News Summary
Generated by OK AI. Editorially reviewed.- धरान उपमहानगरपालिकाका जनप्रतिनिधिबीच बजेट विनियोजनमा विवाद हुँदा साउनको तेस्रो साता बितिसक्दा पनि वार्षिक बजेट आउन सकेको छैन ।
- कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूले बजेट रकम आफ्नो तजबिजमा खर्च गर्ने विषयमा अडान नछाड्दा नगरसभा प्रभावित भएको हो ।
- जनप्रतिनिधिले विकास योजनाभन्दा आगामी चुनावलाई लक्षित गरी बजेट विनियोजन गर्न खोजेको भन्दै स्थानीय स्तरमा व्यापक आलोचना भइरहेको छ ।
२५ साउन, सुनसरी । धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विभाजित हुँदा अझै वार्षिक बजेट आउन सकेको छैन ।
कार्यवहाक मेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरू आन्तरिक विवादमा फसेपछि बजेट ल्याउन नसकेको विषयान्तर पत्रकार सम्मेलन र समाजिक सञ्जालबाट एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
स्वतन्त्रबाट निर्वाचित भएर हर्कराज राई साम्पाङ मेयर भएपछि दलीय जनप्रनितिधिसँग तालमेल नमिल्दा विगतका आर्थिक वर्षमा यस्तै किचलो भएको थियो ।
साम्पाङले अहिले संघीय सांसद भइसकेका छन् । कार्यपालिकामा दलीय जनप्रतिनिधिमात्र छन् ।
तैपनि बजेटको किचलो समाधान हुन सकेको छैन ।
बजेट ल्याउनुपर्ने तोकिएको समय असार १० गते हो । तर साउनको तेश्रो साता सकिन लाग्दा पनि बजेट ल्याउन नसकेको भनेर चौतर्फी आलोचना भइरहेको छ ।
चुनावी बजेटले किचलो
गत शुक्रबार धरान उपमहानगरपालिकाले बजेट नीति तथा कार्यक्रमका लागि कार्यपालिका बैठक र नगरसभा गर्ने तयारीका लागि सहमति जुटाउन बिहीबार आर्थिक विकास समितिसँग बैठक बसेको थियो ।
बैठकमा कावा मेयर बेघासँग कांग्रेसका धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र एमाले धरान–१५ का वडाअध्क्ष नरेश इङ्वारम बीच किचलो भएपछि सहमति जुट्न सकेन ।
सहमति जुट्न नसकेपछि कावा मेयर एकातिर, वडाध्यक्षहरु अर्कोतिर बेग्ला बेग्लै पत्रकार सम्मेलन गर्ने र प्रेस विज्ञप्ति जारी गरेर आफ्ना कुरा भने ।
कार्यपालिका बैठक र नगरसभा हुने आशामा आएका वडाका सदस्यहरू पनि निराश भएर फर्किए ।
खासमा आर्थिक विकास समितिको बजेटमा सहमति जुट्न नसकेपछि कावा मेयर बेघाले नै वडा नं १५ र १८ का अध्यक्षलाई मध्यस्थता गरेर बजेट किचलो समाधान गर्न आग्रह गरेपछि दुवैजना वडाध्यक्षहरु छलफल गर्न बसेका थिए ।
मेयरसँग बसेको प्रारम्भिक छलफल नै असफल भएपछि बेघाले पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ति जारी गरे । छलफलमा बोलाएका वडा १८ का अध्यक्ष राई र वडा १५ का अध्यक्ष इवारमले आफूलाई अमर्यादित र अश्लिल शब्द प्रयोग गरेर गालीगलौजमा उत्रिए भन्ने उनको दाबी छ ।
उनले विज्ञप्तिमार्फत भने, ‘दुवै अध्यक्षबाट मर्यादा विपरीत व्यवहार गरिएपछि बैठकको वातावरण असहज बन्न पुगेकोमा गम्भीर दुःख व्यक्त गर्दै खेद प्रकट गर्दछु । आर्थिक समितिको बैठकमा संकटग्रस्त सहकारीलाई व्यवस्थापन गर्न ५ करोड छुट्याइएको थियो, पहिलादेखि नै त्यो हटाउनुपर्यो भनिरहेका थिए, अहिले चै घटाउनुपर्छ भन्दा मैले मानिन । भद्र सहमति भएकोले वडा न १८ र १५ का अध्यक्षलाई त्यो बैठकमा बोलाएको थिएँ । तर टेबल ठोकेर तथानाम गालीगलौज गर्नुभयो ।’
उनले बजेट निर्माण प्रक्रिया समयमै सम्पन्न गर्ने उद्देश्य राखिएको भएपनि केही वडाअध्यक्षहरूबाट पटक पटक भएका सहमतिहरू कार्यान्वयन नगर्ने, समयमा नै बजेट प्रस्तुत हुन नदिने, अवरोध गर्ने, नगरबासीको हितसँग सम्बन्धित योजना, कार्यक्रमहरू कटौती गर्न निरन्तर दबाब दिइरहेको दाबी गरे ।
