+
+
Shares

ईभीमा लगानी सुरक्षाका लागि १० वर्षसम्म स्थिर नीति बनाउन व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारीसाधनको लगानी सुरक्षाका लागि सरकारसँग कम्तीमा १० वर्षसम्म स्थिर नीतिगत वातावरण बनाउन माग गर्नुभयो ।
  • सिटौलाले सार्वजनिक यातायातको भाडादर राजनीतिक आधारमा नभई वास्तविक लागत र उचित प्रतिफलका आधारमा वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्ने बताउनुभयो ।
  • देशभरका प्रत्येक पेट्रोल पम्पमा अनिवार्य चार्जिङ स्टेसन निर्माण गर्ने नीति ल्याउन र गुणस्तरहीन पार्टपुर्जाको आयात रोक्न सरकारसँग माग गरिएको छ ।

२६ साउन, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा लगानी सुरक्षाका लागि कम्तीमा १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीतिगत वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै सिटौलाले सरकार र कर्मचारी फेरिएसँगै नीति परिवर्तन हुँदा व्यवसायीहरू समस्यामा परेको बताए । ईभी क्षेत्रमा लगानी आकर्षित गर्न दीर्घकालीन र न्यायपूर्ण कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

सार्वजनिक सवारीसाधनलाई रुटको अनुमति दिनुअघि वैज्ञानिक अध्ययन र यात्रुको संख्याबारे सर्वेक्षण गर्नुपर्ने उनले बताए । सार्वजनिक यातायातको भाडादर पनि राजनीतिक आधारमा नभई वास्तविक लागत र उचित प्रतिफलका आधारमा वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

भाडादर निर्धारणमा संघ र प्रदेश सरकारबीच समन्वय नहुँदा निजी क्षेत्र समस्यामा परेको उल्लेख गर्दै सिटौलाले सार्वजनिक यातायातका लागि ‘एकद्वार प्रणाली’मार्फत स्पष्ट नीति ल्याउन सरकारसँग आग्रह गरे ।

ईभीको प्रयोगलाई प्रोत्साहन गर्न देशभरका प्रत्येक पेट्रोल पम्पमा अनिवार्य रूपमा चार्जिङ स्टेसन निर्माण गर्ने नीति ल्याउनुपर्ने उनले बताए । चार्जिङ पूर्वाधार विस्तारका लागि सरकारले ठूलो मात्रामा अनुदान तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनको माग छ ।

‘हामी सरकारसँग विद्युतीय सवारीका लागि स्पष्ट, स्थिर र न्यायपूर्ण नीति मागिरहेका छौँ । ईभीमा लगानी गर्ने व्यवसायीका लागि कम्तीमा ५ देखि १० वर्षको स्थिर नीतिगत वातावरण र लगानी सुरक्षा हुनुपर्छ,’ उनले भने ।

ईभी सञ्चालनका लागि रुट, यात्रुको संख्या र आवश्यक सवारीसाधनको वैज्ञानिक अध्ययन गरी अनुमति दिनुपर्ने तथा भाडादर वास्तविक लागत र उचित प्रतिफलका आधारमा निर्धारण गर्नुपर्ने उनले बताए । संघ र प्रदेश सरकारबीच समन्वय गरी सार्वजनिक यातायातमा ‘वान डोर’ नीति आवश्यक रहेको उनको भनाइ छ ।

ईभीका पार्टपुर्जा र ब्याट्रीको उच्च मूल्य तथा सहज उपलब्धताको समस्या समाधान गर्नुपर्नेमा पनि सिटौलाले जोड दिए । खुला सीमाका कारण नेपालमा नक्कली तथा गुणस्तरहीन पार्टपुर्जा भित्रिरहेको र यसले दुर्घटनाको जोखिम बढाएको भन्दै त्यस्ता सामग्रीको आयातमा कडाइ गर्न उनले सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?