३० साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम फेरेर ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको छ ।
शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेस हुँदैगर्दा भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको हो ।
संस्थापन इतर समूहले सुकेधाराको मिराकल पार्टी भेन्युमा भेलाका लागि राखिएको ब्यानर परिवर्तन गरेको छ । परिवर्तित ब्यानरमा ‘राष्ट्रिय सम्मेलन’ लेखिएको छ ।
देउवा समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रया दिए । पार्टीको विधानले अधिवेशन, महाधिवेशन र सम्मेलन मात्रै चिन्ने र जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको उनले बताए ।
‘अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त नगरेको बेला हामीले राष्ट्रिय भेला भनेर बोलाएको विधानभन्दा बाहिरको कुरा थियो,’ उनले भने, ‘अदालतबाट निस्सा प्राप्त भएपछि हाम्रो वैधानिकताको दाबी निरन्तर रह्यो । यसकारण अब विधान बमोजिमकै छलफल गरौं भनेर सम्मेलन भनेका हौं ।’
प्रतिक्रिया 4