News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको जिरीलाई स्विट्जरल्याण्ड सरकारको सहयोगमा सुरु गरिएको एकीकृत ग्रामीण विकास परियोजनाले नेपालको विकासको नमुना र प्रयोगशालाका रूपमा स्थापित गरेको छ ।
- सन् १९५७ मा सुरु भएको जिरी बहुउद्देश्यीय परियोजनामार्फत कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको विकास गरी जिरीलाई नेपालको स्विट्जरल्याण्डको पहिचान दिलाइएको थियो ।
- ऐतिहासिक जिरी चिज कारखाना र प्राविधिक शिक्षालयको गौरवमय इतिहास बोकेको जिरी पुनर्जागरण र दिगो पर्यटन विकासको नयाँ सम्भावनाको पर्खाइमा छ ।
दोलखाको जिरी नेपालको ग्रामीण विकासको इतिहासका लागि नमुना हो । वि.स. २०१० (सन् १९५३) तिर स्विट्जरल्याण्डका प्रसिद्ध भूगर्भविद्, डा. टोनी हागेन नेपालको भौगर्भिक सर्वेक्षणका क्रममा पैदल यात्रा गर्दै जिरी आइपुगेका थिए । सगरमाथा क्षेत्रतर्फ जाँदा जिरीको उपत्यकामा पाइला टेक्नासाथ टोनी हागेन दंग परेका थिए । जिरी देखेपछि उनलाई आफ्नो देशको न्यास्रो मेटियो ।
टोनी हागेनले जिरीको सुन्दरताको प्रशंसा मात्र गरेनन्, उनले स्विस सरकार र स्विस सहायता नियोगलाई जिरीको एकीकृत विकासका लागि सिफारिस गरे । उनको यही पहलका कारण सन् १९५० को दशकको मध्यतिर स्विस प्राविधिक, डाक्टर, कृषि विशेषज्ञ र इन्जिनियरहरूको टोली खच्चड र भारी बोकेर जिरीका पहाडहरू चढ्दै यहाँ आइपुगेका थिए ।
भारी बोकेर जिरीसम्म आइपुगेका स्विसहरूले जिरीलाई सडक, विद्यालय, अस्पताल, शिक्षा मात्र नभई नयाँ पहिचान दिलाए । स्विसहरूको जिरीसँगको प्रेमले गर्दा नै जिरीलाई आजसम्म पनि ‘नेपालको स्विट्जरल्याण्ड’ भनेर चिनिन्छ ।
सन् १९५० को दशकमा नेपाल विश्वका लागि खुला हुन थालेपछि विभिन्न देशहरूले विकास साझेदारी सुरु गरे । तीमध्ये स्विट्जरल्याण्डले नेपालको पहाडी क्षेत्रमा दीर्घकालीन विकास गर्ने निर्णय गर्यो । स्विस विज्ञहरूले दोलखाको जिरीलाई छाने ।
हरिया डाँडा, चिसो मौसम, घाँसे मैदान, दुग्ध उत्पादनको सम्भावना र हिमाली भूगोल जस्ता कारणले जिरीलाई विकास प्रयोगशालाको रूपमा छनोट गर्यो स्विस सरकारले ।
स्विस सरकारको विकास नियोगले सन् १९५७ देखि जिरी क्षेत्रमा विभिन्न परियोजनाहरू सुरु गर्यो । स्विस सरकारले आफ्नो विकास मोडलका लागि जिरी छनौट गर्ने समयसम्म जिरीसम्म पुग्ने सडक नै थिएन । सामग्री, औजार र उपकरणहरू मानिस र खच्चडको भरमा पहाड उक्लाएर पुर्याइन्थ्यो । यही कारण स्विसहरूले एकीकृत पहाडी विकास परियोजना अर्न्तगत लामोसाँघु–जिरी सडक बनाए । पहाडी भूगोलको वातावरणीय संवेदनशीलतालाई ध्यानमा राखेर बनाइएको यो सडकलाई ‘ग्रीन रोड’ को नमुना मानिन्छ ।
जिरीको विकास लागि स्विस सरकारको सहयोगमा जिरी बहुउद्देश्यीय ग्रामीण विकास परियोजना सन् १९५७ बाट सुरु भई करिब तीन दशकभन्दा बढी समयसम्म विभिन्न चरणमा सञ्चालन भयो । यो योजनाको उद्देश्य एउटा गाउँको भौतिक मात्र नभई समग्र विकास गर्नु थियो । यो परियोजना अन्तर्गत सडक निर्माण, खानेपानी, कृषि सुधार, पशुपालन, स्वास्थ्य सेवा, शिक्षा, प्राविधिक तालिम र स्थानीय संस्थाको विकास जस्ता कामहरू एकैसाथ अघि बढाइयो ।
