News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले उपभोक्ताले आत्तिएर खरिद गर्ने प्रवृत्तिका कारण ग्यासको माग बढेको जनाउँदै अबको १५ दिनभित्र आपूर्ति सहज हुने दाबी गरेको छ ।
- निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले हाल ग्यासको माग ४७ हजार टनबाट बढेर ६० हजार टन पुगेको संसदीय समितिलाई जानकारी गराए ।
- आपूर्ति बढाउन आईओसीसँग पहल भइरहेको र दैनिक ११० देखि ११५ वटा ग्यास बुलेट लोड भइरहेकोले समस्या चाँडै हल हुने निगमको भनाइ छ ।
२० साउन, काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको माग अस्वाभाविक बढेको भन्दै अबको १० देखि १५ दिनमा सहज हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले प्राविधिक समस्या र उपभोक्ताको ‘प्यानिक बाइङ’ (आत्तिएर खरिद गर्ने प्रवृत्ति) का कारण केही असहज स्थिति सिर्जना भए पनि आगामी दुई साताभित्र ग्यास आपूर्ति पूर्णरूपमा सहज हुने दाबी गरेका हुन् ।
निगमका अनुसार सामान्य अवस्थामा करिब ४७ हजार टन ग्यासको माग हुने गरेकोमा अहिले त्यो बढेर ६० हजार टन पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग ग्यास आपूर्ति बढाउन निरन्तर पहल भइरहेको निगमले जनाएको छ ।
‘हामीले कम्तीमा दुई महिनाका लागि ४९ हजार टनको डिमान्ड (माग) पठाउँथ्यौं, तर अहिले हामीलाई ६० हजार टनको माग आएको छ,’ बरालले भने, ‘आईओसीले ४९ हजार ५ सय टनमात्र दिन सकिने बताए पनि हामीले जसरी भए पनि ५५ हजार टन उपलब्ध गराउन आग्रह गरेका छौं ।’
आईओसीले ५५ हजार टनको माग पूर्णरूपमा स्वीकार गरिनसके पनि बुलेटको लोडिङ भने बढाएको उनको दाबी छ ।
बजारमा ग्यास अभाव देखिनुमा उपभोक्ताले आत्तिएर ग्यास भण्डारण गर्नु पनि प्रमुख कारण रहेको निगमको ठहर छ । उपभोक्ता अधिकारकर्मीहरूसँगको छलफलमा पनि दसैंतिहार मध्यनजर गर्दै दुई महिनाका लागि ६० हजार टन ग्यास ल्याउन सके र घरमा भएका खाली सिलिन्डर भर्न सके बजारको दबाब घट्ने विषयमा कुराकानी भएको बरालले बताए ।
तत्कालै माग अनुसार आपूर्ति बढाउन प्राविधिक तथा ढुवानीको सीमितता रहेको पनि निगमको भनाइ छ ।
‘हामीले तत्कालै गाडी (बुलेट) को फ्लिट म्यानेजमेन्ट गर्न सक्दैनांै, हामीले भन्नेबित्तिकै आईओसीले पनि रिफाइनरीबाट प्रडक्सन बढाउन सक्दैन,’ बरालले भने, ‘हल्दियाको पाइपलाइनमा आगलागी भइसकेपछि त्यहाँको प्रडक्सन पनि प्रभावित भएको छ, यी विविध कारण आपूर्ति मिलाउन केही समस्या भएको हो ।’
यद्यपि, निगमले ग्यास आपूर्ति सहज बनाउन भरमग्दुर प्रयास गरिरहेको जनाएको छ ।
‘पहिले दैनिक ८० वटा बुलेट लोड हुने गरेकोमा अहिले हामीले व्यवस्थापन गरेर दैनिक १ सय १० देखि १ सय १५ वटासम्म बुलेट लोड भइरहेको छ,’ बरालको दाबी छ, ‘यही रूपमा आपूर्ति हुँदै गए अबको ८–१० या १५ दिनभित्र हामी ग्यासको आपूर्ति पूर्णरूपमा म्यानेज गर्न सक्छौं भन्नेमा आशावादी छौं ।’
प्रतिक्रिया 4