+
+
Shares

बालेनले लगाए कूटनीतिक प्रोटोकलको अडानमा ब्रेक

प्रधानमन्त्री बालेन शाहले प्रोटोकल ख्याल गर्दै राजदूतहरूलाई आफैंले सिधै नभेट्ने अडान लिएका थिए । आफ्नै अडानमा ब्रेक लगाउँदै सोमबार उनले भारत र चीनका राजदूतलाई सिंहदरबारमा बोलाएर भेटे । अब अरुसँग पनि क्रमश: भेट्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले साढे चार महिनाको कूटनीतिक अडान त्याग्दै सोमबारदेखि विदेशी राजदूतहरूसँगको प्रत्यक्ष भेटवार्ता पुनः सुरु गरेका छन्।
  • प्रधानमन्त्रीले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग सिंहदरबारमा द्विपक्षीय हित र आपसी साझेदारीका विषयमा छलफल गरे।
  • कूटनीतिक मामिला जानकारहरूले छिमेकी राष्ट्रसँगको विश्वास बढाउन र बदलिँदो परिस्थितिमा संवाद स्थापना गर्न प्रधानमन्त्रीको यो कदम महत्त्वपूर्ण रहेको टिप्पणी गरेका छन्।

साढे ४ महिना अघि प्रधानमन्त्री बनेपछि बालेन शाहले कूटनीतिक प्रोटोकललाई कडाईसाथ पालना गर्ने नीति लिए । त्यही नीतिका कारण उनले कुनै पनि कूटनीतिक अधिकारीलाई भेट्ने र सम्पूर्ण भेटघाट परराष्ट्र मन्त्रालयबाट मात्र गर्न थाले ।

विगतका प्रधानमन्त्रीहरूका कार्यालय र निवासमा समेत बिना रोकतोक सहज पहुँच पाउँदै आएका नेपालका कूटनीतिक अधिकारी बालेनको यो नीतिले केही दूरी बढेको महसुस गरिरहेका थिए । यता नेपालका हकमा भने विगतका विकृतिमा केही लगाम लाग्न लागेको टिप्पणी पनि भइरहेको थियो ।

तर प्रधानमन्त्रीको यो प्रोटोकलको अडान साढे चार महिना भन्दा लामो गएन । किनकी नेपाल सानो र आर्थिक रुपमा विदेशी सहायतामा निर्भर रहने मुलुक भएकाले प्रधानमन्त्रीकै तहका कूटनीतिक भेटघाटको अर्थ रहने भन्दै कुरा उठ्न थालेपछि प्रधानमन्त्रीले सोमबारबाट आफूले पनि छुट्टै भेट्न थालेका छन् । भेटघाटको पहिलो प्राथिमकतामा उनले छिमेकी मुलुकलाई दिएका छन् । सोमबार सुरूमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहरदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटे । त्यसपछि उनले दिउँसो चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग भेटेका हुन् ।

उनले मंगलबार अमेरिकी कार्यबहाक राजदूत स्कर्ट अर्बमलाई भेट्ने कार्यक्रम छ ।

आजका दुवै भेट करिब ४५ मिनेटका थिए । यो भेटमा प्रधानमन्त्री शाहलले परराष्ट्रका अधिकारीहरूलाई पनि सँगै राखेका थिए ।

आज भएका राजदूतहरूसँगका दुवै भेट दुइपक्षीय हित र साझेदारीका विषयमा केन्द्रित थिए । भारतीय राजदूत नवीन श्रीवात्सवले भारत र नेपालबीचको सुदृढ र बुहआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन् । उनले प्रधानमन्त्री शाह सँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको उल्लेख गरे ।

‘आज बिहान नेपालको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेँ। भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भयो,’ राजदूतले भनेका छन् ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

चीनका राजदूत झाङ माओमिङसँग पनि नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोडको उनको सचिवालयद्वारा जारी प्रेसनोटमा छ ।

राजदूत माओमिङले पनि प्रधानमन्त्रीसँगको भेटबारे उल्लेख गर्दै हामीले मैत्रीपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध तथा व्यावहारिक सहकार्यका विषयहरू, साथै साझा चासोका विषयमा विचार आदानप्रदान गरेको बताएका छन् । ‘नेपाल र चीनका जनतालाई थप लाभ पुर्‍याउने तथा दुवै पक्षका लागि हितकारी सहकार्यलाई अझ गहिरो बनाउने विषयमा हामी सहमत भयौं’ राजदूत माओमिङले भनेका छन् ।

