुना’ बालपत्रिका ल्याइदिन्थे । रेडियो नेपालको बाल कार्यक्रम नबिराई सुन्थे । आफू पनि पत्रिकामा छापिने वा रेडियोमा वाचिने कवि बन्ने सपना देख्थे ।

कक्षा ४ पढ्दाताका घरअगाडिको ठूलो पाटोमा गुन्द्री ओछ्याएर ‘मेरो देश’ शीर्षकमा पहिलो कविता लेखे र आमाबुबालाई देखाए । तीन पद्यांशमा रचित त्यो कविता हुलाक मार्फत रेडियो नेपालमा पठाए । आश मारिसकेका बेला अन्ततः एक दिन रेडियो नेपालले स्कूलको नाम सहित उनको कविता फुक्यो ।

‘मलाई चिट्चिट पसिना आयो, खुट्टा लुगलुग कामे । मुटु फुलिएर छातीबाट बाहिर उछिट्टिएला जस्तो भयो । चिच्याएर आमालाई बोलाएँ,’ उनी बालाजीवनको मृदु स्मरण गर्छन्, ‘त्यही नै मेरो जिन्दगीको सप्पैभन्दा खुशीको दिन जस्तो लाग्छ ।’

भोलिपल्ट स्कूलको प्रार्थना-सभामा बोलाएर प्रिन्सिपलले सप्पैको सामुन्ने स्याब्बासी दिए, कापी र कलम पुरस्कार दिए । पछि ‘मुना’ मा पनि उनको तस्वीर सहित कविता छापियो । एक रात घरको छतमाथि सङ्लो आकाशमा टहटह उदाएको जून हेरेर स्वच्छन्द गद्य पर्यावरण कविता लेखे । त्यो नै उनको काव्ययात्राको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

नदीश पर्यावरणीय चेत, प्रविधियुगको एक्लोपन र आध्यात्मिक बेचैनीलाई जोड्ने एक्काइसौं शताब्दीका अस्तित्ववादी कवि हुन् । उनको प्रीतिकर विम्ब ‘हिउँद’ आफैंमा भौगोलिकभन्दा बढी मानसिक ऋतु जस्तो लाग्छ ।

काठमाडौं पसेपछि उनले केही समय कोही अग्रज वा समकालीन कविलाई भेटेनन् । १२ कक्षाको अनिवार्य अंग्रेजीको पिरियडमा एक सहपाठीले कविता सुनाएपछि उनलाई मरुभूमिमा पानी भेटे जस्तो भयो । तिनै चिम्सा आँखावाला सुमन राई (नाकिमा) को नेतृत्वमा काव्यप्रेमी साथीहरू मिलेर ‘अलग अभियान’ साहित्यिक समूह चलाए ।

त्यस बखत समूहको झुकाव प्रगतिवादी/क्रान्तिकारी साहित्यसँग थियो । राल्फा आन्दोलनबाट प्रभावित नाकिमाले सबै अभियन्तालाई एकल शब्दको नाम राख्न आह्वान गरे । शुरूमा सुदीप भट्टराईले निकै क्रान्तिकारी नाम राखे । विस्तारै आफ्नो नाम आफैंलाई साह्रै बिझायो । आफ्नो नाम आफू जस्तै लागेन र ‘नदीश’ नामकरण गरे ।

नदीशको मोटामोटी अर्थ हुन्छ, समुद्र अर्थात् नदीका अधिपति । ;नदी‌ र ईश मिलेर बनेको यो शब्दको ध्वनिले मलाई कताकता आकर्षित गरिहाल्यो,’ उनी सुनाउँछन्, ‘शब्द सुन्दैमा शान्त अनि गम्भीर !’

