३० साउन, गुल्मी । वन्यजन्तुबाट पशुधनमा क्षति बेहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन् ।
जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्तिबापत नौ लाख ६४ हजार ९०० रुपैयाँ उपलब्ध गराइएको छ ।
कार्यालयले सङ्कलित क्षतिको निवेदनअनुसार हालसम्म ७३ जना पशुधनमा क्षति पुगेका र एक जना मानवीय घाइते भएकासहित ७४ जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए ।
उनका अनुसार विसं २०८० साउनदेखिविसं २०८२ कात्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण सङ्कलन गरिएको हो ।
उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ९६ बाख्रा, १५ पाडा र एउटा कुखुरामा क्षति पुगेको उहाँले बताए ।
वन्यजन्तुले बालीनाली तथा पशुधनमा क्षति पुर्याए पनि लामो समयसम्म राहत नपाउँदा किसानले राहतका लागि पटकपटक डिभिजन वन कार्यालयमा ध्यानाकर्षण गराउँदै आएका थिए ।
वन्यजन्तुबाट क्षति भएपछि राहतका लागि निवेदन दिएको लामो समयपछि आफूले राहत रकम पाएको मदाने गाउँपालिका–४ का किसान लालबहादुर घर्तीले बताए ।
पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेललगायत वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पुर्याउने क्रम बढ्दै गएको सूचना अधिकारी सापकोटाले बताए ।
प्रतिक्रिया 4