News Summary
Generated by OK AI. Editorially reviewed.- राँके-रवि-भेडेटार सडक कालोपत्रेको काम ठेक्का लागेको आठ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
- भारतीय निर्माण कम्पनीले काम होल्ड गरेपछि पटक-पटक म्याद थपिए तापनि एक सय किलोमिटर लामो सडकको निर्माण कार्य अनिश्चित बनेको छ ।
- स्थानीय बासिन्दा सडकको दुरवस्थाका कारण हिउँदमा धुलो र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन् ।
३० साउन, रवि (पाँचथर) । पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ को लेखगाउँमा पानी दर्किंदै थियो । दर्के पानीपछि आएको भेल बीचै सडकबाट बगिरहेको थियो । भेलले सडकको ग्राबेल बगाएर खाल्डो बनाउँदै गरको देखिन्थो ।
सडक छेउकै पसलमा नानी बोकेर उभिएकी मनकुमारी राई भन्दै थिइन् ‘बुढेसकालमा भएपनि घर छेउबाटै पिच बाटोबाट गाडी चढ्ने आस पनि मरिसक्यो । हाम्रै पालामा यहीँबाट पिच बाटोमा हिंड्न पाइएला जस्तो छैन ।’
उनी निराश हुनुको कारण हो– ठेक्का लागेको आठ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन नसक्नु । राँके-रवि-भेडेटार सडक कालोपत्रे नुहँदा सडक क्षेत्रका बासिन्दाको यस्तै निराश कुरा गरिरहेका भेटिन्छन् । सडक कालोपत्रेको शिलान्यास भएपछि खुसी भएका यो क्षेत्रका बासिन्दा अब सडक कालोपत्र नहुने रहेछ ठानेर निराश हुन थालेका हुन् ।
‘तीन बर्षमा पिच बन्छ भन्थे । आठ वर्षमा पनि बनेन् । कहिले बन्छ भन्ने टुङ्गो पनि छैन,’ राईले भनिन्, ‘हामी बुढी मान्छेहरू पनि पिचमा हिंड्न पाउँछ भन्थ्यो । कहिले बिरामी हुन्छ । हिउँदमा धुलो, बर्खामा हिलाम्मे हुन्छ ।’

पाँचथरको दक्षिणी, इलामको उत्तरी क्षेत्र र धनकुटाका विभिन्न गाउँका बासिन्दालाई यातायात सुविधा प्रदान गर्ने राँके- रवि- भेडेटार सडकको कालोपत्रे गर्ने काम अनिश्चित बनेको छ ।
भारतीय निर्माण कम्पनीको म्याद सात पल्ट थपिँदा पनि काम सकिने तरखर छैन । एक्जिम बैंक अफ इन्डियाको ऋण लगानीमा कालोपत्रेको काम सुरु भएको आठ वर्ष पुग्दापनि राँके–रवि–भेडेटार सडक कालोपत्र गर्ने कामले पूर्णता पाएको छैन ।
भारतीय निर्माण कम्पनीले आयोजनाको काम ‘होल्ड’ गरिरहेको छ । ‘यतिधेरै गाउँहरूमा सुविधा पुग्छ । तर सारै लापरबाही भयो । सरकारले कारबाही पनी गर्दैन कि ?,’ लेखगाउँकै भोजबहादुर राईले भने, ‘हामीले चैं जहिले सडक सुविधाका लागि दु:खनै पाइरहनु पर्ने जस्तो छ ।’

पाँचथरको राँकेदेखी धनकुटासम्मको १ सय किलोमिटर सडक रहको छ । ठेक्का म्याद सात पल्ट थपिसकेको छ । कालोपत्रे सडकमा यात्रा गर्ने सो क्षेत्रको बासिन्दाको अपेक्षा ‘अन्योल’ बन्दै गएको छ ।
कात्तिक ३ गतेसम्ममा ५० किलोमिटर कालोपत्रे गर्ने सक्नेगरी ६ महिना म्याद थपिएको आयोजना कार्यालयको भनाइ छ । तर ठेकेदारको काम हेर्दा सोही मितिमा काम हुने सम्भावना देखिँदैन । ‘५० किलोमिटर काम सक्ने प्रतिबद्धता निर्माण कम्पनीको भएको छ । हालसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको छ,’ आयोजना कार्यालयका सबइन्जिनियर मुन्नाकुमार यादवले भने, ‘हालसम्म २ करोड १ लाख ६८ हजार ७ सय अमेरीकी डलर खर्च भइसकको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा पाँचथरको रवि बजारमा कालोपत्रेको शिलान्यास गरेका थिए । पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाकफोकथुम, माङ्सेबुङ र धनकुटाको चौबिसे र साँगुरीगढी विभिन्न गाउँहरू यो सडकले छुन्छ ।

सडक निर्माण भएको निक्कै लामो समयपछि कालोपत्रेको ठेक्का लागेको थिए । सडक बनेको लामो समयपछि कालोपत्रेको ठेक्का लागेपछि खुसी भएको यो क्षेत्रका बासिन्दा फेरी निराश हुन थालेका हुन् ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएको ऋण सम्झौतामा यो सडक कालोपत्रे गर्ने काम पनि परेको थियो । २ डिसेम्बर २०२१ मा काम सक्नेगरी १९ नोभेम्बर २०१८ मा भारतीय ठेकेदार कम्पनी एफको इन्फ्रा टेक प्रालीसँग ठेक्का ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकन डलरमा कालोपत्रेका लागी सम्झौता भएको थियो । ३६ महिनामा सक्ने सम्झौता भएको काम पटक पटक म्याद थपिंदा पनि सकिएको छैन ।
यो ठेक्काको डिजाइनमै पनि समस्या रहेको इन्जिनिरहरू बताउँछन । चिसो ठाउँहरू भएकाले यहाँ ‘डीभीएसटी’ पिच हुन गाह्रो रहेको उनीहरूको भनाइ छ ।



प्रतिक्रिया 4