साढे चार महिनापछि आफ्नै अडानबाट पछि हटेर प्रधानमन्त्रीले राजदूत भेट्नेतर्फ लाग्नुको पछि केही कूटनीतिक व्यवहार बदल्न खोजेको संकेतको रुपमा बुझ्न सकिने कूटनीतिक मामिला जानकारहरू बताउँछन् ।

‘सरकारले आन्तरिक रुपमा पनि केही विश्वास गुमाउने थालेको अवस्थामा छिमेकी र विदेशी मुलुकहरूसँग पनि विश्वास गुम्यो भने राम्रो हुन्न भन्ने महसुस भएजस्तो देखिन्छ’, कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट भन्छन्,’ राजदूतहरूलाई भेट्नु समान्य कुरा हो । तर अहिले चाहिँ यसको विशेष अर्थ छ ।’

उनका अनुसार नेपालको छिमेकी र विदेशीहरूसँग धेरै विषयमा निर्भर छ । त्यसैले उनीहरूले दूरी बढेको महसुस गर्दा त्यसले समग्र अवस्थामा असर पर्छ । त्यसैले कूटनीतिक मर्यादाभित्रै बसेर बेलाबखत भेट्ने र विश्वास बढाउने कुरा जायज हुने उनको धारणा छ ।

प्रधानमन्त्री शाह चैत १३ मा प्रधामन्त्री बनेपछि गत असार २२ मा तीन दिने नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक(एबीडी) का अध्यक्ष मासातो कान्डालाई मात्र भेटेका थिए ।

त्यो बाहेक अन्य भेट उनले सामूहिक रुपमा गरेका थिए ।

प्रोटोकल नमिल्नेसँग नभेट्ने उनको अडानका कारण अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण–मध्य एसियाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले शाहलाई नभेटी फर्केका थिए । उनीहरूको भेटका लागि अमेरिकी दूतावासले कोसिस गरेको थियो । तर प्रधानमन्त्रीले भेटेका थिएनन् ।

यता भारतका विदेश सचिव विक्रम मिश्री समेत नेपाल आउने चर्चा थियो । तर प्रधानमन्त्रीसँगको भेटको निश्चित नभएपछि उनको भ्रमण नै भएन ।

प्रधानमन्त्री शाहले पद बहाल गरेको दुई सातापछि विदेशी कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई सिंहदरबारमा नै बोलाएर परिचयात्मक भेट गरेका थिए ।

तर त्यतिले मात्र कूटनीतिक संवादहरू नपुगेको भन्दै एउटा कोणबाट प्रधानमन्त्री पनि संवादहरूमा जोडिनुपर्ने माग भइरहेको थियो ।

यो बीचमा प्रधानमन्त्रीको भारत भ्रमणको विषय पनि कूटनीतिक बृत्तमा चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई पद बहाल गरे लगत्तै निम्ता दिएका थिए । त्यही निम्तो पनि औपचारिक रुपमा हस्तान्तरण गर्दै भ्रमणको तयारी गर्नेगरी मिश्री आउने चर्चा थियो ।

तर प्रधानमन्त्रीलाई भेट्न नपाउने भएपपछि उनी आएनन् । त्यही कारण केही चिसोपन आएको चर्चा छ । त्यसलाई सुधार गर्नका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले असारको अन्त्यमा सुटुक्क भारत पुगेर त्यहाँका अधिकारीहरूलाई भेटेको कुरा बाहिर आएपछि प्रधानमन्त्री शाह कुनै न कुनै रुपमा छिमेकीहरूसँगको विश्वास बढाउने कोसिसमा देखिन्छन् ।

‘पहिले उहाँले भेट्दै नभेट्ने कडा अडान लिनुभयो । उनीहरूले चाहदा भेट्नुभएन । अहिले फेरि विश्वास आर्जनका लागि भेट्नुपर्ने पोजिसनमा पुग्नुभयो तर सबैको विश्वास जित्नका लागि यो ठीक छ,’ विश्लेषक भट्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?