 नदीशले ताल्छीखेलमा ‘पहिला-प्रथम’ भेटेका कवि स्वप्निल स्मृति र चन्द्रवीर तुम्बापो रहेछन् ।

कविद्वयको संगत र सिर्जनाको प्रभाव कवितामा पर्नै नै भयो । अर्का कवि विनोदविक्रम केसीले राष्ट्रिय पत्रिकामा उनका रचना मात्र छापिदिएनन्, निरन्तर हौसला, प्रेरणा र ढाडस दिइरहे । त्यतिबेला उनले लेखेका व्यङ्ग्यात्मक कविता ‘परेवाहरू’ र ‘झण्डा’ले चर्चा कमाए ।

नदीशका लागि हृदयमा आउने झिल्काहरू नै कविता हुन् । कोही सघन रूपमा महसुस हुन्छन् तर तिनलाई भाषा दिन सकिंदैन । कतिपय भाषाको सीमितताभन्दा निकै पर हुन्छन् । कतिपयलाई कविको शब्दभण्डारले तत्काल समेट्न सक्दैन । यसरी नलेखिएका या लेख्न नसकिएका कविता थुप्रै छन् ।

‘मस्तिष्कले विम्ब दिन सक्ने, भाषामा नजिकको आकार दिन सक्ने झिल्काहरू बल्ल लिखितम् कविता बन्छन् । तर ती झिल्काहरू सम्पूर्ण रूपले वाचाल हुन दिमागमा लामो समयसम्म फर्म्यान्ट हुनुपर्छ मेरा लागि,’ उनी भन्छन्, ‘तिनले मलाई लामो समयसम्मै उद्वेलित बनाइरहे, खारिंदै गए, हृदयलाई झन् झन् झंकार्दै गयो भने एक दिन त्यो पूर्ण कविता बन्छ, त्यो मद बन्छ, त्यतिन्जेल म कुर्छु ।’

अहिलेसम्म नदीशका दुई कविताकृति प्रकाशित छन्, ‘हाँगामा झुन्डिएको आत्मकथा’ (२०७४) र ‘हिउँद’ (२०८२) । पहिलो कृति उनको प्रारम्भिक काव्यचेत बुझ्ने प्रवेशद्वार नै हो । तर दुवै कृतिको लेखनशैली, विचार, विषयवस्तुमा सुखद अन्तर छ ।

‘परिवर्तन स्वाभाविकै हो । उही कुरा, विचार र शैली दोहोर्‍याउने हो भने नयाँ किताब निकाल्नुको कुनै अर्थ छैन,’ उनी भन्छन्, ‘नयाँ कुराले नयाँ शैली माग्छ नै । क्लिसे लेखनबाट जोगिनका लागि मेरो भरमग्दुर प्रयास रहन्छ ।’ प्रायःजसो कवि कविताको अन्त्यमा विशेष ध्यान दिन्छन्, उनीचाहिं कविताभरि कविताले आनन्द दिइरहोस् भन्ने सोच्छन् ।

नदीश पर्यावरणीय चेत, प्रविधियुगको एक्लोपन र आध्यात्मिक बेचैनीलाई जोड्ने एक्काइसौं शताब्दीका अस्तित्ववादी कवि हुन् । उनको प्रीतिकर विम्ब ‘हिउँद’ आफैंमा भौगोलिकभन्दा बढी मानसिक ऋतु जस्तो लाग्छ ।

‘पहिलो संग्रह मैले पाठकलाई मेरो कविताको मूल्यांकनका लागि छाडेको थिएँ,’ नदीश भन्छन्, ‘नयाँ संग्रह मेरा लागि पूर्ण कविता भइसकेपछि मात्र पाठकमाझ आएको हो ।’

नदीशको कविता मेनुमा मानवीय संवेदना, जीवन भोगाइ, अस्तित्व र अध्यात्म छन् । प्रकृति र पर्यावरण पनि आइरहन्छन् । मिनेसोटा बसाइमा उनले त्यहाँको ऋतुचक्रमा रूखलाई खूब नियालेका छन् ।