जिरीमा स्विस सहयोगको सबैभन्दा सफल प्रतीक जिरी चिज कारखाना हो । स्विस प्राविधिक वर्नर शेल्थेसको योगदानमा सन् १९५७–५८ तिर स्थापना गरिएको जिरी चिज कारखानाले नेपालको दुग्ध उद्योगमै नयाँ अध्याय सुरु गर्यो भन्न सकिन्छ । स्विट्जरल्याण्डको परम्परागत प्रविधि प्रयोग गरी चौंरी र गाईको दूधबाट चिज बनाउन थालियो ।
स्विस प्रविधिबाट चिज उत्पादन सुरु भएपछि जिरी क्षेत्रका हजारौं किसानले दूध बिक्री गर्ने बजार पाए । उन्नत गाईपालन विस्तार भयो । नगदे आम्दानी बढ्यो । ग्रामीण अर्थतन्त्र बलियो बन्यो । आज पनि ‘जिरी चिज’ नेपालकै प्रसिद्ध ब्रान्डमध्ये एक मानिन्छ ।

चिज उद्योगका लागि भनेर स्विसहरूले जिरीमा कृषि तथा पशुपालन कार्यक्रम पनि सुरु गरेका थिए । यो कार्यक्रम अर्न्तगत उनीहरूले जिरीमा उन्नत गाई भित्र्याए । गाईसँगै पशु स्वास्थ्य सेवा, घाँस खेती, आधुनिक गोठ व्यवस्थापनका सिप र प्रविधि पनि जिरीबासीलाई दिए । त्यसकारण आज नेपालमा डेरी उद्योग विस्तार हुनुमा जिरीको योगदान ऐतिहासिक मानिन्छ । स्विसहरूले नै पहिलो पटक नेपालको जिरीमा आफ्नो देशबाट उच्च नस्लका ‘ब्राउन स्विस’ गाई र ‘सानेन’ जातिका बाख्राहरू जिरी ल्याए । स्थानीय गाईहरूसँग क्रस गराएर दुग्ध उत्पादन बढाउने काम गरे ।
लामोसाँघु–जिरी सडकले जिरीलाई काठमाडौंसँग डाईरेक्ट सडक सञ्जालमा जोड्यो । सगरमाथा जाने पर्वतारोहीहरूको पैदल यात्रा अवधि छोटियो, जिरीका उत्पादनहरू काठमाडौं जस्ता ठूला बजारसम्म सहजै पुग्न थाले ।
काठमाडौंबाट बाहिर नपुगेको उच्च र प्राविधिक शिक्षालाई स्विसहरूले जिरीमा पुर्याए । २०३९ सालमा सुरु भएको जिरी प्राविधिक शिक्षालय नेपालको प्राविधिक शिक्षाको ‘मेरुदण्ड’ बन्यो । यहाँबाट हजारौँको सङ्ख्यामा ओभरसीयर, कृषि प्राविधिक र स्वास्थ्यकर्मी उत्पादन भए । यी जनशक्तिले नेपालका अति दुर्गम गाउँ–गाउँमा पुगेर पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रमा सेवा दिए ।
नेपाल र स्विट्जरल्याण्ड सरकारको सहकार्यमा स्थापना भएको जिरी अस्पताल अस्पतालले त्यस बेलाको दुर्गम पहाडी भेगमा आधुनिक स्वास्थ्य सेवा पुर्याउने पहिलो प्रयास थियो । धेरै वर्षसम्म यो अस्पताल यस क्षेत्रकै एकमात्र भरपर्दो स्वास्थ्य संस्था रह्यो ।
जुन बेला नेपालका धेरै पहाडी भेग अस्पताल र स्तरीय विद्यालयबाट पूर्णत: बञ्चित थिए, त्यसबेला जिरीका बासिन्दाले स्विसहरूको सहयोगमा यी सेवा पाउन थाले । कृषिमा ल्याइएको आधुनिकीकरणले दुग्ध उत्पादन र चीज उद्योगलाई व्यावसायिक रूप दियो, जसले स्थानीय अर्थतन्त्रलाई नयाँ आयाम दियो ।
जिरीमा भएको विकास मोडलबाट नेपालले ग्रामीण विकासको नयाँ शैली सिक्न र महसुस गर्न पायो । जिरीमा स्विस सरकारले गरेको सहभागिता मूलक विकास अभ्यासकै कारण पछिल्लो समय देशभर स्थानीय सहभागिता सहितको विकास मोडलको अवधारणा लागु भएको छ ।
जिरी नेपालको विकास सहयोगको ‘प्रयोगशाला’ बन्यो । यहाँ अपनाइएका ग्रामीण विकासका मोडेल, प्राविधिक शिक्षाका पद्धति, र सामुदायिक सहभागितामा आधारित विकासका अभ्यासहरू नेपालका अन्य दुर्गम जिल्लामा पुर्याइएका थुप्रै अन्तर्राष्ट्रिय सहयोग परियोजनाको ढाँचा बने । यसरी हेर्दा जिरी नेपाल–स्विस मैत्रीको एउटा नमूना मात्र नभई, त्यसको जीवन्त प्रतीक बन्यो ।
