News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङस्थित कोशी ग्यास उद्योगले ग्यासको तौलमा अनियमितता गरी उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ ।
- प्रशासनको अनुगमनमा ६४ वटा सिलिण्डरमध्ये एउटामा १३.७४५ केजी मात्र ग्यास भेटिएको र खाली सिलिण्डरको तौलसमेत बढी देखाई ठगी गरेको पुष्टि भएको छ ।
- अनुगमनका क्रममा असहयोग गर्ने विराटनगर–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई प्रशासनले ११ हजार रुपैयाँ जरिवाना गरेको छ भने कोशी ग्यासमाथि थप कारबाही प्रक्रिया अघि बढाएको छ ।
२५ साउन, विराटनगर । बजारमा ग्यासको चरम अभाव भइरहेका बेला मोरङस्थित कोशी ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले गरेको अनुगमनका क्रममा कोशी ग्यास उद्योगले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको हो ।
ठगी गरेको पाइएपछि प्रशासनले तत्कालै २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ । थप कारबाही प्रक्रिया पनि अघि बढाएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग ग्यासको तौलमा अनियमितता फेला परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए ।
साउन २३ गते प्रशासनले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिण्डरमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो । परीक्षणका क्रममा एउटा सिलिण्डरमा १३.७४५ केजी मात्र ग्यास फेला परेको थियो । जुन मापदण्डभन्दा निकै कम हो ।
उपभोक्ताको भान्सामा सिधै ठगी गरेको पाइएपछि उक्त उद्योगलाई तत्कालै २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको हो । ६३ वटा सिलिण्डरको औसत तौल पनि १४.१८५ केजी मात्र पाइएकाले उद्योगमाथि थप कानुनी कारबाही अघि बढाएको प्रशासनले जनाएको छ । भरिएको सिलिण्डरको तौल १४.२ किलोग्राम हुनुपर्छ ।
अनुगमन टोलीले उद्योगमा रहेका खाली सिलिण्डरको तौल जाँच गर्दा पनि ठगी फेला पारेको थियो । १० वटा खाली सिलिण्डर जाँच गर्दा ९ वटामा तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल भेटिएको थियो । खाली सिलिण्डरको तौल बढी देखाएर उपभोक्तालाई कम ग्यास दिने गरी उद्योगले बदमासी गरेको प्रशासनको दाबी छ ।
बजारमा ग्यास चरम अभाव भइरहेका बेला साउन २३ गते कोशी ग्यास उद्योग बन्द थियो । उद्योग बन्द गरेको विषयमा पनि प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।
प्रशासनले गरेको अनुगमनकै क्रममा विराटनगर–७ स्थित श्रीकृष्ण ट्रेडर्सले सरकारी अधिकारीहरूलाई जाँचबुझमा सहयोग नगरेपछि ११ हजार रुपैयाँ जरिवाना गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, कोशी ग्यासले उपभोक्ताको हकहित विपरीत काम गरेको भन्दै प्रचलित कानुन बमोजिम थप कडा कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया 4