+
+
Shares

जनश्रमदानबाट मर्मत हुँदै ग्रामीण सडक

रामहरि ओझा रामहरि ओझा
२०८३ साउन २६ गते १०:२७

२६ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका-६ का रामबहादुर बोहरा सोमबार हातमा फाउरो बोकेर स्थानीय ग्रामीण सडकमा निस्किए । उनीसँगै निस्कियो स्थानीयवासीहरुको एक समूह ।  महिला-पुरुषको सहभागिता रहेको उक्त समूह वर्षाका कारण अवरुद्ध भएको सानीगाड-सेरा सडक मर्मत गर्न निस्केको थियो ।

घरघरबाटै गैटी, बेल्चा, घन, साबेल बोकेर निस्केको सो समूहले सडकको पहिरो पन्छायो । सडक खुलेसँगै सबैले ताली बजाएर खुशी मनाए ।

वर्षाका कारण अवरुद्ध भएका वडाभित्रका सबै सडकहरु स्थानीयवासीहरुले श्रमदानमै सञ्चालन गरेको रामबहादुर बताउँछन् । ‘वर्षाका कारण सडक अवरुद्ध भएपछि ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न वडा कार्यालयसम्म जान पनि समस्या हुन थाल्यो’, रामबहादुर भन्छन्, ‘त्यसैले हामी वडावासीहरुले श्रमदानबाटै सडक मर्मत गर्‍यौं ।’

वडाका बिभिन्न बस्तीहरु वडा कार्यालयभन्दा धेरै टाढा रहेकाले त्यहाँका जेष्ठ नागरिकहरु र बिरामीहरुलाई हिडेर आउन समस्या हुने हुँदा श्रमदानबाटै सडक खोल्नु परेको उनी बताउँछन् ।

वडाभित्रका अवरुद्ध सवै शाखा सडकहरु जनश्रमदानबाटै मर्मत गरी सञ्चालनमा ल्याइएको स्थानीय डम्मरा साउँद बताउँछिन् । उनका अनुसार सानिगाडदेखि सेरा सडक, निरौली-बसौटी सडक, खसरे-अनरकट्टे सडक, मड्यौल-दह सडक, डाडागाउँ-सडक जनश्रमदानबाटै मर्मत गरिएको हो । ‘वडा कार्यालयले संयोजन गरेर सडक मर्मतका कार्यहरु भएका हुन्’, डम्मरा भन्छिन् ‘अहिले यि सडकहरुमा मोटरसाइकलसम्म चल्न सक्ने भएका छन् ।’ उनी जारिमघाट खोलामा पुल नहुँदा जीपहरु खोला तराउन नसकिने वताउँछिन् ।

मोटरसाइकलबाटै भएपनि ज्येष्ठ नागरिक र बिरामी लैजान सहज हुने उनी बताउँछिन् । उनी थप्छिन्, ‘अहिले पनि jर्षा भइरहेको छ, कुनै सडक अवरुद्ध भयो भने हामीहरु फेरी श्रमदानबाटै खुलाउँछौं ।’

श्रमदान गर्नु प्रत्येक नागरिकको कर्तव्य पनि भएको स्थानीयवासीहरु बताउँछन् । रामबहादुर भन्छन्, ‘सडक अवरुद्ध भयो, दुःख हामीलाई भइरहेको हुन्छ, कसलाई कुरेर बस्नु, कसलाई गाली गरेर बस्नु, !’ आफूहरुलाईनै सहज हुने भएका कारण श्रमदान गर्न सबै सहभागी भएको उनी बताउँछन् ।

उनका अनुसार वडा कार्यालयले सञ्चालन गरेको ‘आफ्नो ठाउँ, आफै बनाउँ’ अभियान अन्तरगत जनश्रमदान भइरहेको उनी बताउँछन् । उनी सबैले आफ्नो गाउँठाउँको विकासका लागि श्रमदान गर्नु पर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीहरू यति परनिर्भर भएका छौं कि हरेक कुरा अरुले मात्रै गरिदेवस् भन्ने आश राख्छौं ।’

रामबहादुरका अनुसार सबैभन्दा ठूलो समस्या जारिमघाट खोलामा भइरहेको छ । ‘अरु सडक त हामीले श्रमदानबाटै मर्मत गर्दैछौं, तर जारिमघाट खोलामा पुल छैन् । खोलामा पानीको सतह बढेको छ, तर्न सकिंदैन’, उनले भने ।

खुटिया–दिपायल सडक अन्तरगतको उक्त पुल हालसम्म पनि निर्माण नभएको उनी बताउँछन् । जारिमघाट पुल नबनेकै कारण मुख्य बजारसँग वडाबासीहरुको सम्वन्ध टुटेको बताउँछन् ।

जनश्रमदानले सडक मर्मत सम्भार तथा ढल निकास भई सवै  सडकहरुमा मोटरसाइकल गुड्न सक्ने भएका वडाध्यक्ष गणेश बोहरा बताउँछन् ।

वडा कार्यालयको आव्हानमा वडावासीहरुले देखाएको सक्रियको उच्च प्रसंसा गर्दै अध्यक्ष बोहरा भन्छन्, ‘फेरि पनि वर्षा भइरहेकै छ, कतै सडक अवरुद्ध भए वडाबासीहरुले आफ्नो महत्वपूर्ण श्रम दिनु हुनेछ भन्ने विश्वास छ ।’

आफ्नो गाउँमा कतै कुनै सडक अवरुद्ध भए वडा कार्यालयलाई तत्काल खबर गरिदिन हुन वडाध्यक्ष बोहराको आग्रह छ । उनी वडा कार्यालयको तर्फबाट प्राविधिक सहयोग र जनप्रतिनिधि तथा वडा कर्मचारी उपस्थित भै सकेजति सहयोग गर्ने उनी बताउँछन् ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?