माइनस १० देखि २० डिग्रीको कठ्यांग्रिने ठण्डीमा रूख पूरै नाङ्गो हुन्छ, विपश्यना ध्यानमा बसे जस्तो । वसन्तमा विस्तारै रूखले पालुवा हाल्छ । ग्रीष्ममा पूरै यौवनको मातमा हुन्छ, निख्खर हरिया पातहरूले झपक्क हुन्छ ।

हिउँदमा सबथोक त्याग्नुअघि पातहरू रंगीविरंगी हुन्छन् । रूख बिछट्टै सुन्दर तर एकदमै छोटो समयका लागि मात्र । ;वर्षौंदेखि म जुन वृक्षको मनोदशा उतार्न खोजिरहेको छु, त्यसलाई ठ्याक्कै उतार्न सक्ने विम्ब अझै भेटेको छैन, म त्यही प्रिय विम्बको खोजीमा छु,’ उनी भन्छन्, ‘कविताप्रतिको प्रेम र साधना कुनै पनि कविलाई जरुरी कुरा हुन् । हामीभित्र त्यही कुरा उत्रिन्छ या घट्छ, जो हामीभित्र बग्दो छ ।’

नदीशको अनुभवमा एउटा ‘उग्र क्यापिटलिस्ट राष्ट्र’को एउटा कर्पोरेट कामदार कवि जस्तो बिन्दास हुन पाउँदैन । उसलाई लामो समयसम्म काव्यिक मनोदशा वा सिर्जनात्मक लयमा रहिरहने फुर्सद पनि मिल्दैन । अनेकौं व्यवधानले बारम्बार त्यो लयभङ्ग गरिदिन्छन् । तर नदीश छरिएका क्षणहरूलाई समेट्दै तिनै समयका टुक्राहरू बीचबाट कवितागिरी गर्न रुचाउँछन् ।

‘कविता शुरुमा आफ्नै लागि हो, त्यसले सबैभन्दा पहिले आफ्नै हृदय भर्न सक्नुपर्छ,’ कविमत छ, ‘मलाई पर्यावरणीय समस्याले ज्यादै चिमोट्छ र कवितामा आउन सक्छ । तर अहिलेको मुख्य मुद्दा पर्यावरण हो भनेर कविता लेखें भने त्यो कविताको नाममा ज्यादती हुन सक्छ ।’

प्रायः कविताले नदीशलाई आत्मिक शान्ति दिएका छन् । तर ठूलो मानसिक राहत दिएको कविताचाहिं ‘खर्बुजा’ हो । आफूले तिरेको करबाट कुनै भूगोलका निर्दोष जनतामाथि निरन्तर नरसंहार भइरहँदा पनि केही गर्न नसक्दाको मानसिक छट्पटी र पीडाले लामै समय थिचेर उकुसमुकुस भएपछि लेखिएको कविता ।

सोसल मिडियामा आफूले गर्न सक्ने विरोधमाथि पनि कन्टेन्ट फिल्टरको लगाम लाग्दा धेरै मान्छेसँग नपुग्दा अल्गोरिदमको कब्जामा भएको आम मान्छेको निरीहपन । शक्तिशाली देशले जे गर्दा पनि मूकदर्शक भएर सदर गर्ने संसारका धेरैजसो राष्ट्रहरूको मानवतावादी मुकुण्डो । आफ्नै विवशताको अनि अपराधबोधको प्रायश्चित्त थियो त्यो कविता ।

नदीशको जीवन नै उनको कविता हो, वा आफूले बाँच्न नसकेको जीवन कवितामा बाँच्छन् ? उनको जवाफ काव्यिक नै रह्यो, ‘मेरो जीवन नै मेरो कविता हो । कविता जीवनसँग र आफ्नो सत्यसँग जोडिने भएकाले जीवनभन्दा पर गएर लेखिंदैन,’ उनी भन्छन्, ‘लेखियो भने पनि कविताका नाममा अर्थोकै होला ।’

