News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद आशिका तामाङले खोलाबाट गिट्टी र बालुवाको अवैध तस्करी भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।
- सांसद तामाङले बर्खायाममा नदीजन्य पदार्थ उत्खननमा रोक लगाइए पनि अवैध कारोबार नरोकिएको र राज्यले करोडौँ राजस्व गुमाइरहेको जिकिर गरिन् ।
- उनले अवैध उत्खनन रोक्न र वैज्ञानिक व्यवस्थापनका लागि तत्काल विद्यमान कानुन र मापदण्ड संशोधन गर्न सरकारसँग माग गरेकी छिन् ।
२५ साउन, काठमाडौं । रास्वपा सांसद आशिका तामाङले खोलाबाट गिट्टी, बालुवा राज्यलाई कर नतिरी तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले अहिलेको मापदण्ड अनुसार तत्काल कानुन संशोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
‘बर्खे महिनाहरूमा कानुन र नियम अनुसार खोलाबाट गिटी र बालुवा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौं, करोडौंको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन्,’ सांसद तामाङले भनिन्, ‘यो समस्या मेरो जिल्ला धादिङ लगायत नेपालको अधिकांश नदीमा जटिल समस्याको रुपमा खडा छ । त्यो भन्दा जटिल हाम्रो कानुन र प्रक्रियामा छ ।’
उनले आफ्नो मनसाय ढुंगा, गिट्टी र बालुवा निकाल्नै नहुने भन्ने कुरामा नभएको बताइन् ।
‘मेरो मनसाय ढुंगा गिटी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन । तर यसको सही व्यवस्थापनमा कानुन बाधक बनिन हुँदैन भन्ने चाहिँ हो,’ उनले भनिन्, ‘मापदण्ड अहिलेको व्यवस्था अनुसार चल्नका लागि आवश्यक संशोधन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’
प्रतिक्रिया 4