कावा मेयरको जवाफ दिँदै वडाध्यक्षहरूले साउन २३ गते पत्रकार सम्मेलन गर्दै कार्यवाहक मेयरले नै मध्यस्थता गर्न बोलाएर आफूहरु बैठकमा पुगेको बेला शुरुमा टेवल ठोकेर उफ्रिएको दाबी गरे ।

धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले भने ‘आर्थिक समितिका संयोजक र सदस्यहरुसँग सरसल्लाह गरेर दुवै पक्षलाई मिलाउने गरि प्रस्ताव गरेलगत्तै कार्यवाहक मेयर बेघा ‘त्यो हुँदैन’ भन्दै एक्कासी टेबल ठोकेर उफ्रिएपछि असहज अवस्था सिर्जना भयो र बैठक बस्ने वातावरण भाँडियो ।’
उनले कावा मेयर बेघाले बजेट निर्माण प्रक्रियामा सहिरुपमा समन्वय र नेतृत्व गर्न नसकेकाले धरान बजेटबिहीन अवस्थामा पुगेको आरोप लगाए ।
यो आर्थिक वर्ष जनप्रतिनिधिहरूको अन्तिम कार्यकाल भएकाले चुनावी बजेट हो ।
नेकपाको टिकटबाट निर्वाचित काबा मेयर बेघा र एमाले, कांग्रेसको टिकटबाट निर्वाचित वडाध्यक्षहरू आफ्नो पकेट क्षेत्र र योजनामा रकम छुट्याउने विषयमा सहमत हुन नसक्दा चुनावी बजेटको किचलोले धरान हैरान भएको हो ।
कार्यवाहक मेयर बेघाले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि भनेर आफैंले तोकादेशमा चलाउन सक्ने गरी ५ करोड रुपैयाँ बजेट विनियोजन गर्नैपर्ने अडान नछाड्ने र वडाध्यक्षहरूले त्यो बजेट घटाएर आफ्ना वडाका लागि विनियोजन गर्नैपर्ने अडान लिएपछि बजेटको किचलो साम्य नभएको हो ।
वडाध्यक्षहरूकाअनुसार आगामी चुनावमा सहकारी पीडितहरूको भोट तान्न कावा मेयरले आर्थिक विकास समिति मातहतबाट ब्रेकडाउन हुनुपर्ने बजेटलाई आफ्नै तजबिजमा रहने गरि विनियोजन गर्न दबाब दिएको आरोप लगाएका छन् ।
सहकारी व्यवस्थापनको ५ करोड बजेट बाहेक कावा मेयरले नगर गौरवमा ११ करोड रुपैयाँ, नगर प्रमुख भिजनमा ३ करोड रुपैयाँ, सडक मर्मतसम्भारमा ४ करोड रुपैयाँ, विपद व्यवस्थापनमा २ करोड रुपैयाँ आर्थिक विकास समितिमा ५ करोड रुपैयाँ विनियोजनकालागि दबाब दिएको धरान–१८ का वडाध्यक्ष प्रविण राईले बताए ।
धरान–१५ का वडाध्यक्ष नरेश इवारमले मेयर कोषमा १ करोड ५० लाख रुपैयाँ मात्र विनियोजन गर्न सुझाव दिँदा नमानेपछि किचलो भएको बताए ।
उनले कार्यवाहक मेयर बेघाले अभिभावकीय भुमिका निर्वाह गर्न नसकेको र आफूहरूलाई बोलाएर सहमति जुटाउन खोज्दा उल्टै मिडियाबाजी गरेर आरोप लगाएको बताए ।
उनले भने, ‘हामीले अश्लील बोलेको प्रमाण छ ? अमर्यादित भएको प्रमाण छ ? बैठकमा विवाद, मतभेद हुन्छ, त्यसलाई त अभिभावक भएपछि समाधान प्रयास गर्ने हो, एकैचोटी विज्ञप्ति निकालेर आरोप लगाउने ?
उनले विषगयत समितिहरूलाई आफैंले बजेट ब्रेकडाउन गर्ने अधिकार भएको तर कार्यवाहकले आर्थिक विकास समितिको बजेटमा हस्तक्षेप गरेर एकोहोरो अडान राखेपछि यो अवस्था आएको बताए ।
बजेटको किचलोलाई नजिकबाट नियालिरहेका सहप्राध्यापक डा राजेन्द्र शर्मा भने जनप्रतिनिधिहरूका लागि यो अन्तिम बजेट भएकाले चुनाव लक्षित बजेट बनाउने विषयले किचलो बढेको बताए ।
उनले भने, ‘मैले बुझे अनुसार कावा मेयरको सवालमा उनले विभिन्न शीर्षकमा ठूलो रकम राखेपनि त्यो रकम आफ्नै स्वेच्छाले चलाउन पाइयोस् भन्ने देखियो । उता वडाध्यक्षहरूलाई कावा मेयरको यो रणनीति खरो परेको छ ।’
उनका अनुसार कावा मेयर र वडाध्यक्षहरूले धरानको दीर्घकालिन विकास र हितमा बजेट नबनाएर आगामी चुनावमा भोट फकाउने बजेट बनाउन खोज्दा किचलो उत्पन्न भएको हो ।
धरानका यी जनप्रतिनिधिहरुले धरानको विकास गर्ने, धरानको नाक राख्ने, नगरका सेवाग्राहीका आवश्यकता पुरा गर्ने, गौरवका आयोजना पुरा गर्ने जस्ता विषयमा किचलो (बहस र विवाद) नगरेर आफ्नै स्वेच्छाले चलाउन सक्ने बजेट कसरी विनियोजना गर्न सकिन्छ भन्ने बारेमा मात्र किचलो भएको छ ।’
प्रतिक्रिया 4