कवि नदीशलाई सकभर आफूलाई जरुरी हुने स्रोत, साधन मात्रै खपत गरुँ जस्तो लाग्छ । जति धेरै थुपार्‍यो, त्यति नै बाँधियो । त्यति धेरै मोह, त्यति नै बन्धन । जति कम त्यति हलुका, त्यति मुक्तात्मा ।

उनलाई जीवनभन्दा पर कुनै स्वप्निल वा काल्पनिक जीवनको चाह छैन । बरु त्यस्तो चाह आफैंमा एउटा भ्रम हो भन्ने लाग्छ । ‘मेरो खोज या आकांक्षा कुनै अर्को जीवन होइन । यही जीवनभित्र रहेका जिज्ञासा, उल्झन, प्रश्न र सत्यलाई बुझ्ने सत्प्रयास हो । जीवनलाई सुन्दर बनाउने पनि यिनै कुरा हुन् र कठिन बनाउने पनि,’ उनको स्वीकारोक्ति छ, ‘जीवनले जन्माएका प्रश्नहरूको जति-जति उत्तरहरू भेटिंदै जान्छन्, जीवन त्यति नै सहज, स्पष्ट र सुन्दर हुँदै जान्छ ।’

कविताका लागि नदीशलाई एकान्त अनिवार्य छ । किनभने साना–मसिना कुराले पनि उनको ध्यान भंग गरिदिन्छन् । कविताको ‘फ्लो’ अनि ‘मूड’ बिगारिदिन्छन् । बरु कफीको मादक बास्ना र नबुझिने खाले मधुर गुनगुनसँगै बजिरहेको मनतातो सङ्गीतचाहिं रहिरहोस् ।

‘सिमेन्टमाथि हिंड्दा, बजार डुल्दा, सपिङ मल चहार्दा या हल्लाखल्ला र कोलाहलमा बस्दा एकैछिनमा थाक्छु,’ उनी भन्छन्, ‘बरु पहाडको उकालोमा ठूलो रुकस्याक बोकेर दिनभर हिंडिरहँदा पटक्कै थकान महसुस हुँदैन ।’

सानैदेखि नदीशको स्वभाव यसैगरी निर्माण भएछ । घरबाट अलिक माथि पहाडको टुप्पोमा कुदिहाल्थे । कसैले नबोलाइन्जेल या खोज्न नआइन्जेल पहाड, खोला, खेतमा काम गरिरहेका या बाटोमा हिंडिरहेका मान्छेहरू हेरिबस्थे । सधैं हेरिबसे पनि हरेक दिन ती फरक-फरक देखिन्थे ।

‘शहरमा बस्दा पनि छतमा उभिएर घण्टौं जूनतारा हेरिबस्थें । अचेल पनि त्यसैगरी बार्दलीमा टोलाएर बस्न मजा लाग्छ । धेरै बोलिरहनु नपरोस् लाग्छ,’ उनी रुमानी लाग्छन्, ‘मलाई खोला जस्तै बगुँ लाग्छ ताकि धेरै ताकत लगाउनु नपरोस् । सकेसम्म सागर नपुगूँ र मात्र बगिरहूँ जस्तो लाग्छ ।’

व्यस्त कामकाजी भूमिका बीच पनि सक्दो सजग हुनु, सूक्ष्म कुराहरू नियाल्नु, छोटो फुर्सदमा पनि कविता पढ्नु, प्रकृतिसँग नजिकिनु, संगीत, पेन्टिङ, थिएटरमा रुचि राख्नु, भर्चुअल नै सही, कवि–लेखकसँग बातचित गर्नु नदीशका मनमौजी कार्य हुन् । उनी कामना गरिरहन्छन्- यस्ता कुराका लागि समय टन्नै भइदेओस् ।

भनिन्छ, ‘कवि चौबीसै घण्टा कवि नै हुन्छ ।’ तर नदीशका हकमा उनी ‘चौबीस घण्टे कवि’ भन्दा पनि ‘चौबीस क्यारेट’ का कवि हुन् । उनकै शब्दमा नदीश बिहान काव्यिक, दिउँसो व्यावसायिक, अपराह्न शारीरिक र बेलुकी पारिवारिक हुन्छन् ।