स्विस इन्जिनियर, कृषि विज्ञ, पशु चिकित्सक, डेरी विशेषज्ञ, वन विज्ञ र प्राविधिकहरू महिनौँसम्म जिरीमै बसेर स्थानीयसँग काम गर्थे । स्विस विज्ञहरू जिरीमा परियोजना सञ्चालन गर्ने काममा मात्र खटिएका थिएनन उनीहरू त गाउँमै बसेर स्थानीय समुदायसँगै सिक्ने र सिकाउने संस्कृतिसहित आएका थिए । यही कारण त्यस समय नेपालको ग्रामीण विकासको नमुना परियोजनाका रूपमा जिरीलाई प्रस्तुत गरिन्थ्यो ।
स्विस टोलीहरूले जिरीमा आफूलाई ‘दाता’ भन्दा ‘साझेदार’ को रूपमा प्रस्तुत गरे । त्यही कारण आज पनि जिरीबासीले स्विस नागरिकहरूलाई सम्मानपूर्वक सम्झिन्छन् । स्विको सम्मान स्वरुप नै जिरीको मुख्य बजारको नाम नै स्विस नागरिक लिङकनको सम्झनामा राखिएको छ । जिरी मात्र होईन नेपाललाई नै विश्व समुदायमा चिनाउन सहयोग पुर्याउने टोनी हेगनको सम्झनामा जिरीमा एउटा पार्क नै बनाईएको छ ।

तर, अहिले जिरी बदलिएको छ । स्विस परियोजनाहरू समाप्त भइसकेका छन् । स्विस सहयोगमा बनेका सबैजसो संरचना र भवनहरू २०७२ सालको भूकम्पमा लडे । जिरी चिज उद्योग अझै सञ्चालनमा रहे पनि विगतजस्तो प्रभावशाली अवस्था छैन । गाई फार्महरू दयनीय अवस्थामा छन् ।
तर, जिरीको प्राकृतिक सौन्दर्य भने अझै उस्तै मोहक छ । नेपाल र नेपालीका लागि जिरी आज पनि नेपालको स्विट्जरल्याण्ड हो । यस अर्थमा जिरीसँग स्विट्जरल्याण्डको सम्बन्ध आर्थिक मात्र होइन, भावनात्मक पनि हो ।
स्विसहरू जिरीलाई आफ्नो देशको आल्प्स पर्वतमाला र जुरीच गाउँ जस्तै भन्ने गर्थे । जिरी र स्विट्जरल्याण्डको नाता एउटा देशको भूगोल अर्को भूगोलसँग मिल्नु मात्र होइन । यो त दुई फरक महादेश, दुई भिन्दाभिन्दै संस्कृति र दुई देशका नागरिकहरूबीच गाँसिएको एउटा ऐतिहासिक, भावुक र जीवनदायिनी विकासको सम्बन्ध हो ।
जिरीसँग स्विट्जरल्याण्डको ऐतिहासिक, भावनात्मक र सांस्कृतिक सम्बन्ध यति गहिरो छ कि यसलाई “साझा सम्झना” भन्दा बढी केही ठोस रूपमा जीवित राख्नु दुवै देशका लागि अर्थपूर्ण हुनसक्छ । जिरीको पर्यटन पुनरुत्थान (विशेषत: क्लासिक ट्रेकिङ रुटलाई पुन: लोकप्रिय बनाउने), स्थानीय चीज–चुर्पी उद्योगको आधुनिकीकरण, वा जलवायु–अनुकूल कृषिमा नयाँ सहकार्यले यो ऐतिहासिक साझेदारीलाई नयाँ जीवन दिन सक्छ ।
यदि भविष्यमा दिगो पर्यटन, दुग्ध उद्योगको आधुनिकीकरण, जैविक कृषि, हिमाली वातावरण संरक्षण, प्राविधिक शिक्षा, युवा उद्यमशीलता जस्ता क्षेत्रमा नेपाल र स्विट्जरल्याण्डले पुन: सहकार्य गर्न सके, त्यसले जिरीलाई नयाँ जीवन दिन सक्छ ।
यद्यपि यसको अर्थ सम्पूर्ण जिम्मेवारी स्विस सरकारकै हो भन्ने होइन् । जिरीको पुनर्जागरणका लागि नेपाल सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्थानीय समुदाय रसाझा प्रयास अझ महत्वपूर्ण हुन्छ । नेपालको स्विट्जरल्याण्डको ऐतिहासिक पहिचान बनाएको जिरी हरिया पहाड र मनोरम दृश्यका लागि प्रख्यात छ । चिज उद्योगको गौरवमय इतिहास, सगरमाथा क्षेत्रतर्फ जाने ऐतिहासिक पदमार्गको प्रवेशद्वारका रुपमा जिरीको संभावना अझै पनि बलियो छ । यी संभावनालाई सहकार्य मार्फत यथार्थमा परिणत गराउन सकिन्छ । हिजो जिरीले नेपाललाई आधुनिकता र प्राविधिक शिक्षाको बाटो देखायो, आज जिरी आफैँ एकपटक पुनर्जागरणको पर्खाइमा छ ।
(व्यवसायी खड्का जिरीका स्थानीय हुन् । उनी जिरीको पर्यटन विकासमा सक्रिय छन् ।)
प्रतिक्रिया 4