व्यक्तिगत रूपमा अन्तर्मुखी छन् नदीश । नयाँ मानिस भेट्नेबित्तिकै नजिकिइहाल्ने वा बोलिहाल्ने स्वभाव छैन । त्यसैले उनका थोरै तर मनप्रिय साथीहरू छन् । उनीहरूसँगको भर्चुअल संवाद वा भेटघाट महिनौंका लागि ऊर्जा बनिदिन्छ ।

लामो समय यात्रा नगर्दा नदीशलाई उकुसमुकुस लाग्छ । देह-दिल-दिमागमा लेउ जमे जस्तै हुन्छ । कताकता जेलमा थुनिए जस्तै लाग्छ । त्यसैले सीमित अन्तरंग साथीहरूसँग लामो पदयात्रा गरिरहन्छन् ।

यात्रामा उनी सकेसम्म यात्रालु नै हुन खोज्छन् । केही झिलिक्क भइहाल्यो भने टिप्छन् । तर लेख्नकै लागि भनेर समय छुट्याउँदैनन् । ‘कविता कि पदयात्रा भनेर सोधियो भने म पदयात्रा नै रोज्छु,’ नदीशको कथन छ, ‘तर यात्रामा लेख्नु त डिस्ट्रयाक्सन लाग्छ ।’

कवि नदीशलाई सकभर आफूलाई जरुरी हुने स्रोत, साधन मात्रै खपत गरुँ जस्तो लाग्छ । जति धेरै थुपार्‍यो, त्यति नै बाँधियो । त्यति धेरै मोह, त्यति नै बन्धन । जति कम त्यति हलुका, त्यति मुक्तात्मा ।

‘यसो भन्दै गर्दा म मिनिमलिस्टक बनिसकेको चाहिं होइन । तर त्यसतिर हिंडिरहेको यात्री भने अवश्य हुँ,’ उनी भन्छन्, ‘परिवारसँग भइसकेपछि आफ्नो मात्र दर्शनले काम चल्दो रहेनछ ।’ त्यसैले हिजोआज उनी निजी बहीखातामा ‘टाइम एन्ड स्पेस’ निलिखाने चिजभन्दा साथीसङ्गी, सिर्जना, ज्ञान, सीप, अनुभव, सम्झना संग्रह गर्न रुचाउँछन् ।

शिक्षक परिवारका सदस्य नदीश सानैदेखि फलामे अनुशासनमा बसे । कपाल लर्काएर हिंड्नेहरूलाई गुण्डा, ट्यापे, आवारा ठान्ने समय, परिवेशमा हुर्किए । तर हिरोहरूको हुलिया देख्दा उनलाई पनि त्यस्तै बन्ने रहर लाग्थ्यो । ‘त्यही अधूरो रहरले मलाई अहिले कपाल काट्न मन लाग्दैन,’ उनी घुम्री परेको चुल्ठो सम्हाल्दै भन्छन्, ‘कपाल छउन्जेल पाल्दिम् न त भन्ने लागेर हो ।’

नदीशका कविताले प्रश्न दिन्छन्, जीवनदर्शन दिन्छन्, आशा दिन्छन्, प्रेम दिन्छन्, संवेदना र आत्मचिन्तनको ठाउँ दिन्छन् । कविताले उनलाई धेरै हिसाबमा ‘कायाकल्प’ गरिदिएको छ । एक्कासि होइन, विस्तारै विस्तारै । पत्तो नपाइकन । जीवनमा दौडिरहेको गति कम गर, आरामले विस्तारै हिंड र पाइला-पाइलाको अनुभव गर भनेर सिकाएको छ ।

लेखक
राजकुमार बानियाँ

बानियाँ लेखक तथा पत्रकार हुन् ।